पाहुना टोली दार्जिलिङको विजयी सुरुआत

इलाम । इलामको माङसेबुङ गाउँपालिका ५ मा १२औँ संस्करणको आत्मानन्द कप फूटबल प्रतियोगिता सुरु भएको छ । बुधबारको उद्घाटन खेलमा पाहुना टोली मानेभञ्ज्याङ स्पोटिङ क्लब दार्जिलिङ भारतले विजयी सुरुआत गरेको छ ।  माङसेबुङ खेलकुद विकास समिति इलामलाई सडन डेथमा पराजित गर्दै दार्जिलिङ अघिल्लो चरणमा प्रवेश गरेको हो । निर्धारित समयको खेल र टाइब्रेकरमा समेत दुवै टिमबाट बराबरी भएपछि सडन डेथका आधारमा विजेता निर्धारण गरिएको थियो ।  निर्धारित समयमा दुवै टिमबाट २–२ गोल भएको थियो । टाईब्रेकरमा समेत ५–५ गोलको बराबरी भएपछि विजेता निर्धारण गर्न सडन डेथसम्म पर्खनु परेको थियो ।

पहिलो हाफमा आत्मघाती गोलको उपहार पाउँदै अग्रता लिएको दार्जिलिङले दोश्रो हाफमा कमजोर प्रदर्शन गरेका कारण जिताका लागि सडेन डेथसम्म पर्खनु परेको थियो । पहिलो हाफको ३३ औँ मिनेटमा माङसेबुङका रोनिस राईले आत्माघाती गोल गरेपछि दार्जिलिङले अग्रता लिएको थियो । दोश्रो हाफमा खेलको ३७औँ मिनेटमा माङसेबुङका मन्दिप राईले गोल गरी खेल बराबरमा ल्याए । ४० औँ मिनेटमा दार्जिलिङका याङचुङ शेर्पाले गोल गरी अग्रता दिलाए । ४२ औँ मिनेटमा पुन माङसेबुङका मन्दिप राईले गोल गरी खेल बराबरीमा ल्याएका थिए । त्यसपछि निर्धारित समयमा दुवै टिमबाट गोल हुन सकेन ।

प्रतियोगिता अन्तर्गत बिहीबार भाङबारी स्पोर्टिङ क्लब झापा र इलाम नगर खेलकुद प्रतिष्ठानबीच प्रतिष्पर्धा हुनेछ ।  किराँत धर्मगुरु आत्मानन्द लिङदेनको ६६औँ जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा इलाम, झापा, सुनसरी, तेह्रथुम, र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ ।

विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँ र उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किराँत धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औँ शुभजन्मोत्सवमा १८ मंसिरमा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । आत्मा–पवित्र हक्चातयक्चुमको आयोजनामा हुने उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । धर्मगुरु लिङदेनको जन्मोत्सवमा वर्सेनी माङसेबुङमा आत्मानन्द कप खेलकुद प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया