गीतमा समर्पित दाहाल

काठमाडौं । समसामयिक घटनाका विषयमा गीत लेख्ने गीतकार रमेश दाहालका सयौ गीत बजारमा आएका छन् । यसै वर्ष दाहालका एकपछि अर्को गर्दै दर्जनौँ गीत सार्वजनिक भए । केही समयअघि उनकै शब्द तथा सञ्जीव पराजुली र टीका प्रसाईंको आवाज रहेको ‘हातमा घडी’ बोलको गीतलाई दर्शकस्रोता निकै मनपराइरहेका छन् । यो गीतमा संगीतकार राजनराज शिवाकोटीको संगीत छ । त्यस्तै संगीतकार शक्तिबल्लभको संगीत र कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा ‘रानीखोला’ बोलको गीत पनि बजारमा चर्चित छ ।

हरेक शब्दलाई त्यसको भावअनुसार संगीत भर्ने रमेशको भानु थापाको संगीतमा कर्णप्रिय गीत ‘पूर्वको बादल उड्यो’ बजारमा आएको छ । यो रमेशको पछिल्लो गहन गीति सिर्जना हो । नेपाली गीत–संगीतका अग्रज गायक दीप श्रेष्ठले रमेशको यस गीतलाई जीवन्त बनाएका छन् ।  देश द्वन्द्वको अवस्थामा हुँदा एकआपसमा फैलिएको असमझदारीलाई यो गीतमा प्रस्तुत गरिएको छ । दाहालको गीति शब्दमा बनेको आधुनिक गीत ‘पूर्वको बादल उड्यो’ संगीतकार भानु थापा तथा वरिष्ठ गायक दीप श्रेष्ठको सहकार्यले उत्कृष्ट बनेको हो ।

राम्रा गीत लेखेकै कारण रमेश थुप्रै अवार्डबाट सम्मानित भएका छन् । उनले रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा उत्कृष्ट आधुनिक गीतकारको अवार्डसमेत हात पारेका छन् । उनका गीतले सगरमाथा म्युजिक अवार्ड, औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड र जिनियस म्युजिक अवार्ड जितेका छन् । उनका गीतमा अवार्ड जित्ने गायक–गायिका र संगीतकारको संख्या पनि उल्लेख्य छ ।

दाहालका ‘बालुवाको घर’ र ‘हिउँको पूmल’ गरी दुईओटा गीतसंग्रहसमेत बजारमा आइसकेका छन् । हजारको हाराहारीमा गीत लेखेका रमेश नेपाली गीत–संगीतका अनुसन्धानकर्तासमेत हुन् । उनका दर्जनाँै खोजमुलक लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् ।

उनले लेखेको गीत ‘मिल्टेरीको जुत्ता’ टिका दाहालको संगीतमा पवन गिरीको स्वरमा बजारमा आउन लागेको छ । राहुल प्रधानको संगीत तथा नीशा कँडेलको स्वरमा ‘म के भनूँ’ गीतको भिडियो बनाउने काम अन्तिम अवस्थामा पुगेको उनले जनाए । त्यस्तै, नीरज श्रेष्ठको संगीत तथा सुमित खड्काको स्वरमा ‘नेपाल नेपाल नेपाल’ बोलको गीत नेपाली युवाहरूलाई ध्यानमा राखी रचेको दाहालले बताए । उनले भने, ‘गीत राम्रो हुन जीवन र जगत देख्नुपर्छ ।’

प्रतिक्रिया