पिङ्क बलमा बंगलादेश असफल

एजेन्सी, ढाका । उमेश यादवले पाँच विकेट लिएपछि भारतले पाहुना टोली बंगलादेशविरुद्धको डे–नाइट क्रिकेट आइतबार तेस्रो दिनमै आफ्नो पक्षमा बनाउँदै टेस्ट शृंखला क्लिन स्विप गरेको छ । कोलकातामा बंगलादेश तेस्रो दिनको पहिलो सत्रमा एक घण्टा पनि नबित्दै १ सय ९५ रनमा आउट भएपछि भारतले दोस्रो टेस्टमा एक इनिङ र ४६ रनले जित निकालेको हो । त्यससँगै भारतले शृंखला २–० ले आफ्नो बनाउन सफल भयो । बंगलादेशविरुद्धको शृंखला आफ्नो बनाएसँगै भारतले घरेलु मैदानमा लगातार १२औँ पटक शृंखला आफ्नो बनाएको छ । भारत पिङ्क बलमा गरेको डेब्युलाई यादगार बनाउन सफल भएको छ ।

पहिलो पटक पिङ्क बलमा डे–नाइट टेस्ट क्रिकेट खेलेको भारत लगातार चौथो पटक इनिङसहितको जित निकाल्न पनि सफल भयो । विराट कोहलीको कप्तानीमा रहेको भारत तीन शृंखला आफ्नो बनाउँदै विश्व टेस्ट च्याम्पियनसिपमा शीर्ष स्थानमा रहन सफल भएको छ । कोलकातामा भएको दोस्रो टेस्टमा बंगलादेशका मुस्फिकर रहिमले ७४ रन बनाउँदै आफ्नो टोलीको इनिङ सम्हाल्ने प्रयास गरे पनि सफल हुन सकेनन् ।

उमेश यादवले रहिमलाई रवीन्द्र जडेजाद्वारा क्याच गर्दै बंगलादेशविरुद्धको दबाबलाई कायमै राखेका थिए । रहिम आठौं विकेटका रूपमा पवेलियन फर्किएका थिए । त्यसअघि दोस्रो दिन नै रिटायर्ट हर्ट भएका महमुदुल्लाह ब्याटिङ गर्न नफर्किएपछि बंगलादेशको इनिङ सस्तैमा रोकिन पुग्यो । महमुदुल्लाह ३९ रनमा पवेलियन फर्किएका थिए ।

इडेन गार्डेनमा आइतबार ८.४ ओभरमै बंगलादेशलाई समेट्न सफल हुँदा भारतका यादवले तीन विकेट लिएका थिए । भारतको बलिङमा ईशान्त शर्माको प्रदर्शन उत्कृष्ट रह्यो । शर्माले दुई इनिङमा गरेर ९ विकेट लिँदा ७८ रन मात्र खर्चिएका थिए । शर्माले पहिलो इनिङमै पाँच विकेट लिएपछि पहिलो दिनमै बंगलादेश १ सय ६ रनमा अलआउट भएको थियो । शृंखला भरि १२ विकेट लिएका शर्मा प्लेयर अफ दी सिरिज घोषित भए ।

शृंखलामा यादवले १२ विकेट र मोहम्मद सामीले ९ विकेट लिएका छन् । ‘हाम्रा बलरले हरेक अवस्थामा विकेट लिइरहेका छन् । घरेलु मैदान या बाहिर जहाँ पनि उनीहरूको प्रदर्शन निकै राम्रो भइरहेको छ,’ कप्तान कोहलीले भने, ‘यी सबै सफलताका पछाडि उनीहरूको पूर्वतयारीको नतिजा हो । उनीहरू सदैव उच्च प्रदर्शन गर्न भोका छन् ।’

पिङ्क बलमा संघर्ष
कप्तान कोहलीको १ सय ३६ रनको इनिङ प्रेरणाबाट भारतले ३ सय ४७ रनमा ९ विकेट गुमाएपछि इनिङ समाप्तीको घोषणा गरेको थियो ।
त्यससँगै भारतले शनिबार बंगलादेशविरुद्ध २ सय ४१ रनको मध्यम अग्रता बनायो । यद्यपि, मध्यम लक्ष्य भए पनि पाहुना टोली बंगलादेशले निकै संघर्ष गर्नुप¥यो । दोस्रो दिनको पहिलो सत्रमै बंगलादेशले ४ विकेट गुमाउँदा १३ रन मात्र जोडेको थियो । बंगलादेशका ब्याट्सम्यान भारतीय तीव्र गति सामू लामो समय टिक्नै सकेनन् । त्यसक्रममा भारतका बलर इशान्तले सदमान इस्लामलाई खाता नखोल्दै आउट गरे ।

त्यसपछि इशान्तले बंगलादेशका कप्तान मोमिनुल हकलाई लगातार दोस्रो इनिङमा शून्यमै आउटमै पवेलियनको बाटो देखाए । बंगलादेशका भरपर्दा ब्याट्सम्यान रहिमले इनिङ सम्हाल्ने प्रयास गरे पनि भारतको तीव्र गतिमा निकै संघर्ष गरेका थिए । ‘पक्कै पनि दुई टोलीबीचको प्रदर्शनमा निकै अन्तर देखिएको छ,’ बंगलादशेका कप्तान मोमिनुलले भने,‘ तर, हामीले दुई खेलबाट धेरै कुरा सिकेका छौं । साथै पिङ्कमा बलमा खेल्न पनि हाम्रा लागि कठिन हुनेछ ।

प्रतिक्रिया