थ्री स्टार चन्द्रागिरि गोल्डकपको सेमिफाइनलमा

काठमाडौं । ललितपुर डर्बीको रुलान थ्री स्टार एनआइविएल फ्रेन्डस् क्लबको भिडन्तमा बाजी मार्दै थ्री स्टार राजधानीमा जारी तेस्रो संस्करणको चन्द्रागिरि मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  निकै नै प्रतिस्पर्धात्मक र रोमञ्चक बनेको खेलको इन्ज्युरी समयमा कप्तान रुपेश केसीले गोल गरेपछि थ्री स्टारले फ्रेन्डसलाई १–० ले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो । रुपेशले इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोल गर्दै थ्री स्टारलाई अन्तिम चारको यात्रा तय गराए । चन्द्रागिरि नगरपालिकास्थित नैकाप फुटबल मैदानमा शुक्रबार भएको खेलमा थ्री स्टारले खेलको शुरुवातदेखि नै फ्रेन्डसलाई दवावमा राखेको थियो ।

खेलको तेस्रो मिनेटमा थ्री स्टारका सुशान्त श्रेष्ठको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो । छैटौँ मिनेटमा फ्रेन्डसका ब्राजली खेलाडी वानगरलेको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो । १६औँ मिनेटमा रुपेश केसीको फ्रिकिकलाई फ्रेन्डसका गोलरक्षक देव लिम्बुले मुस्किलले बचाएका थिए । २०औँ मिनेटमा सुशानको पासमा विदेशी खेलाडी हमगातले पोस्टको दिशा दिन सकेन । लगत्तै दिपेश घलेको प्रहार गोलरक्षकले बचाइदिए ।

३३औँ मिनेटमा फ्रेन्डसका फिलिपेले पाएको मौकालाई सदुपयोग गर्न सकेन । दोस्रो हाफमा पनि थ्री स्टारले फ्रेन्डसलाई दबाबमा राखे पनि गोलको लागि इन्ज्युरी समय कुर्नुपरेको थियो । ५८औँ मिनेटमा ब्राजिली फिलिपेले सुन्दर मौका खेर फाल्दा फ्रेन्डस अग्रता लिनबाट चुक्यो । उनको प्रहार थ्री स्टारका विदेशी गोलरक्षक प्रिसोले बचाइदिए । ६०औँ मिनेटमा फिलिपेले नै अर्काे अवसर खेर फालेको थियो ।

६५औँ मिनेटमा थ्री स्टारका सुशानले अर्काे अवसर खेर फाल्यो । सुशानको बक्सभित्रको प्रहार दोस्रो बारबाट थोरै बाहिरियो । ८३औँ मिनेटमा सुशानकै प्रहारलाई फ्रेन्डसका सनिश श्रेष्ठले गोललाइनबाट बचाउदा थ्री स्टार चुकचुकाएको थियो । गोलरक्षक बिट भइकेको अवस्थामा सनिशले गोललाइबाट बल क्लियर गरिदिएका थिए । पेनाल्टी सुटआउटतर्फ धकेलिन लागेको खेलमा कप्तान रुपेश केसी नायक बने ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा करन राउतको पासमा रुपेशले डि–बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यही गोल नै थ्री स्टारको जितमा निर्णायक बन्यो । गोलकर्ता रुपेश नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई ५ हजार रुपैयाँ र म्यान अफ दि म्याचको अवार्ड महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख तथा प्रहरी निरिक्षक शंकर खड्का र आयोजक दिपशिखा क्लबका अभ्यक्ष रवि बुढाथोकीले प्रदान गरे ।

अब थ्री स्टारले सेमिफाइनलमा एपीएफ र सरस्वती युथ क्लबबीचको विजेतासँग ११ मंसिरमा खेल्नेछ । यी दुई टोलीबीच आइतबार खेल हुनेछ । प्रतियोगितामा शनिबार तेस्रो क्वाटरफाइनलमा विभागीय नेपाल पुलिस क्लब र गतवर्षको विजेता च्यासल युथ क्लबबीच हुनेछ । तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको छ ।

१४ मंसिरमा फाइनल खेल हुनेछ । विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ । सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ । पहिलो संस्करणमा हिमालय शेर्पा क्लब तथा दोस्रो संस्करणमा च्यासल युथ क्लब च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया