बंगलादेश इमर्जिङ कपको फाइनलमा

एजेन्सी, ढाका । सौम्य सरकारको उत्कृष्ट अलराउन्ड प्रर्दशनसँगै एसीसी इमर्जिङ टिम्स एसिया कपमा अफगानिस्तानलाई हराउँदै बंगलादेश फाइनलमा पुगेको छ । बिहीबार दोस्रो सेमिफाइनलमा घरेलु टोली बंगलादेशले अफगानिस्तानलाई ७ विकेटले हराउँदै फाइनलमा पाकिस्तानसँगको भेट पक्का गरेको हो । पहिलो सेमिफाइनलमा भारतलाई ३ रनले हराउँदै पाकिस्तान फाइनलमा पुगिसकेको छ । बंगलादेश र पाकिस्तानबीचको फाइनल शनिबार हुनेछ ।

अफगानिस्तानले प्रस्तुत गरेको २ सय २९ रनको लक्ष्य बंगलादेशले ३९ दशमलव ५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । बंगलादेशका ओपनर सौम्य सरकारले ५९ बलमा समान ३ चौका र छक्का सहित ६१ रनको योगदान दिए । त्यस्तै कप्तान नज्मुल सान्तोले ५९ रन जोड्दा मोहम्मद नइम १७ रनमा आउट भए । अफिफ हुसेन ३६ बलमा ३ चौका र २ छक्का सहित ४५ तथा यासिर अली चौधरी ३८ रनमा अविजित रहे । अफगानिस्तानका अब्दुल नुरीले २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २८ रन बनाएको थियो । अफगानिस्तानका अब्दुल रसुलले १ सय २८ बलमा समान ७ चौका र छक्का सहित १ सय १४ रनको शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । खराब सुरुआत गरेको अफगानिस्तानलाई सातौँ विकेटका लागि अब्दुल र तारिक स्टानिकजई ८६ रनको साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल सम्म पु¥याएका थिए । तल्लो क्रमका सईद वहीदुल्ला सफाक ३४ र तारिक स्टानिकजईले ३३ रनको योगदान दिए । बंगलादेशका सौम्य सरकारले १० ओभरमा १ मेडन सहित ५८ रन खर्चेर ३ विकेट लिए । मोहम्मद हसन ३ र तनबीर सिंहले २ विकेट लिए । समूह बी मा रहेको नेपाल भारत र बंगलादेशसँग पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो ।

प्रतिक्रिया