चल्लाले बिर्साउँदै जेलको पीडा

कालिकोट । तिलागुफा नगरपालिका–२२ भैँसीगौडाका धनराज शाहीलार्ई दुबईबाट फर्केको अहिलेजस्तो लाग्छ । लाखौँ ऋण लिएर उडेका शाहीले कमाई गर्न नसकेपछि स्वदेश फर्केलगत्तै कुखुरापालनमा जुटे । ‘ठुकुरीकोे छोरो भएर कुखुरा पाल्छस् ? जात फालिस् ।’ भन्दै उपदेश दिने समाज उनको प्रगति देखेर अहिले चुपचाप छ ।

‘पार्सपोर्ट सिरानीमुनि थन्क्याएको छु, अर्काको देश पु¥याएर दुःख दिने कुरा के काम ?’ कुखुराको फर्ममा छिरेर कुखुरा देखाउँदै उनले भने, ‘अब विदेश जानु छैन, आफ्नै देशमा दुःख गरे मनग्गे कमाइन्छ ।’ विदेशमा २० महिना काम गरेर आएका उनले कुखुरापालनबाट झन्डै मासिक डेढ लाखसम्म आम्दानी गरिरहेको सुनाए । दुबईमा २० महिना दःुख र कष्टमै बित्यो, १५ महिना जेलमै बिताएँ । बाँकी पाँच महिना मात्र काम गरेँ । १५ महिना जेलमा बिताएका पीडाहरू अहिले कुखुराको चल्लाले बिर्साएको छ ।

‘कुखुराबाट निक्लिएको मल आफ्नै खेतबारीमा प्रयोग गर्छु,’ उनले भने, मलले बारी पनि हराभरा भएको छ ।’ एक हजारभन्दा बढी चल्ला पालन गरिरहेका उनले ब्रोइलर र गिरीराज दुवै जातका कुखुरा फरक टनेल नै बनाएर पाल्ने गरेका छन् । पशु, कृषिसम्बन्धी विभिन्न तालिम लिइसकेका उनले कुखुरापालनमा अब्बल भइसकेको दाबी गरे ।

लाखौँ ऋणमा दुबई पुगेर फर्किएका उनले पासपोर्ट थन्क्याएर ब्रोइलर कुखुरापालनमा खटे । ‘विदेशमा भौतारिनुभन्दा यहीँ काम गर्ने जाँगर चल्यो,’ शाहीले भने, ‘बिदेसिएकाले कमाउनेभन्दा तेब्बर कमाएपछि किन जानु ?’ कुखुरापालनको एक वर्षे अन्तरालमा धनराजले ठूलो सफलता हात पारेका छन् ।

निरन्तर पालनमा झन्झट भए पनि उपभोक्ताले चल्लादेखि ठूलो भइसकेका कुखुरा खोरबाटै लान थालेपछि यो व्यवसाय फस्टाउँदै गएको उनको अनुभव छ । ‘पहिलोपटक कुखुरापालन आमाबाट सिके, सुरुमा झन्झट लागे पनि कमाइ राम्रै हुन थालेपछि यसमा जोड दिँदै गए,’ उनले हुर्किरहेका चल्ला देखाउँदै भने, ‘बिस्तारै यसबारे ज्ञान बढ्दै गएपछि जाँगर चल्न थाल्यो ।’ अहिले नगरपालिकाले पनि चार लाखसम्मको सहयोग गरेको छ ।

रोजगारीको सिलसिलामा विदेशमा गएर दुःखपाएर नेपाल फर्केका धनराजजस्ता अरू युवाहरूकोे प्रगति देखेपछि बिदेसिन लागेका यहाँका युवायुवती र गाउँलेसमेत हाल कुखुरापालनमा लागेका छन् । शान्नी त्रिवेणी गाउँपालिका–६ मेहलमुडिका २५ वर्षीय नारायण उपाध्याय मलेसियाबाट फर्केपछि पार्सपोर्ट च्यातेर कुखुरापालन व्यवसायमा जमे। ‘स्वदेशमै केही गर्न सक्छु भन्ने लाग्यो, कुखुरापालनमा लागे यसैको आम्दानीले जीवनस्तर पनि उठ्यो,’ उनले भने, ‘सुरुमा ढंग नपु¥याएकाले समस्या भयो, केही कुखुरा मरे, फेरि पछाडि फर्कनु परेन ।’ उनले पहिलोपटकमा कमाएको नाफा २० हजारको हौसलाले यहाँसम्म आइपुगेको बताए ।

बिदेसिनुको सट्टा कुखुरापालन गरेर राम्रै कमाइ गरिरहेका युवायुवती हिजोआज गाउँपिच्छे भेटिन्छन् । बजारमा माग बढिरहेकाले युवावर्गले ब्रोइलर कुखुरापालनलाई बलियो व्यवासाय बनाएको तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताए । ‘ठूलो आम्दानी हुने देखेपछि कुखुरापालनप्रति युवाको आकर्षण बढिरहेको देखिन्छ, अझै सक्रिय बनाउन हामीले बेरोजगारी युवाहरूलाई व्यावसायिक बनाउन कृषि उद्योगतर्फ मात्र चार करोड बजेट छुटाएका छौँ ।

धनराज जस्तै विदेशबाट फर्केर नेपालमै केही गरौँ भन्ने युवालाई अनुदान दिने गरेकौ छौँ । भर्खरै मात्र वडा–११ चिल्खाण रुडुका चौँरीपालन गरिरहेका युवाहरूलाई पनि अनुदान दिएका छौँ । प्रमुख शाहीले भने, ‘विदेशबाट फर्किएका दुर्गम गाउँका युवा आजकल झनै सक्रिय भएका छन्’, उनले भने, ‘एक गाउँको टोलमा सातदेखि आठ सयसम्म विभिन्न जातका कुखुराको चल्ला पालन गरेका छन् । चार–पाँच महिनामै बिक्री गर्न सकिने भएकाले ब्रोइलर जातको कुखुरापालनमा बढी आकर्षण देखिएको छ,’ यस्ता युवाहरुलाई स्वदेशमै आकर्षित गर्न पनि हामीले पोत्साहन गरेको छौँ ।’

प्रतिक्रिया