वेल्स युरोकपमा छनोट

एजेन्सी, लन्डन । हंगेरीलाई २–० ले हराउँदै वेल्स अर्को वर्ष हुने युरोपियन च्याम्पियनसिपमा छनोट हुन सफल भएको छ । छनोट हुनका लागि जित्नै पर्ने दबाबका बीच घरेलु मैदानमा भएको खेलमा वेल्सलाई जित दिलाउनका लागि आरोन राम्से नायक बने । युरो छनोट प्रतियोगितामा पहिलोपटक प्लेइङ सेटमा परेका राम्सेले पहिलो हाफमै वेल्सलाई अग्रता दिलाउन सफल भए । अर्को वर्ष हुने युरो कपका लागि पहिलो चरणको छनोट सकिएको छ ।

छनोट चरणका दश समूहबाट विजेता र उपविजेता छनोट भएका हुन् । युरो कपमा २४ टिमले सहभागिता जनाउँदैछन् । २० टिम छनोट हुँदा चार स्थान बाँकी छ । आरोन राम्सेको गोल प्रेरणाबाट वेल्सले हेगंरीमाथि सहज जित निकाल्दै आगामी वर्ष हुने युरोकप २०२० मा स्थान बनाएको छ ।

युभेन्टसका मिडफिल्डर राम्सेले कार्डिफ सिटी स्टेडियममा भएको खेलको दुवै हाफमा गोल गर्दा वेल्र्सले हेगंरीमाथि २–० को जित निकालेको थियो । छनोटको समूह ‘ई’ मा दोस्रो स्थानमा रहेर पनि वेल्सले बहु राष्ट्र आयोजक रहेको युरोकपमा स्थान बनाएको हो । वेल्सले तेस्रो स्थानको स्लोभाकियासँग एक अंकको मात्र अग्रता बनाएको छ ।

मंगलबार मात्र स्लोभाकियाले अजरबैजानमाथि २–० को जित निकाल्दै युरोकप छनोट सम्भावना कायमै राखेको थियो । यद्यपि, वेल्सले हंगेरीमाथि जितसँगै स्लोभाकियाको सम्भावना समाप्त भयो । वेल्सको छनोट यात्रामा राम्सेको उत्कृष्ट प्रदर्शन रह्यो । ‘मैले छनोटका क्रममा केही खेल गुमाएको थिएँ,’राम्सेले भने, ‘तर आज दुई गोलसहित अर्थपूर्ण प्रदर्शन गर्न सकेँ । त्यसैले एकदम खुसी छु । फ्रान्सको युरोकपजस्तै यसपटक पनि प्रभावकारी सहभागिता देखाउने लक्ष्य छ ।’ २८ वर्षे राम्सेले गत शनिबार अजरबैजानविरुद्धको खेलमा पनि अन्तिम ३० मिनेट मात्र खेलेका थिए ।

बुधबार घरेलु मैदानमा भने राम्सेले सुरुआतदेखि नै अवसर पाउँदा त्यसको सदुपयोग पनि गरे । उनले खेलको १५औँ मिनेटमा गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए । गेराथ बेलको उत्कृष्ट क्रसमा राम्सेले गोल गरेका थिए । त्यो गोलसँगै पहिलो हाफमा वेल्सले १–० को अग्रता लिएको थियो ।

दोस्रो हाफको दुई मिनेटपछि नै राम्सेले व्यक्तिगत दोस्रो गोल अग्रता दोब्बर बनाए । किफर मुरेको पासमा राम्सेले गोल गरेका थिए । वेल्सको जितमा गोलकिपर वायने हेनेसेको प्रदर्शन पनि उत्कृष्ट रह्यो । पहिलो हाफ सकिनु अगाडि नै वायनेले उत्कउष्ट बचाउ गरेका थिए । त्यसपछि उनले डोमोनिक सोकोज्ली र रोलान्ड सालाईको प्रहार बिफल बनाएका थिए । वेल्ससँगै २० राष्ट्रले छनो चरण पार गर्दै युरोकपमा स्थान बनाए ।
बाँकी चार टोलीले प्लेअफमार्पmत् आगामी युरोकपमा स्थान बनाउनेछन् । विश्व फुटबलको ठूला प्रतियोगितामध्य एक युरोकप आगामी जुन १२ देखि रोममा सुरु हुनेछ । बेल्जियमले छनोट चरणमा कुल १० खेलमा सतप्रतिसत नतिजा निकाल्दै युरोकपमा स्थान बनाउन सफल भयो । बेल्जियमले अन्तिम खेलमा साइप्रसमाथि ६–१ को रबाफिलो जित निकालेको थियो ।

बेल्जियमका लागि क्रिस्ट्यन बेनटेकेले दुई गोल गरेका थिए । समूह ‘आई’ बाट बेल्जियमसँगै दोस्रो स्थानको रसिया दुई अंकले पछि रहँदै युरोकपमा स्थान बनाउन सफल भयो । रसियाले बुधबार सान मारिनोलाई ५–० ले हराएको थियो । यसअघि युरोकपमा स्थान बनाइसकेको जर्मनीले नर्दन आयरल्यान्डलाई ६–१ ले र नेदरल्यान्ड्सले इस्टोनियालाई ५–० को हार चखायो ।

प्रतिक्रिया