वन अतिक्रमण नियन्त्रणमा तीव्रता

बझाङ । जिल्लाका विभिन्न ठाउँमा भइरहेको वन अतिक्रमण नियन्त्रणमा तीव्रता दिइने सदरमुकाममा आयोजित एक कार्यक्रममा जनाइएको छ । डिभिजन वन कार्यालय बझाङद्वारा आइतबार सदरमुकाम चैनपुरमा आयोजित वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन कार्यदलको एकदिने गोष्ठीमा उक्त कुरा बताइएको छ ।

वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन कार्यदलका अध्यक्ष प्रजिअ उमेश पाण्डेको संयोजकत्वमा सम्पन्न उक्त बैठकमा जिल्लाका अतिक्रमण भएका वनहरूको तथ्यांक संकलन गरी आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी प्राप्त भएको छ । उक्त गोष्ठीमा वन अतिक्रमण नियन्त्रण कार्यदलमा रहेका, मालपोत, नापीलगायत कार्यालयका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

बझाङका वन क्षेत्रको विनास तथा अतिक्रमण कम गर्न नियन्त्रणको प्रयास गरिएको बताइन्छ । वन अतिक्रमण चोरी निकासी वन डढेलो लगायतका समस्याहरू समाधान गर्ने विभिन्न उपायहरू अपनाउँदै वन अतिक्रमण रोक्ने प्रयास भइरहेको नि.डिभिजन वनअधिकृत कर्णबहादुर खातीले जानकारी दिए ।

बझाङको २९ दशमलव ४७ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको देखिन्छ । जिल्लामा सञ्चालित खानेपानी, नहर, सडक लगायतका हरेक आयोजनाहरूले समेत वन क्षेत्रको विनास गर्ने गरेको पाइन्छ । वन क्षेत्रको अतिक्रमण रोक्न जिल्ला वन समन्वय समितिले अतिक्रमण क्षेत्रमा मूल्यांकन तथा अनुगमन गर्ने योजना निर्माण भइसकेको जनाइन्छ । गत आवमा जिल्लाका विभिन्न ठाउँमा भइरहेका वन अतिक्रमण नियन्त्रण गरेको समेत डिभिजन वन कार्यालयले जनाएको छ ।

आयोजना सञ्चालन गर्ने उपभोक्ता समितिलाई वन अतिक्रमण तथा वन विनास गर्न नहुने खालका विभिन्न तालिम तथा सेमिनारहरू सञ्चालन गर्ने प्रयास भइरहेको वन समन्वय समितिले जनाएको छ । यतिखेर नाउले पातल, ढटेली खर्क, कैलाश लगायतका दर्जनौँ सामुदायिक तथा निजी वन क्षेत्रमा अतिक्रमण भइरहेको जिल्ला वन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया