दैलेखका तीन वडा बालविवाह मुक्त

दैलेख । बालविवाह कानुनी र सामाजिक रूपमा अपराधभई कानुनले प्रतिबन्धसमेत लगाएको अवस्थामा बालविवाहरहित समाजको विकास गरी सभ्य र समृद्धि समाज निर्माण दैलेखकमा स्थानीयतह सक्रिय भएसँगै दैलेख जिल्लामा तीन वटा वडा बालविवाह मुक्त भएका छन् ।

उमेर नपुगी विवाह गर्नेमा देलैख जिल्ला नेपालको दोस्रो नम्बरमा परेको एक तथ्यांकले देखाएको छ । उक्त तथ्यांकलाई कम गर्न यहाँका स्थानीयतह लागिपरेका छन् । विभिन्न संघसंस्थासँगको सहकार्यमा यहाँका स्थानीयतहले सक्रियता देखाएका हुन् । कम उमेरमा विवाह गरेकी छोरीले पाएको पीडा यहाँका बुबाआमाले देख्नुनपर्ने भएको छ । यसैले होला तीन वटै बालविवाह मुक्त वडा घोषणामा यहाँका स्थानीय निकै खुसी देखिन्थे । कार्यक्रममा सहभागी सबै स्थानीयवासीले आफ्नो छातीमा हात राखेर बालविवाहविरुद्ध प्रतिबद्धता जनाएका थिए ।

कर्णाली प्रदेश विशेषतः छाउपडी, बालविवाह जस्ता हानिकारक परम्पराको रूपमा रही महिलाको कानुनी र स्वास्थ्य अधिकारमा ठूलो असर परेको छ । २० वर्षभन्दा कम उमेरमा विवाह नभएको सूचकांकका आधारमा दुल्लु नगरपालिकाका–४, ५ र १० वडालाई बालविवाहमुक्त घोषणा गरिएको हो । बालविवाह मुक्त कार्यक्रममा स्थानीय विद्यार्थी, महिला, पुरुष, गाउँका अगुवा र जनप्रतिनिधिको उपस्थिति थियो । उनिहरूले कानुनविपरीत विवाह हुन नदिने प्रतिबद्धता गरे । उमेर पुगेर मात्र विवाह गराउनेमा सहमत भए । अधिकांशले हस्ताक्षरसमेत गरेका छन् सरकारले तयार गरेको बालविवाह मुक्त सूचकांक पूरा गरेपछि औपचारिकता दिएको वडाध्यक्षहरूले बताएका छन् ।

युवा तथा भाइ समूह, बालविवाह प्रभावित समूह र धार्मिक गुरुहरूको समूह गठन गरी परिचालन गरिएपछि तीन वटा वडा बालविवाह मुक्त गर्न सम्भव भएको वडा–४ का वडाध्यक्षले बताए । अहिले उक्त वडामा बालविवाहमा ९० प्रतिशतले कमी, स्वास्थ्यचौकी र अस्पतालमा २० वर्ष मुनिका महिलाबाट बच्चा जन्माउनेको संख्यामा उल्लेख्य रूपमा घट्दै गएको छ । धार्मिक गुरुहरूले पनि जन्मदर्ता हेरेर मात्रै विवाहमा सरिक हुने गरेपछि बालविवाह मुक्त वडा घोषण गरिएको आवाज संस्था सुर्खेतका छिटो बालविवाह मुक्त अभियानका कार्यक्रम कोडेनेटर चक्रराज गिरीले बताए ।

बालविवाह गर्न कानुनमै बन्देज गरिएको अवस्थामा स्थानीय सरकार यसको पूर्णरूपमा कार्यान्वयनमा लागेको भन्दै समाजमा रेहेका कुसंस्कारलाई अत्यका लागि दुल्लु नगरपालिका जहिले र जहाँ पनि पहल गर्ने दुल्लु नगरपालिका मेयर घनश्याम भण्डारीले भने । दैलेखमा सात वटा स्थानीय तहका ९० वटा वडा रहेकोमा दुल्लु नगरपालिकाका तीन वटा वडाले मात्र सरकारको लक्ष्यअनुसार ११ वर्ष पहिले नै बालविवाह मुक्त वडा घोषण गरेका छन् । तीन वटा वडा मात्र बालविवाह मुक्त गरेर बालविवाहमा न्यूनीकरण नहुने भन्दै दैलेखका सबै वडा बालविवाह मुक्त गर्नुपर्नेमा यहाँका स्थानीयको भनाइ रहेको छ । सन् २०३० सम्ममा बालविवाह मुक्त गर्ने लक्ष राज्यले लिए पनि दैलखका तीन वटा वडा बालविवाह मुक्त भएका छन् ।

प्रतिक्रिया