
काठमाडौँ । विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत २ आयोजक टोलीले मिश्रित नतिजा निकालेका छन् । अमेरिकाले सहज जित निकाल्दा क्यानडा भने बराबरीमा रोकिएको छ । अमेरिकामा शनिबारदेखि सुरुआत भएको समूह ‘डी’ को खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेलाई पराजित गर्दै प्रतियोतिामा सुखद् सुरुआत गरेको छ । लस एन्जलस स्टेडियममा भएको खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै आफ्नो उद्घाटन खेलमा सुखद् सुरुआत गरेको हो ।
पाराग्वेका डेमियन बोबाडिल्लाले खेलको ७ मिनेटमै आत्मघाती गोलमार्फत अमेरिकालाई पहिलो अग्रता दिलाउनु मद्दत पु¥याए । स्टन म्याकेनीले गरेको प्रहार रोक्न खोज्दा बोबाडिल्लाले प्रहार गरेको बल आफ्नो गोलपोस्टमा प्रवेश गरेपछि अमेरिकाले पहिलो अग्रता लिएको हो । जारी विश्वकपमा यो नै पहिलो आत्मघाती गोल हो । त्यसपछि खेलको ३१औँ मिनेटमा अमेरिकाका फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई दोस्रो अग्रता दिलाए ।
त्यस्तै खेलको पहिलो हाफको अतिरिक्त समयमा फोलिरिनले नै टोलीलाई तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे । खेलको ७३औँ मिनेटमा पाराग्वेका मौरिसियोले १ सान्त्वना गोल फर्काए । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा अमेरिकाका जियोभानी रेयनाले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । यसजितसँगै समूह ‘डी’ मा रहेको अमेरिकाले शीर्ष ३ अंक बटुलेको छ । समूह ‘डी’ मा अमेरिकासँगै पाराग्वे, अस्ट्रेलिया र टर्की छन् ।
यस्तै, अर्को घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरीमा सकिएको छ । टोरन्टो स्टेडियममा शनिबार बिहान भएको विश्वकपको तेस्रो तथा समूह ‘बी’को पहिलो खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ को बराबरी खेलेका हुन् । यससँगै दुवै टोलीले समान १–१ अंक बाँडेका छन् । खेलमा पहिलो अग्रता भने बोस्निया एन्ड हर्जगोभिनाले लिएको थियो । खेलको २१औँ मिनेटमा जोभो लुकिचले हेडरमार्फत गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका हुन् ।
बोस्निया एन्ड हर्जगोभिनाले खेलको पहिलो हाफमा लिएको १ गोलको अग्रता दोस्रो हाफमा पुगेपछि जोगाउन सकेन । खेलको ७८औँ मिनेटमा क्यानडाले बराबरी गोल फर्कायो । क्यानडाका काइल लारिनले १ गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन् र अन्तत खेल १–१ गोलको बराबरीमा टुंगियो । विश्वकपको उद्घाटन खेलमा आयोजक मेक्सिकोदे दक्षिण अफ्रिकालाई २–० ले हराएको थियो भने समूह ‘ए’ कै अर्को खेलमा दक्षिण कोरियाले चेकियालाई २–१ ले हरायो ।
प्रतिक्रिया