
काठमाडौँ । घानाको सरकारले आफ्ना राष्ट्रिय फुटबल टोलीका अनुभवी मिडफिल्डर थॉमस पार्टेलाई क्यानडामा प्रवेश गर्न नदिने निर्णयको पुनरवलोकन गर्न आग्रह गरेको छ । सरकारले उक्त निर्णयलाई ‘कडा, पक्षपातपूर्ण र अत्यन्तै अन्यायपूर्ण’ भन्दै क्यानडाका अधिकारीहरूसँग कूटनीतिक पहल अघि बढाएको जनाएको छ । पूर्वआर्सनल खेलाडी पार्टेको भिसा आवेदन अस्वीकृत भएपछि उनले बुधबार टोरन्टोमा पानामाविरुद्ध हुने घानाको विश्वकपको पहिलो खेल गुमाउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा उल्लेख छ ।
३२ वर्षीय पार्टेमाथि सन् २०२० देखि २०२२ बीच ४ फरक महिलाले लगाएका आरोपका आधारमा ७ वटा बलात्कार तथा एउटा यौन दुव्र्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको छ । उनले सबै आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको दाबी गरेका छन् । उनको मुद्दाको सुनुवाइ आगामी वर्ष हुने तय गरिएको छ । घाना सरकारद्वारा जारी वक्तव्यमा क्यानडाको निर्णय कुनै पनि दोषसिद्धि नभएको अवस्थामा केवल बेलायतमा विचाराधीन कानुनी प्रक्रियाका आधारमा गरिएको उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ, ‘निर्दोषताको अनुमान न्याय प्रणालीको आधारभूत सिद्धान्त हो । कुनै व्यक्ति अदालतबाट दोषी प्रमाणित नभएसम्म उसलाई दोषी ठहर गर्न मिल्दैन ।’
सरकारले सबै तथ्य र कानुनी पक्षको निष्पक्ष मूल्यांकन सुनिश्चित गर्न उपलब्ध सबै कानुनी तथा कूटनीतिक विकल्प प्रयोग गर्ने जनाएको छ । क्यानडाको सरकारी वेबसाइटमा भने कुनै व्यक्तिले अपराध गरेको वा अपराधमा दोषी ठहर भएको अवस्थामा देश प्रवेशमा प्रतिबन्ध लगाउन सकिने व्यवस्था रहेको उल्लेख छ ।
यस विषयमा घाना फुटबल संघले हालसम्म औपचारिक प्रतिक्रिया जनाएको छैन । पार्टे भने हाल अमेरिकाको बोस्टनस्थित घानाको प्रशिक्षण शिविरमै रहेका छन् । अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागका एक अधिकारीका अनुसार पार्टेविरुद्धको मुद्दाबारे अमेरिकी प्रशासन जानकार भए पनि उनी कुनै अपराधमा दोषी प्रमाणित नभएकाले वैध भिसाका आधारमा अमेरिकामा प्रवेश गर्न दिइएको हो । घानाका मुख्य प्रशिक्षक कार्लोस क्वेरोजले प्रतियोगिता सुरु हुनुअघि पार्टेलाई टोलीमा समावेश गर्नुमा आफूलाई कुनै आपत्ति नरहेको बताएका थिए ।
सन् २०२० मा आर्सनलमा आबद्ध भएका पार्टे २०२४–२५ सिजन समाप्तिपछि क्लबबाट बाहिरिएर गत अगस्टमा भिल्लारियलमा आबद्ध भएका थिए । घानाले जुन २३ मा इंग्ल्यान्ड तथा जुन २७ मा क्रोएसियाविरुद्ध खेल्ने तालिका रहेको छ । यी दुवै खेल अमेरिकाको फक्सबरोस्थित बोस्टन स्टेडियममा हुनेछन्, जहाँ पार्टेले खेल्न सक्ने सम्भावना रहेको छ । यदि घाना समूह ‘एल’ मा उपविजेता बन्दै नकआउट चरणमा पुगेमा टोली पुनः क्यानडा फर्किनुपर्ने अवस्था आउन सक्छ ।
०००
प्रतिक्रिया