पोर्चुगल युरोकपमा छनोट

एजेन्सी, लन्डन । डिफेन्डिङ च्याम्पियन पोर्चुगल युरो कप २०२० मा छनोट हुन सफल भएको छ ।  छनोट चरणको अन्तिम खेलमा लग्जम्बर्गलाई हराउँदै पोर्चुगलले अर्को वर्ष हुने प्रतियोगितामा स्थान सुरक्षित गरेको हो । लग्जम्बर्गलाई २–० ले हराउँदै पोर्चुगल समूह बीबाट उपविजेताका रूपमा अघिल्लो चरणमा पुगेको हो । लग्जम्बर्गविरुद्धको खेलमा क्रिस्टियानो रोनाल्डोले ९९औँ अन्तर्राष्ट्रिय गोल पूरा गरेका छन् ।
अघिल्लो खेलमा लिथ्वानियालाई ६–० ले हराउँदा ह्याट्रिक गरेका रोनाल्डोले लग्जम्बर्गलाई एक गोल थपेर गोलको सेन्चुरीनजिक पुगेका हुन् ।
क्रिस्टियानो रोनाल्डोले ९९औँ अन्तर्राष्ट्रिय गोल पूरा गरेको दिन पोर्चुगलले आइतबार लक्जम्बरविरुद्ध २–० को जितका साथ युरोपिन च्याम्पियनसिप २०२० मा स्थान पक्का गरेको दिन फ्रान्सले पनि जितका साथ छनोट प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।

३९औँ मिनेटमा ब्रुनो फर्नान्डेजले गरेको गोलमा पोर्चृगलले अग्रता लिएको थियो । खेल सकिन ४ मिनेट बाकी हुँदा रोनाल्डोले बललाई जाली चुमाएसँगै पोर्चुगलले सहज जित पक्का गरेको थियो । पोर्चुगल ८ खेलमा ५ जित १ हार र २ बराबरीको नतिजापछि १७ अंकका साथ समूह बि को उपविजेताको रूपमा अघिल्लो चरणका लागि छनोट हुँदा युक्रेन समान खेलमा ६ जित र २ बराबरीका साथ २२ अंक जोड्दै शीर्ष स्थानमा बस्यो । १४ अंकका साथ सर्बिया तेस्रो, ४ अंकको लक्जम्बर्ग चौथो र १ अक जोडेको लाट्भिया पाँचौँ स्थानमा छ । समूह बि अन्तर्गत आइतबारै भएको खेलमा युक्रेन र सर्बियाले २–२ को बराबरी खेलेका थिए । इरानका स्ट्राइकर अली दाइको नाममा १ सय ९ अन्तर्राष्ट्रिय गोलको विश्व कीर्तिमानी रहेको छ । उनले इरानबाट १९९३ देखि २००६ को बिचमा १ सय ४९ खेलमा यो कीर्तिमान कायम गरेका थिए ।

‘सबै कीर्तिमानहरू तोडिनुपर्छ र म यो कीर्तिमान तोड्न चाहन्छु,’ रोनाल्डोले भने । पोर्चुगल जुन १२मा रोममा सुरु हुने युरो २०२० मा छनोट हुने १७औँ टोली हो । यसअघि फ्रान्स, स्पेन, इटाली, इङल्यान्ड, टर्की, फिनल्यान्ड, जर्मनी, युक्रेन, चेक रिपब्लिक, नेदरल्यान्डस्जस्ता राष्ट्र युरो कपमा छनोट भइसकेका छन् । आइतबारै भएको समूह एचको फ्रान्सले अल्बानियालाई २–० ले हराउँदै छनोट चरणको सुखद अन्त्य गरेको छ । फ्रान्सको जितमा कोरिन्टिन टोलिसो र एन्टोनी ग्रिजम्यानले समान एक गोल गरे ।

समूह एचमा १० खेलमा २६ अंकका साथ फ्रान्स शीर्ष स्थानमा बस्दा टर्की २३ अंकका साथ दोस्रो, आइसल्यान्ड १९, अल्बानिया १३, एन्डोरा ४ र माल्डोभा ३ अंकका साथ क्रमश तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । ‘म खेलाडीमा निर्भर छु,’ फ्रान्सको प्रशिक्षण सम्हालेपछिको १ सयौ खेल सुखद बनेपछि डिडियर डेरच्याम्सले भने, ‘यो गर्वको विशष हो ।’

प्रतिक्रिया