मन्त्रिपरिषद् पुनर्गठनको तयारी

काठमाडौं । सरकार गठन भएको २१ महिनापछि मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साताभित्र पुनर्गठन गर्ने तयारी गरेका हुन् ।

सरकार सञ्चालनका लागि पछिल्लो समय आक्रमक ढंग अपनाइरहेका प्रधानमन्त्रीले केही मन्त्री र केहीको कार्यविभाजनसमेत हेरफेर गर्ने तयारी गरेका हुन् । यसविषयमा उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि निरन्तर छलफल गर्दै आएका छन् । कार्यमूल्याकंनमा पछाडि परेका मन्त्रीहरू हटाउने सम्भावना धेरै रहेको छ ।

विगत लामो समयदेखि मन्त्रीहरू हटाउने हल्ला चलेपनि आइतबार अपराह्न बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्रीले यो विषयमा जानकारी गराएका थिए । सचिवालयले मन्त्रिपरिषद््का सदस्य हेरफेर गर्ने जिम्मेवारी प्रधानमन्त्रीलाई दिएको छ । यद्यपि सचिवालयका सदस्यहरूले सकेसम्म सबै पक्षलाई मिलाएर पुनर्गठन गर्न आग्रह गरेका छन् ।

सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको जानकारी गराए । ‘तपाईंहरूलाई मन्त्रिपरिषद्का सदस्यहरू चाँडै हेरफेर गर्ने तयारीमा रहेको जानकारी गराउँदछु’, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सरकारले अहिलेसम्म समृद्ध नेपालको आधार बसाउने गरी काम ग¥यो । अब आउने दिनमा केही नयाँ व्यक्तिलाई मन्त्री बनाएर तीव्ररूपमा विकासलाई अगाडि बढाउने योजनामा छु ।’ यद्यपि प्रधानमन्त्रीले कहिले गर्ने भन्ने बारेमा समय बताएका छैनन् । उनले एक दुई दिनमात्र भनेको स्रोतले भन्यो ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पनि मन्त्रिपरिषद्का सदस्य हेरफेर गर्न लागेको पुष्टि गरे । खनालका अनुसार प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्दा सबैलाई समेट्न सुझाव दिइएको जानकारी गराए । ‘प्रधानमन्त्रीले सकेसम्म छिटो पुनर्गठन गर्ने बताउनुभएको छ,’ उनले भने, ‘हामीले सबैलाई समेटेर जानुस् भनेका छौँ । यही दिन नै हुन्छ भन्न सकिँदैन ।’

केही मन्त्री मात्रै हेरफेर गर्ने कि सबै भन्ने बारेमा पनि पार्टीभित्र अनौपचारिक छलफल भएको छ । स्रोतका अनुसार सोमबार विहान शीर्ष तहका नेताबीच नयाँ मन्त्रीका विषयमा छलफल हुने भएको छ । कतिपय सदस्यले पूरै परिवर्तन गर्न सुझाव दिएका छन् भने कतिपयले केही मात्रै मन्त्री फेर्न सुझाव दिएको स्रोतले बतायो । यी सबै विषयमा सोमबार बिहानसम्म छलफलमा पुगेर टुंगो लाग्ने बताइएको छ । यद्यपि प्रधानमन्त्रीको स्वास्थ्यले साथ दिएमा सोमबार नै राजधानी बाहिर कार्यक्रममा जाने तयारी गरेका छन् । जसका कारण केही दिन लाग्न सक्ने अनुमान गरिएको छ ।

सचिवालय बैठकमा सबै नेताहरूले मन्त्रिमण्डल पुनर्गठन गर्दा भूगोल, पार्टीमा गरेको योगदान, समावेशीतालाई ख्याल राख्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । तर आइतबारको बैठकमा कसलाई हटाउन र कसलाई ल्याउने भन्ने विषयमा भने ठोस कुरा नभएको ती नेताले बताए ।

प्रवास इन्चार्जमा पाण्डे
नेकपाले प्रवास समन्वय कमिटीको नेतृत्व टुंगो लगाएको छ । सचिवालय बैठकले नेतृ विन्दा पाण्डेलाई प्रवास समन्वय कमिटीको इन्चार्ज बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘प्रवासी नेपालीहरूको सम्पर्क एकता स्थापित गर्ने र प्रवासी नेपालीहरू हकहितको रक्षामा भूमिका खेल्न समन्वय कमिटी गठन गरिएको छ,’ प्रवक्ता श्रेष्ठले बैठकपछि भने, ‘हाम्रो पार्टीको प्रवासमा कमिटी बनाउने नीति भने छैन ।’

कमिटीको सहइन्चार्जको जिम्मा लक्ष्मण पन्तलाई दिइएको छ भने अध्यक्षमा युवराज चौलागाईंलाई नियुक्त गरिएको छ । श्रीप्रसाद साहलाई कमिटीको सचिव र दिलु बिकलाई सदस्य बनाइएको छ ।

प्रतिक्रिया