उपाधिसहित नेपाली भलिबल टोली स्वदेश फिर्ता

काठमाडौं । बंगलादेशको ढाकामा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाली टिम शुक्रबार स्वदेश फर्किएको छ । प्रतियोगितामा अपराजित रहेर च्याम्पियन बन्न सफल नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानथलमा स्वागत गरेका थिए ।

खेलाडीलाई स्वागत गर्दै सदस्यसचिव सिलवालले नेपाली टिमका सबै सदस्यलाई पुरस्कार स्वरूप तीन–तीन लाख रुपैयाँ दिने घोषणा गरे । खेलाडीलाई स्वागत गर्नका लागि पूर्व खेलकुद मन्त्री दलजित श्रीपाइली, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिना, नेपाल भलिबल संघका पदाधिकारी तथा खेलप्रेमीहरू विमानस्थलमा पुगेका थिए ।

२० वर्षे भलिबल इतिहासमा नेपाली महिला टोलीले प्राप्त गरेको यो पहिलो स्वर्ण पदक हो । प्रतियोगितामा नेपाली प्रतिभा माली सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । प्रतियोगिताकै उत्कृष्ट स्पाइकरको उपाधि पनि प्रतिभाले नै जितेकी थिइन् । यस्तै सलिना श्रेष्ठ उत्कृष्ट लिब्रो घोषित भए ।

प्रतिक्रिया