रोनाल्डोसँग सुलहको प्रयासमा युभेन्ट्स

एजेन्सी , लन्डन । एसी मिलानविरुद्ध आइतबारको खेलमा क्रिस्टियानो रोनाल्डोले पूरा समय खेल्न पाएनन् । तर, परिवर्तन हुनेक्रममा उनको व्यवहार राम्रो हुन सकेन । यहाँसम्मकी उनी परिवर्तन भएपछि बेन्चमा बसेनन् । रोनान्डो ५५ औँ मिनेटमा परिवर्तन भएका थिए । परिवर्तनपछि पोर्चुगिज सुपर स्टार खुसी देखिएनन् र सिधै टनलतर्फ गए । खेल सकिनुअघि नै उनी घर तिर लागेका थिए । युभेन्ट्स भने यो परिस्थितिलाई सहज बनाउने कोशिसमा जुटेको छ । उनलाई जरिवाना गराउनेभन्दा पनि छलफल गरेर विवाद अन्त्य गर्न क्लबले पहल थाल्ने बताइएको छ ।

क्लबका निर्देशक पाभेल नेडभेड र फाबियो पाराटिकीले अनौपचारिक छलफल पनि सुरु गरिसकेका छन् । उनीहरूले रोनाल्डोलाई माफीका लागि राजी गराउने प्रयास गरेका छन् । उनको माफीले क्लबको वातावरण सहज हुने उनीहरूको अनुमान छ । आइतबार राति नै नेडभेडले रोनाल्डोका एजेन्ट जर्ज मेन्डेससँग छलफलअघि बढाएका थिए । युभेन्ट्स टोलीले पनि रोनाल्डोबाट माफी माग्ने अपेक्षा गरेको छ । रोनाल्डोका ठाउँमा पाउलो डिबाला मैदान प्रवेश गरेका थिए । खेल सकिन १३ मिनेट बाँकी रहँदा डिबालाले गरेको गोलमै युभेन्ट्सले जित निकालेको थियो ।

प्रतिक्रिया