नेपाल अपराजित रहँदै फाइनलमा

काठमाडौं । फाइनल खेल्ने प्रतिद्वन्दी माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै नेपाल प्रथम एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको लिगा अपराजित रहँदै शीर्षस्थानमा रहेर फाइनलमा प्रवेश गरेको छ । यसअघि नै फाइनलमा स्थान बनाएको नेपालले लिगको अन्तिम खेलमा माल्दिभ्समाथि ३–० को सोझो सेटमा पराजित गर्दै अपराजित रहन सफल भएको हो । जितसँगै नेपाल लिगको चार खेलबाट १२ अंक जोड्दै शीर्षस्थानमा रह्यो । पराजित माल्दिभ्सले ४ खेलबाट ८ अंक जोड्यो ।

ढाका मिरपुरस्थित सहिद शुरवार्दी इन्डोर हलमा पहिलो सेटमा माल्दिभ्सले बलियो चुनौती पेश गरे पनि नेपालको उच्च प्रदर्शनलाई रोक्न सकेन । ५–५ अंकको बराबरीबाट अघि बढेको नेपाल २५–१४ ले विजयी रहन सफल भयो । दोस्रो सेटमा नेपालले खेलको सुरुआतदेखि नै अग्रता लिँदै २५–५ को सहज जित निकाल्यो । ५–३ को अवस्थाबाट नेपालले लगातार १६ अंक जोडेको थियो । तेस्रो सेटमा पनि नेपालले अफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दिँदै २५–१३ को जित निकाल्दै आफ्नो अपराजित यात्रलाई कायमै राख्यो ।

माल्दिभ्सविरुद्ध मुख्य प्रशिक्षक जगदीश भट्टले यसअघिका तीन खेलमा उच्च प्रदर्शन गरेकी मिडल ब्लकर सुनिता खड्कालाई विश्राम दिएको थियो । उनको स्थान उषा कुमारी विष्टले मौका पाएकी थिइन् । यी दुई टोलीले बिहीबार उपाधिका लागि खेल्दैछ । फाइनल खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजेपछि हुनेछ । त्यसअघि तेस्रो स्थानको लागि घरेलु टोली बंगलादेश र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया