एपिएलको उपाधि एम्स स्टारलाई

अर्घाखाँची । अर्घाखाँची प्रिमियर लिग (एपिएल) को तेस्रो संस्करणको उपाधि एम्स स्टारले जितेको छ । फाइनल खेलमा नमस्ते अर्घाखाँचीलाई २६ रनले हराउँदै एम्स स्टारले पहिलो पटक उपाधि जितेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको एम्स स्टारले १९ र ५ बलमा सबै विकेट गुमाउँदै ११० रन बनाएको थियो । एक सय ११ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नमस्ते अर्घाखाँची १८ दशमलव ४ बलमा ८४ रनमै अलआउट हुन पुग्यो ।

जितसँगै एम्स स्टारले नगद १ लाख ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा खुम्चिएको नमस्ते अर्घाखाँचीले नगद ५५ हजारमा चित्त बुझाउनु प¥यो । यस्तै, नमस्ते अर्घाखाँचीका सौरभ खत्री प्लेयर अफ द टुर्नामेन्टको रूपमा पुरस्कृत भएका छन् । उनले प्रतियोगिता भरी १६० रन बनाए भने १२ विकेट पनि लिएका थिए ।

प्रतियोगितामा १७५ रन बनाएका एम्स स्टारका सुवास थापा वेस्ट ब्याट्सम्यान, १७ विकेट लिएका नमस्ते अर्घाखाँचीका नवजीवन क्षेत्री वेस्ट बलर र १३ छक्का प्रहार गरेका नमस्ते अर्घाखाँचीका कप्तान मनोज सापकोटा मोस्ट सिक्सेस अफ द टुर्नामेन्ट भए ।  पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सन्धिखर्कका नगरप्रमुख कमल प्रसाद भूसालले खेल स्वच्छ स्वास्थ्यको लागि अपरिहार्य भएकाले यसको विकासमा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताए । खेल क्षेत्रमा नगरपालिकाले उदारता देखाएको भन्दै उनले अनुशासित र मर्यादित भएर खेल्न तथा भविष्य बनाउन खेलाडीलाई सुझाव समेत दिए ।

कार्यक्रममा नगर उपप्रमुख ठाकुर कुमार बिकले खेल मैदान टुँडिखेलको तारबार संरक्षणका लागि ५ लाख छुट्टाइएको भन्दै केही महिनाभित्र काम हुने उनले जानकारी दिए । खेल क्षेत्रको विकासमा नगरपालिका पछि हड्दैन तर हरेक खेल क्षेत्रमा योग्य र दक्ष भएर जिल्लाकै नाम उच्च स्थानमा राख्न खेलाडीले सक्नु पर्छ भन्ने खेलाडीलाई उनको सुझाव थियो । प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, सन्धिखर्क १ का वडाध्यक्ष युवराज बन्जाडेलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया