जात्रा महोत्सवका रुपमा मनाइँदै

काभ्रे । बजारका महोत्सव नाफामुखी र अपारदर्शी हुँदै गइरहेका वेला जिल्लाको एक गाउँको जात्रालाई महोत्सवको रूपमा मनाइएको छ । गैरनाफामूलक तरिकाबाट प्रचारप्रसार गर्ने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँका जात्रालाई स्थानीय सरकारले महोत्सवको रुपमा मनाउन थालेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य एवं भिजिट नेपाल–२०२० लाई लक्षित गर्दै गाउँका जात्रालाई अब महोत्सवको रूपमा मनाइने गाउँपालिकाले जनाएको छ ।

काभ्रेको कोसीपारिस्थित भुम्लु गाउँपालिका–१ सापिङमा अवस्थित मूलखर्क भीमसेनस्थान मन्दिरमा हरेक वर्ष ठूलो एकादशीका दिनमा मेला लाग्ने गर्दछ । धार्मिक, पुरातात्विक एवं ऐतिहासिक महत्व रहेको स्थलको रूपमा परिचित सो ठाउँलाई भुम्लुवासीको जातीय विविधता, सांस्कृतिक एवं धार्मिक अनेकताको रूपमा पनि चिनिन्छ ।

काठमाडौंबाट ७० किलोमिटरको दुरीमा रहेको यस मन्दिरबाट हरियाली, सूर्र्याेदय, सूर्यास्त, गणेश हिमाल, जुगल, गौरीशंकर हिमशृंखलाका साथै काभ्रे र सिन्धुपाल्चोक जिल्लाका भूभाग पनि अवलोकन गर्न सकिन्छ । जात्रालाई प्रथम मूलखर्क भीमसेनस्थान सांस्कृतिक महोत्सव–२०७६ को नाम दिँदै दुई दिनसम्म विभिन्न सांस्कृतिक र आफ्नो उत्पादक बस्तुहरूको प्रदर्शन गर्दै महोत्सव गरिएको महोत्सवका संयोजक अनिलकुमार बुढाथोकीले जानकारी दिए ।

उक्त मन्दिरमा दर्शन गर्नाले मनले चिताएको पुग्ने जनविश्वास रहिआएको मन्दिरका पुजारी पदमबहादुर पन्त बताउँछन् । कुनै समयमा महाभारत लेकबाट आउने क्रममा केही बटुवाले सो ठाउँमा आएर बास बसेछन् । सो ढुंगामा खाना बनाउने क्रममा तीनपटकसम्म पोखिएपछि बटुवाले ढुंगालाई चक्कुले तास्दा ढुंगाबाट रगत आएछ । रगत आएपछि बटुवाले उक्त ढुंगालाई टालोले बाँधेछ ।

त्यसपछि ढुंगाले आफू भीमसेन भएको र यहाँ बसेर तिमीले खाना पकाएका हुनाले तिमीलाई पाप लाग्ने कुरा गरेछ । सो पापबाट मुक्त हुनका लागि तिमीले यहाँ पञ्चबलि दिए मात्रै पापमोचन हुने भनेपछि बटुवाले पञ्चबलि दिएछ । पञ्चबलि दिएपछि उसका सबै पाप मोचन भएको र उसले मागेको सबै कुरा पूरा भएको किम्बदन्ती रहेको पुजारी मल्लले सुनाए ।

उनले त्यसअघि भीमसेन हिँड्दै आउँदा सो ठाउँमा वास बसेको हुनाले पनि यो लोकप्रिय भीमसेनका रूपमा परिचित रहेको सुनाए । उनले दोलखा भीमसेन मन्दिरभन्दा अगाडि नै भीमसेन सो बाटो हुँदै त्यहाँ गएको लामो कथा रहेको सुनाए । आफू २००१ सालमा जन्मिएको र ०६२ देखि सो मन्दिरको पूजारीको रूपमा रहेको सुनाउँदै पन्तले किम्बदन्तीको ढुंगाको चोट देखाउँदै बोको, हाँस, कुखुरा, राँगोलाई बटुवाले बलि दिए । अहिले यही ढुंगाको मूर्तिको माथिल्लोपट्टी भीमसेनपातीको बोट छ । यो कहिल्यै सुकेको छैन । यसमा दर्शन गर्नाले शक्ति प्राप्त हुने र आफूले चिताएको हर कुरा पुग्ने बताए ।

मेला भर्न काभ्रेलगायत आसपासका जिल्लाबाट हजारौँको संख्यामा दर्शनार्थीको ठूलो भीड लाग्ने गर्दछ । दुईदिने महोत्सवका अवसरमा स्थानीयहरूले अम्बा, कोदो, फापर, बदाम, स्थानीय उत्पादित तरकारीहरू र स्थानीयले उत्पादन गरेको सामग्रीहरू प्रदर्शन गरिएको थियो । महोत्सवमा ¥याली झाँक्री, पञ्चेबाजा, लाकभाका, तामाङ भाका लगायतका वेशभूषा तथा कलाहरूको प्रदर्शन गरिएको थियो ।

संयोजक बुढाथोकीको भनाइमा मन्दिर निर्माण गर्न ३० लाख पुरातत्व विभागबाट, ३० लाख गाउँपालिकाले ५० लाख पर्यटन मन्त्रालयले प्रस्ताव तयार गरी १ करोड १० लाख बराबरको डिपिआरसमेत तयार गरेको र मन्दिरलाई पुरातत्वयुक्त कलाले निर्मित गरी संरक्षण गर्न लागिएको बताए ।

प्रदेश सांसद लक्ष्मण लम्सालले सो ठाउँ पर्यटकीयस्थलका रूपमा विकास गर्न आफूहरूले पहल गरिरहेको बताए । उनले यसलाई पैदल ट्रेकिङ रुटको रूपमा स्थापित गर्नसके स्थानीयहरूको पनि आर्थिक जीवनस्तर सुधार हुनसक्ने बताए । मन्दिर क्षेत्रमा खानेपानीको प्रमुख समस्या भएको कारण २ हजार २ सय मिटर तलबाट ३ वटा ट्यांकी निर्माणका लागि १२ लाख बजेट छुट्याइएको र केही काम सकिएको समेत बताइएको छ ।

प्रतिक्रिया