च्याउखेतीले फेरिदियो विदेश जाने मोह

काभ्रे । खानीखोला गाउँपालिका–६, साल्धाराका शमशेर रानारानामगर अहिले च्याउ खेतीमा रमाइरहेका छन् । उनी बेरोजगार भएर बस्नुभन्दा विदेश जानु वेस भन्दै यसैको तयारी गर्दै थिए ।

जव उनको भेट खानीखोला गाउँपालिका–२ फलामेटार घर भएकी मीना पाख्रिनसँग भेट भयो त्यसपछि उनको विदेश जाने मन परिवर्तन भयो । अहिले शमेशर र मीनाको संयुक्त लगानीमा च्याउ खेती सुरु भएको छ ।

पनौती नगरपालिका–८ नयाँबस्तीमा तीन रोपनी जग्गा लिजमा लिएर शमशेरसहित चार जना मिलेर च्याउ खेती गरिरहेका छन् । उनीहरूले तीन रोपनी जग्गामा ११ वटा टनेल निर्माण गरेका छन् । जसमा २ हजार ७ सय बलमा च्याउ लगाएको छ । उक्त च्याउ खेतीमा एउटा बलमा प्रतिदिन दुईदेखि तीन किलोसम्म च्याउ फल्ने गरेको शमशेरको भनाइ छ । सबै गरेर च्याउ खेतीमा लगभग नौ लाख जति खर्च भएको रानाले बताएका छन् । उनीहरूले च्याउ लगाएर अहिलेसम्म दुईचोटी बजारमा पठाइसकेको उनको भनाइ छ ।

च्याउबाट आम्दानी लिन थालेपछि आपूmले विदेश जाने सोच त्यागेको शमशेर बताउँछन् । उनले पहिलोपटक यसरी च्याउ खेती गरेको भएता पनि च्याउ टुसाउन थालेपछि आफ्नो मन पनि खुसी भएको बताएका छन् । ‘म पहिला विदेश जान भनेर हिँडेको थिएँ, विदेश जान भनेर भौतारिने क्रममा मीनाजी सँग भेट भयो र च्याउ खेती गर्ने मन पलाएको थियो’, शमशेरले भने, ‘बीज अंकुराउन थालेपछि मन फुरुंग हुदो रैछ, आम्दानी हुन थालेको छ, खुसी लागेको छ, विदेश नगएर राम्रो गरेँजस्तो लागिरहेछ ।’

मीना पाख्रिन पेसाले राजनीति गर्छिन् । उनी अहिले राजनीति र कृषिलाई संगसँगै लगिरहेकी छन् । उनी भन्छिन्, ‘च्याउ खेतीले राजनीतिमा सहयोग भइरहेको छ । राजनीति र तरकारी खेती सजिलै भएको छ, किनभने हामी टिममा काम गरिरहेका छाैँ, एउटा बिजी हुँदा अर्काेले हेर्छौं, मेरो फुर्सदमा म पनि हुन्छु सजिलै छ ।’ बिदेसिने युवालाई यतै कृषि कर्म गर्न रोक्नसके स्वदेशमै केही गर्न सकिने उनी बताउँछिन् ।

उनीहरूले पनौती कृषि फर्म दर्ता गरेरै तरकारी खेती गरिरहेका छन् । उनीहरूले पहिलोपटक व्यावसायिक रूपमा लगाएको च्याउ बजारमा गइसकेको छ । हाललाई बनेपा र पनौतीमा पठाउने गरेको च्याउ अब सबै बलबाट च्याउ उत्पादन हुँदा बजारको समस्या हुने हो कि भन्ने लागेको मीनाले बताइन् । एउटै टनेलमा ८० किलोसम्म च्याउ टिपेको उनको अनुभव छ । यसरी ११ वटा टनेलमा एकैचोटी टिप्दा आठ सयदेखि हजार किलोसम्म हुँदा बजारको समस्या हुने हो कि भन्नेमा उनीहरू चिन्तित देखिएका छन् । त्यसकारण बजार खोज्न काठमाडांैको कालीमाटी पनि जानुपर्ने अवस्था आएको बताएका छन् ।

च्याउ खेती बजार व्यवस्थापनको हिसाबले अन्य तरकारीको तुलनामा संवेदनशील रहेको मीनाले बताइन् । अन्य तरकारी त आज बिक्री नभए पनि भोलिपर्सी बिक्री गर्दा पनि हुने तर च्याउ एकदिन ढिला भएमा घाटामा जाने उनले बताइन् । मीनाले दुई वर्षदेखि तरकारी खेती गरिरहेकी छन् । च्याउ लगाउनुभन्दा पहिला गोलभेँडा खेती गरेको र जिल्लामा रहेको कृषि ज्ञान केन्द्रले च्याउखेतीको तालिम लिएपछि च्याउखेतीमा आकर्षित भएको उनले बताइन् ।

कृषि व्यवसायले जीवन परिवर्तत गर्नेमा शमशेर ढुक्क छन् । उनले अब यसैलाई निरन्तर रूपमा अगाडि बढाउने बताए । उनले भने, ‘अब म विदेशको मोह त्यागेर कृषि व्यवसायलाई नै आफ्नो मुख्य पेसा बनाउनेछु ।’

प्रतिक्रिया