प्रशिक्षणबाट चार हजार बालिका लाभान्वित

दैलेख । बालिकाको प्रतिरोधात्मक क्षमता, यौनजन्य घटनाको पहिचान गर्नसक्ने क्षमता वृद्धि र यौनजन्य हिंसाबाट जोगाउने उद्देश्यले दैलेखबाट थालिएको बालिका बचाउ अभियानले २६ माविका बालिकाहरूलाई प्रशिक्षण दिएको छ ।

दैलेख, सुर्खेत र जाजरकोट जिल्लाका विद्यालय तथा समुदाय स्तरमा प्रशिक्षण दिएको हो । एक वर्षदेखि सञ्चालन भइरहेको अभियानले तीन जिल्लाका ४ हजार १ सय ७७ बालिकालाई प्रशिक्षण दिइएको सल्लाहकार हिक्मतबहादुर नेपालीले जानकारी दिए । जिल्लाका युवाहरूले स्वयंसेवक रूपमा सुरु गरेको अभियानको प्रथम वार्षिक समीक्षा कार्यक्रमका अवसरमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।

‘यौन दुव्र्यवहार र बलात्कारविरुद्ध ऐक्यबद्धता, बालिका बचाउन हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित सञ्चालन भइरहेको समीक्षा कार्यक्रममा प्रतिनिधिसभाका सांसद पार्वतीकुमारी बिशुन्केले ‘बालिका बचाउ अभियानले महिला हिंसा, छाउपडीप्रथा, जातीय विभेद लगायतका सवाल सँगसँगै अगाडि बढाउन सुझाव दिइन् । सांसद बिशुन्केले स्थानीय सरकारले भौतिक विकाससँगै सामाजिक सचेतना जगाउन यस्ता स्वयंसेवी समूहलाई परिचालन गर्न आग्रह गरिन् ।

महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले स्थानीय सरकारले गर्ने सचेतनाको काममा बालिका बचाउ अभियानले सघाएकोले आफूहरूले सहयोग गर्ने प्रतिवद्धता जनाए । दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले पवित्र भावनाले अभियान प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।

नारायण नगरपालिका–६ का वडाध्यक्ष प्रकाश न्यौपानेले अभियानलाई स्थानीय सरकारबाट सहयोग हुने बताए । प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले प्रहरीको आफ्नै दायित्वलाई सघाएको भन्दै अभियानलाई धन्यवाद दिए । गैसस महासंघका जिल्ला अध्यक्ष महारुप खत्रीले विनाश्रोत पनि काम गर्न सकिन्छ भन्ने अभियानले देखाएको औँल्याए ।

बालिका बचाउ अभियानका संयोजक सजना सुनारले अभियानलाई स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताइन् । ‘हामी आफ्नो सीप, समय लगानी गर्छांै, उनले भनिन्, ‘स्थानीय सरकारले ग्रामीण क्षेत्रमा पुग्ने वातावरण मिलाइदिनुपर्छ ।’ सोही अवसरमा अभियानलाई आर्थिक, भौतिक र नैतिक सहयोग गरेका व्यक्ति तथा संस्थालाई सम्मानपत्र दिइएको थियो ।

प्रतिक्रिया