बक्सिङमा आठ खेलाडी छनोट

काठमाडौं । आगामी १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि सोमबार बक्सिङमा आठ खेलाडी छनोट भएका छन् । लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा आइतबार सम्पन्न प्रतिस्पर्धाबाट पुरुषतर्फ ५ र महिलामा तीन खेलाडी छनोट भएका हुन् । आगामी मंसिर १५ देखि २४ गतेसम्म नेपालमै हुने १३औं सागमा बक्सिङका कुल १६ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । महिलामा ६ र पुरुषतर्पm १० खेलाडीले घरेलु मैदानमा हुने सागमा चुनौती प्रस्तुत गर्नेछन् ।

सोमबार ७ खेलाडी छनोट भइसकेका छन् । मंगलबार पनि पुरुषतर्पm ५ र महिलामा तीन खेलाडीका लागि छनोट हुने राष्ट्रिय टोलीका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए । महिला ४८ केजीमा त्रिभुवन आर्मीकी ललित महर्जन छनोट हुँदा फाइनलमा नेपाल पुलिस क्लबकी दिवाना शर्मालाई अंकको आधारमा ५–० को स्कोरले हराइन । महिलाकै ५१ केजी तौलसमूहमा एपिएफ क्लबकी माला राई छनोट भइन् ।

मालाले फाइनलमा प्रदेश–३ की रोशनी राईलाई अकंको आधारमा ५–० ले स्तब्ध बनाएकी थिइन् । महिलाकै ६० केजी तौलसमूहमा एपिएफकी संगीता सुनुवारले १३औं सागको यात्रा तय गर्न आर्मीकी सविना श्रेष्ठलाई अंककै आधारमा ५–० ले पराजित गरिन् । पुरुषतर्पm ५२ केजी तौलसमूहमा आर्मीका तेजबहादुर देउबा छनोट भए । तेजबहादुर फाइनलमा पुलिसका चन्द्रबहादुर थापालाई अंकको आधारमा ५–० ले हराउँदै छनोट यात्रा तय गरेका छन् ।

पुरुषको ६० केजी तौलसमूहमा प्रदेश–३ का सनिल साही सहजै १३औं सागको यात्रा तय गरेका थिए । उनले आर्मीका विमल रोकाबाट वाक पाए । विमल मेडिकल अनफिटका कारण छनोट प्रतिस्पर्धामा सहभागी भएनन् । पुरुष ६४ केजी तौलसमूहमा पुलिसका भूपेन्द्र थापा छनोट हुन सफल भए । भूपेन्द्रले आर्मीका सुरेश नेपालीलाई अंकको आधारमा ४–१ ले पराजित गरे ।

पुरुषको ९१ केजी तौलसमूहमा आर्मीका अर्जुन सिगु छनोट हुँदा फाइनलमा एपिएफका गोकुल गुरुङलाई अंकका आधारमा ४–१ ले स्तब्ध बनाए । पुरुषकै ९१ केजी तौलसमूहमाथि आर्मीकै आशिष दवाडी छनोट भए । फाइनलमा प्रदेश–३ का सनी जुवालाई रेफ्री स्टप कन्टेस्ट ‘इन्जुरी’ का आधारमा आशिष छनोट भएका थिए ।

नेपाली बक्सिङ टोलीले ‘ए’ र ‘बी’ दुई समूह गरी १३औं सागको प्रशिक्षण गर्दै आइरहेको थियो । ‘ए’ गत जेठ १२ गतेदेखि प्रशिक्षण गरेको थियो भने ‘बी’ टोलीले साउन १६ देखि क्लोज क्याम्पको प्रशिक्षण सुरु गरेको थियो ।

प्रतिक्रिया