सिटीको अप्रत्यासित हार

एजेन्सी, पेरिस । साबिक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा अप्रत्यासित पराजय बेहोरेको छ । यसै सिजन प्रिमियर लिगमा बढुवा भएको नोरिच सिटीले पाहुना टोली म्यानचेस्टर सिटीलाई ३–२ गोलले स्तब्ध पारेको हो । सिटीका लागि नयाँ सिजनमा पाँचौँ खेलमा पहिलो पराजय हो । नोरिजका लागि भने पाँचौँ खेलमा दोस्रो जित हो । खेलको १८औँ मिनेटमै किन्नी म्याकलीनको गोलमार्फत अग्रता बनाएको घरेलु टोली नोरिचले त्यसको १० मिनेटपछि अर्को गोल थप्यो । यसपल्ट टड क्यान्टवेलले गोल गरेका थिए ।

सर्जियो एग्युरोले ४५औँ मिनेटमा गोल फर्काएपछि पहिलो हाफमा नोरिचले २–१ को अग्रता बनाएको थियो । दोस्रो हाफको सुरुमै नोरिचले ३–१ को अग्रता बनायो । तिमु पुक्कीले गोल गरेका थिए । ८८औँ मिनेटमा गाव्रियल जेससको पासमा रोड्रि अर्नान्डेजले गोल गरी खेलमा फर्काउने प्रयास गरे पनि ढिला भइसकेको थियो ।

अग्रता बनाएपछि रक्षात्मक रणनीति लिएको नोरिचविरुद्ध बल पोजिसन हासिल गरे पनि सिटीले आवश्यक गोल गर्न सकेन । चोटका कारण रक्षक एमरिक लापोर्तेविना मैदान उत्रिएको सिटीका स्ट्राइकर सर्जियो एग्युरो र रोड्रीले गोल गरेपनि टोलीको हार भने टार्न सकेनन् । यस हारपछि पेपे ग्वार्डिओलाको टोली शीर्ष स्थानको लिभरपुल भन्दा ५ अंकले पछि परेको छ । ५ खेलको समाप्तीमा शतप्रतिशत नतिजालाई निरन्तरता दिएको लिभरपुल १५ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेल खेल्दै दोस्रो स्थानमा बसेको सिटीको १० अंक छ । समान ५ खेलमा ८ अंकका साथ टोनेनह्याम, म्यानचेस्टर युनाइटेड र लेस्टर सिटी क्रमशः तेस्रो, चौथो र पाँचाँै स्थानमा छन् ।

‘हामी अत्यन्तै हर्षित छाँै । किनभने यो क्लब, खेलाडी र समर्थक सबैका लागि यादगार दिन हो’, नर्विचका प्रशिक्षक ड्यानियल फ्रारकीले भने, ‘टोलीले जुन मनोबलका साथ प्रदर्शन गर्दै सिटीलाई स्तब्ध पा¥यो, म त्यसको वर्णन गर्न सक्दिनँ । यता पूर्वकप्तान भिसेन्ट कोम्पनी अनयत्र गएपछि सेन्टर ब्याकमा लापोर्टेको भर परेको सिटीलाई उनको घुँडाको चोट महंगो बन्यो । लापोर्ते कम्तीमा जनबरीसम्म मैदान बाहिरै बस्ने बताइएको छ ।

‘हामीले आजको खेलबाट पाठ सिक्दै अघि बढ्नेपर्छ,’ ग्वार्डिओलाले भने, ‘हामी यस हारबाट अहिले हतास हुनुपर्ने भने छैन । सधँै स्वभाविक लयको प्रदर्शन गर्न कठिन छ, ‘ग्वार्डिओलाले भने, ‘खेल कसले राम्रो खेल्यो भने कुन टोलीले कति गोल ग¥यो भन्नेले विशेष अर्थ राख्छ । आज नर्विच गोलमा हामी भन्दा माथि रह्यो ।’

प्रतिक्रिया