बगरफाँटमा परम्परागत कृषि

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका –२ बगरफाँट सदरमुकाम बेनी बजारसँगै जोडिएको र सबै किसिमका सुविधाको पहुँचमा रहेको भएपनि यहाँ अझैसम्म परम्परागत कृषि प्रणाली कायमै रहेको छ ।

अग्र्यानिक गाउँको रुपमा परिचित बगरफाँटका केही किसानले खेतीपातीमा प्रविधिको प्रयोगको शुरुआत गरेपनि प्रायः किसानले अझैपनि खनजोतदेखि मल बीऊसम्म परम्परागत प्रविधि र सीपको प्रयोग गरिरहेका छन् ।

म्याग्दीको अन्न भण्डारसमेत भनिने बगरफाँटका करीब दुई सय किसान जागीर, ब्यापारसँगै पुख्र्यौली पेशाको रुपमा कृषि पेशा अपनाइरहेका छन् । यहाँका अधिकांश व्यक्तिले कृषि पेशा अपनाएका भए पनि यसलाई व्यावसायिक बनाउने भने कमै रहेको बगरफाँटका अगुवा किसान जीतबहादुर कार्कीले बताए ।

कृषि ज्ञान केन्द्र म्याग्दीले यहाँका किसानलाई सहुलियत, अनुदान र निःशुल्क रुपमा विभिन्न किसिमका कृषि सामग्री प्रदान गर्दै आएको छ । सिञ्चाइका लागि पाइपदेखि लिएर औजार, उपकरण, मल, बीउ, तालीम, गोष्ठी सबै चिज उपलब्ध गराएपनि किसानलाई व्यावसायिक बनाउनेतर्फ कसैको ध्यान नगएको कृषि ज्ञान केन्द्रका प्राविधिक बताउँछन् ।

बगरफाँट ताजा तरकारी र अग्र्यानिक बालीका लागि अत्यन्तै सम्भावना रहेको गाउँ भएपनि यहाँका किसानले व्यावसायिक रुपमा कृषि पेशा नअपनाएको कृषि ज्ञान केन्द्र म्याग्दीका भोजबहादुर थापाले बताए ।

बगरफाँटका किसानले अग्र्यानिक खेती गर्दै आएका छन् । यहाँ उत्पादित तरकारी र अन्नबालीको माग बजारमा धेरै रहेको छ । तर, किसानले मागअनुसारको उत्पादन गर्न नसकेको अर्का किसान तिलकुमारी कार्कीले बताए ।

प्रतिक्रिया