विकास र नवीन क्वार्टरफाइनलमा

काठमाडौं । एपिएफका दिपेश धामी, सेनाका रत्नजित तामाङ, भोजपुरका विकास श्रेष्ठ र सेनाका नवीन श्रेष्ठ योनेक्स सनराईज नवौँ पुष्पलाल स्मृति ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको अन्तिम आठमा पुग्न सफल भएका छन् । उच्च १६ वरीयताका खेलाडीबीच भएको पुरुष एकलको लिग खेलमा चारै जना खेलाडी आ–आफ्नो समूहमा शीर्ष स्थान हात पार्दै क्वार्टरफाइनल प्रवेश गरेका हुन् । समूह ‘बी’का राष्ट्रिय च्याम्पियन दिपेश धामीले सेमिफाइनल प्रवेशका लागि समूह डीका उपबिजेता सेनाका रुकेश महर्जनसँग प्रतिस्पर्धा गर्नेछन् । समूह ‘डी’ का विजेता सेनाका नवीन श्रेष्ठले समूह ‘बी’का उपबिजेता सेनाका प्रफुल महर्जनसँग प्रतिस्पर्धा गर्नेछन् ।

समूह ‘ए’ मा रत्नले आफ्ना तीनै प्रतिद्वन्द्विलाई पराजित गर्दै समूह विजेता भएका हुन् । उक्त समूहबाट उपबिजेताका रूपमा पुलिसका जीवन आचार्यले अन्तिम आठमा स्थान बनाए । अब रत्नले समूह ‘सी’का उपबिजेता पुलिसका सुनिल जोशीसँग प्रतिस्पर्धा गर्नेछन् । समूह ‘सी’ का विजेता विकासले ‘ए’ का उपविजेता जीवन आचार्यको सामना गर्नेछन् । समूह एमा रत्नले पुलिसका जीवन आचार्यलाई २१–६, २१–१०, एपिएफका सुमन लिम्बुलाई २१–१०, २१–१३ तथा गौतमसिंह कठायतलाई १९–२१, २१–९, २१–१४ ले पराजित गरे ।

यस्तै जीवनले एपिएफका सुमन लिम्बुलाई २१–१८, २४–२२ ले तथा गौतम सिंह कठायतलाई १५–२१, २१–१९, २१–१४ ले हराए । एपिएफका गौतमले आफ्नै क्लबका सुमनलाई २१–१५, २१–१५ ले हराए । समूह बीमा दिपेश धामीले सेनाका प्रफुल महर्जनलाई २१–१९, २१–९ ले तथा बाँकेका ईरफान अन्सारीलाई २१–१४, २१–१४ ले र प्रफुलले ईरफानलाई २१–११, २१–१५ ले पराजित गरे ।

समूह सीमा पूर्वराष्ट्रिय च्याम्पियन विकास श्रेष्ठले एपिएफका विजित थापामगरलाई २१–१५, २१–९ ले तथा पुलिसका सुनिल जोशीलाई २१–१७, २१–१४ ले र सुनिलले विजितलाई २१–१६, २१–९ ले पराजित गरे । समूह ‘डी’ मा सेनाका नवीन श्रेष्ठले सेनाकै रुकेश महर्जनलाई २१–१५, २१–१० ले तथा पुलिसका विष्णु कटुवालबाट वाकओभर पाए । पुलिसका विष्णुले अस्वस्थताका कारण खेल परित्याग गरेपछि रुकेशलाई विजयी बनाईएको थियो । महिला उच्च १२ तर्फको एकलमा एपिएफकी जेशिका गुरुङ र सुनैना मुखिया तथा सेनाकी अनुमाया राईले पनि अन्तिम आठमा स्थान बनाए ।

अब उनले क्वार्टरफाइनलमा समूह ‘ए’ की उपविजेतासँग प्रतिस्पर्धा गर्नेछिन् । यस समूहमा निता लम्साल उपबिजेता बनिन् । निताले सीता राईलाई १८–२१, २१–१९, २१–१७ ले पन्छाउन सफल भइन् । समूह ‘ए’ मा राष्ट्रिय च्याम्पियन रशिला महर्जनले बिजयी सुरुआत गरेकी छिन् । उनले बाँकेकी सम्झना शर्मालाई २१–११, २१–१३ ले पाखा लगाइन् । यस समूहको बाँकी खेल बिहीबार हुने कार्यक्रम रहेको छ ।

महिला खुला एकलतर्फ जेष्टकी मनिषा खड्का, सूर्खेतकी पुष्पा शाही, बाँकेकी सुष्मा श्रेष्ठ, एपिएफकी निकिता लामा, कैलालीकी प्रार्थना देउवा र रुपन्देहीकी सुन्दरी थारुले अन्तिम आठमा स्थान सुरक्षित गरे । पुरुष युगलतर्फ एपिएफका विजित थापा मगर र दिपेश धामीको जोडी, सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडी, बाँकेका रियाज अन्सारी र ईरफान अन्सारी तथा पुलिसका पूर्ण बहादुर थापा र गौरव दाहालको जोडीले पनि अन्तिम आठमा स्थान बनाउन सफल भए ।

प्रतिक्रिया