सिलवाल र राई सम्मानित

काठमाडौं । यस वर्षको एनएसजेएफ खेल पत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकार राजु सिलवाल र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट निशान राई ‘सुच्चा’लाई सम्मानित भएका छन् ।  नेपाल खेलकुद पत्रकार मञ्चले २४औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मानित गरेको हो । अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन भन्ने नाराका मञ्चले हरेक वर्ष स्थापना दिवसमा यो कार्यक्रम गर्दै आएको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले वरिष्ठ पत्रकार सिलवाललाई २५ हजार नगद, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान प्रदान गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल र नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले युवा पत्रकार राईलाई ल्यापटप, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मानित गरे । युवा पत्रकारिता पुरस्कार एसियाली खेलकुद पत्रकार महासंघबाट उपलब्ध गराइएको हो ।
सुमन भोम्जन स्मृति युवा खेलपत्रकारिता पुरस्कार गत वर्षबाट मात्र प्रदान गर्न थालिएको हो । गत वर्ष राजधानी दैनिकका खेल पत्रकार दिल तामाङले सो पुरस्कार प्राप्त गर्नुभएको थियो । सम्मानपत्र ग्रहण गर्दै वरिष्ठ खेल पत्रकार सिलवालले खेलकुद पत्रकार मञ्चको गठनसँगै खेल पत्रकारिता संस्थागत ढंगले अघि बढेको बताउँदै आफू खेलकुदमा समाचार संकलनमा क्रममा भोगेका अनुभव सुनाए ।

सुमन भोम्जन स्मृति युवा खेल पुरस्कारबाट सम्मानित राईले मञ्चले प्रदान गरेको अवार्डबाट आफूलाई खेलकुद पत्रकारितामा जिम्मेवार भएर अघि बढ्न प्रेरणा मिलेको बताए । स्थापना दिवसका अवसरमा शुभकामना मन्तव्य दिँदै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले व्यावसायिक खेलकुद पत्रकारिताका लागि सहयोग गर्न सरोकारवाला निकायलाई आग्रह गरे ।

राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले राष्ट्रको प्रतिष्ठा बढाउने काम गर्दै आएका खेल पत्रकारसँग मिलेर अघि बढ्न चाहेको उल्लेख गरे । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवराम श्रेष्ठले खेलकुद क्षेत्रको विकास र प्रगतिमा खेलकुद पत्रकारले खेलेको भूमिकाको प्रशंसा गरे । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले खेल क्षेत्रभित्रका विकृति र विसंगतिलाई उजागर गर्न स्थापना दिवसले अझ बढी प्रेरणा मिलोस् भनी शुभकामना दिए ।

प्रतिक्रिया