दैनिक ज्याला १ सय ८ रुपैयाँ

बैतडी । जिल्लाको सिगास गाउँपालिका–९ को एक आयोजनामा काम गर्ने कामदारले प्रतिदिनको १ सय ८ रुपैयाँ ज्याला पाएका छन् । कुन्नुखोला सल्याड थाप्ला खानेपानी आयोजनाको पाइपलाइन खोदान र ट्यांकी निर्माणका कामदारहरूले सो ज्याला पाएका हुन् ।

आफूहरूले दिनभर योजनामा काम गरेको १ सय ८ रुपैयाँ पाएपछि दुःख लागेको योजनामा काम गर्ने स्थानीय सुरेन्द्र चन्दले बताए

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा खानेपानी डिभिजन कार्यालय बैतडीबाट सञ्चालित सो योजना ०७५ देखि सुरु भई ०७८ मा सम्पन्न हुने प्राविधिक इस्टमेट बनेको छ । आफूहरूले दिनभर योजनामा काम गरेको १ सय ८ रुपैयाँ पाएपछि दुःख लागेको योजनामा काम गर्ने स्थानीय सुरेन्द्र चन्दले बताए । धेरैजसो कामदारले त त्यो ज्याला अहिलेसम्म बुझेका छैनन् । १ सय ८ रुपैया ज्याला दिएको सुनेकी छु तर लिखित रूपमा वडामा कसैले पनि निवेदन नदिएको वडाध्यक्ष लक्ष्मी चन्दले बताए ।

ज्याला जति पाए पनि ठीक छ हामीलाई खानेपानी चाहियो हामी काम गर्छाैँ भनेर माइनेटिङ गरेको कुन्नुखोला सल्याड थाप्ला खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष भृकुटी चन्दले बताए । ‘समितिले पाएको रकमको हिसाब गरेर कामदारलाई त्यति मात्रै बचेको हो’, उनले भने । उपभोक्ताहरूले भने योजनाको बारेमा सार्वजनिक सुनुवाई नगरिकनै अध्यक्ष सदरमुकामबाट पैसा बुझेर धनगढी बसेको आरोप लगाएका छन् ।

आयोजनाको कुल लागत १ करोड १५ लाख २३ हजार १ सय ४४ रहेको छ । जसमा पहिलो वर्ष उपभोक्ताहरुले काम गरेको जम्मा ८ लाख ६० हजार ८ सय ४२ रुपैयाँ पाएका छन् । उपभोक्ताले एक ईन्टक, एक च्याम्बर, एक ट्यांकी र १७ सय ५० मिटर पाइपलाइन खनेको खानेपानी डिभिजन कार्यालय बैतडीका इन्जिनियर महिम बोहराले बताए ।

प्रतिक्रिया