नाडाललाई १९औँ ग्रान्ड स्लाम

एजेन्सी, वासिंगटन । स्पेनिस स्टार राफायल नाडालले चौथोपटक युएस ओपन टेनिसको उपाधि जितेका छन् । पहिलो पटक ग्रान्डस्लामको फाइनलमा पुगेका रसियन खेलाडी डेनिल मेदभेदेभलाई पाँच सेटमा हराउँदै नाडालले चौथोपटक उपाधि उचाल्न सफल भए । दुई वर्षपछि यूएस ओपन टेनिसको उपाधि जित्ने क्रममा नाडालले मेदभेदेभलाई ३–२ को सेटमा हराए । पाँचौँ वरीयताका मेदभेदेभविरुद्ध नाडालले निकै संघर्षपूर्ण रुपमा जित निकालेका हुन् ।

सुरुवाती दुई सेट जिते पनि त्यसपछि मेदभेदेभले अन्य दुई सेट जित्दै नाडाललाई कडा प्रतिस्पर्धा दिएका थिए । अन्तिम सेटमा भने नाडालको अगाडी २३ वर्षे मेदभेदेभ खासै चल्न सकेनन् । नाडालले पहिलो सेट ७–५ ले जितेका थिए भने दोस्रो सेटमा ६–३ को जित हात पारेका थिए । तर तेस्रो सेटमा उत्कृष्ट कमब्याक गरेका मेदभेदेभले ७–५ ले जिते । चौथो सेटमा पनि उनले ६–४ को जित निकाल्दै खेल २–२ सेटको बराबरीमा पुर्याएका थिए ।

तर अन्तिम सेटा नाडालले ६–४ को सहज जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पारे । पहिलो पटक ग्रान्डस्लामको फाइनलमा पुगेका मेदभेदेभले नाडालसँगको फाइनल खेल रोमाञ्चक बनेको र आफूले अन्तिम सेटमा राम्रो खेल्न नसकेको बताए । नाडालले यसअघि सन् २०१०, ०१३ र ०१७ मा यो प्रतियोगिताको उपाधि जितेका थिए । नाडालले करियरको १९औँ ग्रान्ड स्लाम जितेका छन् ।

प्रतिक्रिया