उत्कृट पाँच अवार्ड मनोनयन

काठमाडौं । सातौँ ‘राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७६’ का उत्कृष्ट पाँचजनालाई मनोनयन–पत्र प्रदान गरिएको छ । राप्ती समाज काठमाडौंले आयोजना गरेका एक कार्यक्रममा प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले प्रमाणपत्र तथा अन्य केही सर्जकलाई सम्मान गरिन् ।

सांसद चौधरीले आफू पनि कलाकारितातिर लाग्ने सोचमा रहेको बताइन् । उनले अबको केही दिनमा आफ्नो जीवन भोगाइबारे गीत सार्वजनिक गर्ने जानकारी दिइन् । उनले भनिन्, ‘कलाकार नेता बन्न सक्छन् । तर, नेता कलाकार बन्न गाह्रो छ ।’ उनले नेपाली मौलिक गीत संगीतको लागि नीति निर्माण तहमा सहयोग गर्ने बताइन् ।

विगतमा कमलरी बस्दाको त्यो क्षण सम्झँदै उनले भनिन् ‘आफूले चाहेको आफ्नो क्षमताको कुरालाई गौण राख्न हुँदैन ।’ कार्यक्रममा ४५ विधामा उत्कृष्ट ५÷५ गरी करिब २ सय ५० जनालाई प्रमाणपत्र प्रदान गरिएको संस्थाका महासचिव रामु खड्काले जानकारी दिए ।

खड्काका अनुसार यस वर्ष तीन अग्रज स्रष्टालाई सम्मान गरिएको छ । जसमा स्व. नारायण पाण्डे दोहोरी प्रतिभा पुरस्कारबाट गायिका ज्योति मगर र वाद्यबाधक कृष्ण विकलाई सम्मान गरिएको हो । त्यसैगरी, राप्ती सांस्कृतिक सम्मानबाट भुवन गन्धर्व सम्मानित भएका छन् ।

प्रतिक्रिया