उपभोक्ताको अधिकार संरक्षण गर्दै उपमहानगर

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमाथापा मगरले नगरपालिकाको उपभोक्ता हित संरक्षण समिति अब उपभोक्ताको अधिकार संरक्षणका लागि सक्रिय भई कार्य गर्ने बताएकी छन् । विगतमा विभिन्न कारणले सोचे जति काम हुन नसके पनि यस आवमा ठोस कार्ययोजनाका साथ कार्य गर्ने बताइन् ।

नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिद्वारा समितिका पदाधिकारी र बजार अनुगमन टोलीका सदस्यहरूलाई बजार अनुगमन निर्देशिका र कार्यविधिबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको अभिमूखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपभोक्ता हित संरक्षण समितिको संयोजकसमेत रहेकी उपप्रमुख मगरले समितिले पहिलो चरणमा सेवा प्रदायक निकायलाई सचेत पार्ने, उपभोक्ता शिक्षाका कार्यक्रम गर्ने बताइन् । सचेत पार्दा पनि बस्तु तथा सेवा प्रदायक निकायले उपभोक्ता हित विपरीतको कार्यलाई जारी राखे कानुनी कारवाही हुने जानकारी दिइन् ।

कार्यक्रममा समितिका सदस्य एवं उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष अधिवक्ता वसन्त गौतमले बजार अनुगमन निर्देशिका र कानुनी प्रक्रियाका बारेमा सहजीकरण गरेका थिए । यस क्रममा उनले गुणस्तरीय बस्तु तथा सेवा पाउने उपभोक्ताको अधिकार भएकाले यसको संरक्षणका लागि सबै लाग्नुपर्नेमा जोड दिए ।

बैठकमा बोल्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले उपभोक्ता अधिकारमा विभिन्न सरकारी कार्यालय र नगरपालिकाले समन्वयात्मक तरिकाले कार्य गर्नुपर्नेमा जोड दिए । ‘बजारको बेथिति रोक्न र उपभोक्ता सचेत गराउन सबै लाग्नुपर्छ,’ सहायक प्रजिअ उपाध्यायले भने ।

कार्यक्रमका सहभागीहरूले उपभोक्ता सचेतनाका कार्यक्रम वडास्तरसम्म लैजानुपर्ने, उपभोक्ता अधिकारसम्बन्धी कानुनी व्यवस्थाबारे सरोकारवालालाई जानकारी गराउनुपर्ने, बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाइनुपर्ने, सरोकारवालाबीच आपसी समन्वय र सहकार्य हुनुपर्ने, सचेत बनाउँदा पनि उपभोक्ता ठगी गर्ने उपर कानुनी कारवाही गर्नुपर्नेमा जोड दिएको नेपालगञ्ज उपमहानगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेलले जानकारी दिए ।

समिति बैठकले समग्र उपभोक्ता हक हित प्रवद्र्धन हुने गरी चालु आव ०७६÷७७ का लागि वार्षिक कार्ययोजना तयार गरी उपभोक्ता अधिकार संरक्षणका लागि कार्य गर्ने निर्णय गरेको नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिकी संयोजक उमा थापा मगरले जानकारी दिइन् ।

कार्ययोजना तयारी समितिमा नेपालगञ्ज उपमहानगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत शरदकुमार पोडैले, सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी र समितिका सदस्य एवं उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष अधिवक्ता वसन्त गौतम रहेका छन् ।

कार्ययोजना पश्चात बजार अनुगमन, उपभोक्ता शिक्षा लगायतका कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय भएको उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष अधिवक्ता वसन्त गौतमले बताए । ‘समिति नाम मात्रको हुनु हँुदैन । ठोस कार्ययोजना बनाई उपभोक्ताको पक्षमा प्रभावकारी काम गर्न सक्नुपर्छ,’ गौतमले भने ।

नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक उमाथापा मगरको अध्यक्षतामा भएको बैठकमा जिल्ला प्रशासन कार्यालय बाँकेमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अधिवक्ता वसन्त गौतम, नेपालगञ्ज उपमहानगरपालिका आर्थिक विभाग संयोजक मञ्जु नेपालीको अभिमूखीकरणमा सहभागिता थियो ।

प्रतिक्रिया