सामाजिक सद्भावका लागि राष्ट्रिय सम्मेलन

धनगढी । सामाजिक सद्भाव कायम गर्न टीकापुरमा थारुवान/थरुहटको राष्ट्रिय सम्मेलन ७ भदौबाट सुरु हुने भएको छ । थारुवान/थरुहटको राष्ट्रिय सम्मेलन केन्द्रीय तयारी समितिले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको हो ।
थरुहट/थारुवान एकता र सामाजिक सद्भावका लागि टीकापुर राष्ट्रिय सम्मेलन संविधान संशोधनसहित थरुहट/थारुवान स्वायत्त प्रदेशका लागि हाम्रो आन्दोलन भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ ।

सम्मेलनमा तीन सय जना स्वयंसेवक रहने, कार्यक्रमस्थलमा सिसिटिभी क्यामरा जडान गरिने जनाइएको छ । सम्मेलनमा काठमाडौं उपत्यकासहित थरुहट तराईका २४ जिल्ला र विदेशमा रहेका थारू संघसंस्थाहरूको उत्साहजनक सक्रिय सहभागिता हुने आयोजकले जनाइएको छ ।

थरुहट र थारुवान आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा ०७२ भदौ ७ मा आठ सुरक्षाकर्मी र एक नाबालक गरी नौ जनाको ज्यान गएको थियो । सोही दिनको सम्झनामा टीकापुरमा पहाडी र थारूको तिक्तताको अन्त्य गर्दै सामाजिक सद्भाव कायम गर्न सम्मेलनको आयोजना गरिएको थारुवान÷थरुहटका नेता तथा पूर्वसांसद कृष्णकुमार चौधरीले बताए ।

सम्मेलनपूर्व सामाजिक सद्भाव कायम गर्न ५ गते बिहान टीकापुरमा सरसफाइ गरिने, ६ र ७ गतेसम्म रक्तदान कार्यक्रम गरिने उनले बताए । सम्मेलनको अवधिभर खानेपानी र पुुष्पगुछाले सहभागी हुन आउनेलाई स्वागत गर्ने, प्रतिकात्मक रूपमा थारूको घरमा पहाडी र पहाडीको घरमा थारू समुदायका मानिसलाई बसाउने कार्यक्रम गरिने कार्यक्रम तय भएको थरुहट /थारुवानका नेता लक्ष्मण चौधरीले बताए ।

प्रतिक्रिया