ग्रीनल्यान्ड बास्केटबलमा ५२ टिम

काठमाडौं । चौथौँ क्विक्स चिजबल ग्रीनल्यान्ड अन्तर विद्यालय बास्केबल प्रतियोगिता बुधबारदेखि सुरु हुने आयोजक स्कुलका प्रिन्सिपल थकिनकुमार गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।  ‘खेल स्वास्थ्यका लागि खेलाडी राष्ट्रका लागि’ भन्ने मुल नारामा आधारित रही प्रतियोगिता आयोजना गर्दै आएको प्रिन्सिपल गुरुङले पत्रकार सम्मेलनमा जानकारी गराए । प्याब्सन प्रदेश–३ का अध्यक्षसमेत रहेका गुरुङले स्कुल टु ओलम्पिकको सपना साकार गर्न विद्यालय खेलकुदमा राज्यले लगानी गर्नुपर्नेमा जोड दिए । लिगकम नकाउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको तीन समूहमा ५२ टिमको सहभागिता रहेको छ ।

जुनियर छात्रतर्फ २४ टिम, सिनियर छात्रातर्फ १२ टिम र सिनियर छात्रतर्फ १६ टिम सहभागिता रहेको प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले जानकारी गराए । जुनियर ब्वाईजमा भने कक्षा ८सम्म अध्यायन गर्ने ४ फिट १० इन्चसम्मका उचाई भएकाले सहभागिता जनाउन पाउने न्योपानेले बताए । क्विक्स चिजबल प्रमुख प्रायोजकको रूपमा सहभागी हँुदै आएको छ ।

नेपाल बास्केटबल संघको प्राविधिक सहयोग र बास्केटबल संघको मान्यताप्राप्त रेफ्रीहरूले सञ्चालन गर्ने प्रतियोगिता समग्रमा ८१ वटा खेलहरू सञ्चालन हुने छन् । भाद्र १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको अनुमानित बजेट ३ लाख रहेको छ । प्रतियोगिताको गतवर्षको सिनियर छात्र र सिनियर छात्रातर्फको च्याम्पियन आयोजक ग्रीनल्यान्ड स्कुल थियो भने जुनियरतर्फको उपाधि लालीगुराँस स्कुलले हात पारेको थियो ।

प्रतिक्रिया