धुमधामले सकियो साउने पूर्णिमा

हुम्लामा मनाइने प्रसिद्ध चाडमध्येको एक हो साउने पूर्णिमा । यो पर्व हुम्लाका विभिन्न शक्तिपीठमा धुमधामका साथ मनाइएको छ । धर्मले हिन्दूण् मान्ने भएता लिने भए पनि यहाँका बासिन्दा दशैं र तिहारभन्दा विशेष महत्वका साथ यो पर्वलाई मनाउने गर्दछन् । यहाँका गाउका बीचमा स्थानीय धामी नृत्य र देउडा नृत्यको लागि कहलिएको यो पर्वलाई युवा युवतीले भने विशेष दिनका रूपमा मनाउने गर्दछन् ।

मिठो खाने र राम्रो कपडा लगाएर सजिँदै यस पर्व मनाउने गर्छन् स्थानीयले । जिल्ला सदरमुकाम हुम्लाको, सर्केगाड, ताँजाकोट गाउँपालिकाका स्थानीयले यस पर्व धुमधामका साथमा मनाउने गर्छन् । जिल्लामा रहेका अन्य तीर्थस्थलमा भने चतुर्थी र पूर्णिमाको दिनमा मात्र मनाउने यो पर्व सिमकोटमा भने त्रयोदशीको दिनदेखि एक हप्तासम्म धूमधामले मनाउने गरिन्छ ।

यस पर्वका अवसरमा नयाँ धामी हुन चाहने युवाको ताँती लाग्ने गर्दछन् । यस्तै, गरी मान्छेको शरिरमा देउता आए पछि विशेष गरी महिला र युवतीले पनि मन्दिरमा पतुर्ने (धामी नाँच्ने) गर्दछन् । पर्वको रौनक थप्नका लागि जिल्लाका सातवटै स्थानीय तह गाउँपालिकाबाट सिमकोटमा मेला भर्नेको हजारौँ संख्यामा उपस्थिति हुने गर्दछन् ।

यस अवसरमा दिउँसो स्थानिय मन्दिरमा गई खसी, बोका चढाई पूजाआजा गर्ने र अपराह्नतिर सिमकोटका विभिन्न मन्दिरमा धामीले गर्ने नृत्यले यहाँका दर्शनार्थीलाई थप मनोरञ्जना दिने गरेको छ । नयाँ बनेको धामीले चिनमा रहेको मानसरोवर कैलाशको दर्शन गरी चतुर्दशीका दिन फर्कने चलन रहेका छ । स्थानीय युवा क्लवले मेलालाई व्यवस्थित गर्नको लागि जुस, पानी, प्राथमिक उपचार र प्रसाद वितरण गर्नको लागि स्वयंसेवक समेत परिचालन गर्ने गरेका छन् । जसले पर्वमा आउने स्थानीयलाई सहजता होस भन्ने उनीहरू चाहन्छन् । साँझ पखबाट भने युवायुवतीले देउडा गित खेलेर आफ्ना मनका बह पोख्दै माया परिती साँट्ने गर्दछन् ।

यप पर्वको रमाईलो के छ भने, देउडा खेल्दा खेल्दै गितको माध्यमबाट मायाको भाव गितबाट नै व्यक्त गरी कयौँ युवा युवती वैवाहिक सम्बन्ध स्थापित गर्छन् । विवाह गर्न चाहने युवा युवतीका लागि यो दिन पवित्र मान्छि । यस दिनमा विवाह गर्दा साइज जुराउनु नपर्ने मान्यता रहेको छ ।

यस पर्वलाइ हिन्दुहरूले मान्ने चाड भनिएता पनि बौद्ध धर्मावलम्बीको पनि उत्तिकै सौहाद्रतापूर्ण उपस्थित रहेर पर्वमा समर्थन गर्ने गरेको स्थानीय बताउँछन् । अपराह्नतिरको देउडा गीत खेल्दै हिन्दूको घरमा निम्तो स्वीकारेर यो पर्वमा बौद्ध धर्मावलम्बीले साथ दिने गरेका छन् । यस दिनमा शक्तिपीठमा धामीले आफ्नो शक्ति प्रदर्शन गर्नको लागि कोही धामीले दूध ओकल्ने, जमरा उमार्ने, तातो तेल पिउनेलगायतका अद्भूत कार्यसमेत देखाउने प्रचलन रहेको छ ।

स्थानीय तहले पनि यस प्रकारका मन्दिर र पीठहरूका संरक्षणको लागि बजेट छुट्याउने गरेका छन् । मन्दिरको जीर्णोद्धार अनि मर्मत सम्भारको लागि स्थानीय तहले उपभोक्ताको लागि बजेट उपलब्ध गराउने गरेको छ । विशेष गरी आन्तरिक र बाह्य पर्यटकको लागि यो पर्वले विशेष महत्व राख्ने गरेको पाइएको छ ।

पर्व मनाउन आउनेहरूका कारण स्थानीय पसलहरूमा अन्य समयको भन्दा धेरै कारोबार हुने गरेकोले स्थानीय खुसी छन् । आवश्यक लत्ताकपडा, दैनिक उपभोग्यका सामान र बन्दोबस्तीका सामान यो समयमा निक्कै बिक्री हुने गरेको छ । सबैतिरबाट आउने दर्शनार्थीको चापले स्थानीय व्यापारीलाई सामान बिक्री गर्न भ्याईनभ्याई हुने गरेको व्यापारीहरू बताउँछन् ।

दशैँ तिहारलगायत यस्तै मेला पर्वका अवसरमा देशका अन्य भागमा व्यापारिक चहल पहल निकै बढ्ने गरेको भएता पनि हुम्लामा भने साउने पूर्णिमा मेलामा निकै व्यापारिक चहलपहल हुने गरेको छ । यही मौका पारेर स्थानिय व्यपारीले नेपालगन्ज र सुर्खेतबाट नियमित हवाई ढुवानी र हवाई जहाजमा चाटर्ड बुक गरी धेरै समान ल्याउने गरेका छन् । यो मेलामा सुनका गरगहना र कपडाको व्यापार राम्रो हुने गरेको छ । व्यवसायीका लागि पनी यो पर्व अति महत्वको हुने गरेको छ । पर्वलाई अझ व्यवस्थित र प्रचार प्रसार गर्न सकेमा हुम्लामा आन्तरिक र बाह्य पर्यटनको राम्रो प्रवद्र्धन हुन सक्ने सम्भावना रहेने स्थानीयको दाबी छ ।

यस्तै, पर्वलाई ध्यानमा राखेर विगतका वर्षमा सिमकोटमा देउडा खेल खेल्नको लागि थुप्रै सार्वजनिक स्थल छुट्टयाउने गरिएको थियो । यसले देउडा पारखीको लागि यो पर्व अझै विशेष हुने गरेको थियो । पछिल्ला दिनमा सार्वजनिक स्थानमा सरकारी घर र अन्य स्थानमा निजी घर बन्न थालेपछि देउडा खेल खेल्नेका लागि ठाउँको अभाव हुन थालेको छ । विगतका वर्षमा विमानस्थल तारबार नभएकाले त्यही नै समूह समूह बनाएर युवायुवतीले देउडा खेल्ने गर्थे । तर, विमान स्थलमा तारबार लागेपछि देउडाका पारखीहरू बजारको चोक र साँघुरा गल्लीमा कष्ठपूर्वक देउडा खेल्ने गर्छन् ।

यहाँका भक्तजनहरू पूर्णिमाको दिनमा नजिकै रहेको शिवको मन्दिरमा गई स्थानीय ब्राम्हणबाट जनै फेर्ने र रक्षाबन्धन लगाउने गर्दछन् । विभिन्न काम र अध्धयनका सिलसिलामा जिल्ला छाडेर शहर गएका युवाको सिकाई र जिल्ला भन्दा बाहिरबाट हुम्ला आएका दर्शनार्थीका कारण पनि यो प्रचलन स्थापित हुँदै गएको हो । विगतका वर्षमा यो चलन नरहेको स्थानीय वृद्धाहरू बताउँछन् । यो पर्वलाई अदानचुली गाउँपालिकाको खौला मन्दिर, सर्केगाड गाउँपालिकाको रोडिकोट र राहदेवको महादेवको मन्दिर, सिमकोटको मुग्राधारा मन्दिर र दक्षिणमा रहेको मानसरोवर नमुना माध्यमिक विद्यालयको प्रांगड र वरपर रहेका मन्दिर शक्तिपीठमा धूमधामको साथमा मनाउने गरिन्छ ।

यो मौसममा धेरै वर्षा हुने भएकाले पर्व मनाउन आउने भक्तजनालाई केही समस्या भएको भएता पनि छाता र रेन कोट ओढेरै भए पनि भक्तजन तीर्थस्थलमा जाने गर्दछन् । त्यसैगरी साउने पूर्णिमाकै अवसरमा स्थानीय धामीले विभिन्न खालका शक्तिसमेत प्रदशन गर्ने गर्दछन् । उवा नामक प्रजातिको अन्न बालीलाई हातमा राखी जमरा उत्पन्न गर्ने, बेसार बनाउने, दूध ओकल्नेलगायतका क्रियाकलाप पनि देखाउने गर्दछन् । यसले स्थानीयलाई मनोरञ्जन प्राप्त गराउँदछ ।

प्रतिक्रिया