युवा क्रिकेटरले श्रीलंकामा चुनौती प्रस्तुत गर्ने

काठमाडौं । शोबिज स्पोर्ट्स नेपालको क्रिकेट टिम श्रीलंकामा १८ देखि २४ अगस्टसम्म आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय क्रिकेट कार्निभलमा सहभागिता जनाउन शनिबार श्रीलंका प्रस्थान गरेको छ । ग्रेट स्पोर्ट्स स्टेप श्रीलंकाको आयोजनामा हुन लागेको प्रतियोगितामा पहिलोपटक नेपाली टोलि सहभागी हुन लागेको हो ।

श्रीलंका जाने टिमको कप्तानी अंकित प्रताप सिंहले गर्नेछन् । टिमको उपकप्तान मणिरत्न कुमार शाह रहेका छन् भने टिमको अन्य सदस्यहरूमा विवेक बुढाथोकी, सबिन बोगटी, सफल केसी, अभियान बस्नेत , अफजल मन्सुर , आयुष लामिछाने, रवि सिंह, पवन ओली, गणेश गौतम , रमेश शर्मा रहेका छन् । टिम प्रशिक्षकको भूमिकामा मोहनकुमार साह छन् ।

कार्निभलको दौरान शोबिज स्पोर्ट्सले ग्रेट स्पोर्ट्स स्टेपको टोलिसंग ४ वटा खेलहरू खेल्नेछ । यस्तै भ्रमणको क्रममा टिमले विशेष प्रशिक्षणसमेत लिनेछ । ग्रेट स्पोर्ट्स स्टेपको टोलिमा प्रथम श्रेणी क्रिकेटरहरू रहने बताइएको छ । शोबिज स्पोर्ट्सका कप्तान अंकित प्रताप सिंहले भ्रमणले खेलाडीहरूले एक्सपोजर पाउने जसले गर्दा खेलाडीहरूले नयाँ कुरा सिक्न पाउने बताए ।

‘राम्रो टिमसँग खेल्न जान लागेका छौँ । जहाँ प्रथम श्रेणी खेलिसकेका क्रिकेटरहरूसँग खेल्नेछौँ । खेलाडीको एक्सपोजरको लागि र अन्तर्राष्ट्रिय वातावरणमा घुलमिल गराउन यो टुरले महत्वपूर्ण भूमिका खेल्छ । हामी सिक्ने उद्देश्यले जान लागेका हौँ,’ सिंहले बताए । शोबिज स्पोर्ट्सले यसअघि थाइल्यान्ड र मलेसियाको पनि भ्रमण गरिसकेको छ ।

प्रतिक्रिया