सांघातिक आक्रमण परी दोहामा एक नेपालीको मृत्यु

काठमाडौं । कतारको दोहास्थित जैदा पार्कमा नेपालीमाथि आक्रमण हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ जैदा पार्कमा रहेको कुनै समूहको आक्रमणमा परी सुनसरीका एक युवाको घटनास्थलमै मृत्यु भएको हो ।

कतारस्थित नेपाली दूतावासले दिएको जानकारीअनुसार मृत्यु हुनेमा सुनसरीका तरवेज अन्सारी रहेका छन् । घटनामा पाँचजना घाइते भएकोमा एकको अवस्था गम्भीर रहेको छ । उमर अन्सारीको गम्भीर अवस्थामा हमाद अस्पतालमा उपचार भइरहेको छ । यसैगरी, इब्राहिम अन्सारी र नौसाद अन्सारी घाइते भए पनि उनीहरूको अवस्था खतरामुक्त रहेको छ । यसैगरी, घटनालगत्तै प्रहरीले पक्राउ गरेका अकवर मिया र महसुद अन्सारीलाई भने राजदूतावासको रोहबरमा हिरासत मुक्त भएका छन् ।

कतार प्रहरीले घटनामा संलग्न केहीलाई पक्राउ गरेको जानकारी दिए पनि उनीहरूको परिचय भने खुलाएको छैन । घटना किन कसले गरायो भनेर खुल्न सकेको छैन । यसैबीच दूतवासले अनावश्यक भिडभाड हुने क्षेत्रमा अत्यावश्यक कामबाहेक नजान आग्रह गरेको छ । जानैपर्ने भए आवश्यक सतर्कता अपनाउन कतारबासी नेपाली समुदायलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया