सगरमाथा आरोहणमा कडाइ

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा हिमाल चढ्नुअघि पर्वतारोहीले साढे ६ हजार मिटरभन्दा माथिको अर्को हिमाल चढ्नुपर्ने भएको छ । विगतमा आरोहीहरू रोयल्टी तिरेर सिधै सगरमाथा चढ्ने गरेका थिए । तर, सगरमाथा चढ्नेको ताँती वर्षेनी बढ्दै गएपछि सरकारले त्यसमा कडाइ गर्न लागेको हो ।

आठ हजारमाथिको हिमाल आरोहण गर्नुभन्दा पहिले ६ हजार पाँच सय मिटरमाथिको हिमाल आरोहण गर्नुपर्ने नियम बनाउने तयारी गरेको छ । नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा पछिल्लो समय देखापरेका समस्याको अध्ययन गर्न सरकारले गठन गरेको कार्यदलले यस्ता सुझाव दिएपछि त्यसलाई लाूगर्ने तयारी गरिएको छ । सरकारले जेठमा गठन गरेको सहसचिव घनश्याम उपाध्याय नेतृत्वको कार्यदलले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई प्रतिवेदन बुझाएको छ ।

पर्वतारोहणलाई थप सुरक्षित र आरोहीलाई उच्च उचाइ अनुकूलन बनाउन सगरथामा तथा आठ हजार मिटरमाथिका हिमचुली आरोहणका लागि अनिवार्यरूपमा नेपालको कुनै ६ हजार पाँच सय मिटरभन्दा माथिको एउटा हिमालचुली आरोहण गरेको हुनुपर्ने

समितिले सगरमाथा र आठ हजार मिटरमाथिका हिमालचुली आरोहणका लागि एक आरोहीले एक तालिम प्राप्त नेपाली जनशक्ति अनिवार्य लिएर जानुपर्ने व्यवस्था गर्न सुझाव दिएको छ । ‘पर्वतारोहणलाई थप सुरक्षित र आरोहीलाई उच्च उचाइ अनुकूलन बनाउन सगरथामा तथा आठ हजार मिटरमाथिका हिमचुली आरोहणका लागि अनिवार्यरूपमा नेपालको कुनै ६ हजार पाँच सय मिटरभन्दा माथिको एउटा हिमालचुली आरोहण गरेको हुनुपर्ने’, समितिले प्रतिवेदनमा भनेको छ । ‘पैसा हुनेले अब सोझै सगरमाथा आरोहण गर्न पाउने छैनन्,’ समितिका एक सदस्यले भने, ‘अब स्वदेशी तथा विदेशीले पहिले ६ हजार पाँच सय मिटर उचाइको कुनै हिमाल आरोहण गरेको हुनुपर्नेछ ।’

सगरमाथा आरोहण सम्बन्धि विभिन्न अफवाह फैलिरहेका वेला सरकारले यसलाई व्यवस्थित बनाउने कार्यमा जुटेको छ । सगरमाथा आरोहणका लागि केही वर्ष रोक्नुपर्ने आवाज पनि उठिरहेका छन् । जसलाई कडिकडाउ गर्न समितिले सुझाव दिएको हो । समितिले आठ हजार मिटरमाथिका हिमाल आरोहणका लागि तालिम प्राप्त नेपाली जनशक्ति अनिवार्य राख्नुपर्ने, बिमा गरेको हुनुपर्ने, आरोहणका लागि आफ्नो क्षमता भए नभएको बारे आत्माघोषणा हुनुपर्ने लगायतका आठ सुझाव दिएको छ ।

पथ प्रर्दशक नेपाली मात्र
सगरमाथा आरोहणका लागि पथ प्रदर्शक र उचाइका कामदार नेपाली मात्र हुन पाउने भएका छन् । उनीहरूले पनि निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्ने, पर्वतारोहण सम्बन्धि ज्ञान भएको तथा तोकिएको संस्थाबाट पर्वतारोहण सम्बन्धी आधारभूत र उच्च पर्वतारोहण तालिम लिएको हुनुपर्ने उल्लेख छ ।

आठ हजार मिटरभन्दा माथिका हिमालमा मार्गनिर्देशन गर्ने पथ प्रर्दशकले नेपालभित्रको सात हजारभन्दा माथिको हिमाल आरोहण गरेको हुनुपर्ने छ । तर सगरमाथा आरोहीका पथ प्रदर्शकले नेपालभित्रको आठ हजार मिटरको हिमाल अनिवार्यरूपमा आरोहण गरेको हुनुपर्ने समितिले सुझाव दिएको छ ।

हेलिकोप्टर उडानमा प्रतिबन्ध
सरकारले सगरमाथामा बेस क्याम्पभन्दा माथि हेलिकोप्टर उडानमा रोक लगाएको छ । सोलुखुम्बुको लुक्ला विमानस्थलबाट पर्यटकहरू सिधै सगरमाथालगायतका हिमालको वरिपरि जाने गरेका थिए । सो कार्यलाई अब प्रतिबन्ध लागाउने भएको छ । ‘आपतकालीन उद्दारभन्दा बाहेक कुनै पनि हेलिकप्टरले बेस क्याम्प भन्दामाथि उडान गर्न नपाउने व्यवस्था गर्ने’, प्रतिवेदनमा भनिएको छ ।

कुनै पनि हिमालको आधार शिविरमा एउटाभन्दा बढी हेलिप्याड समेत निर्माण नगरिने भएको छ । आधार शिविरमा हेलिप्याड बनाउँदा ‘टेक अफ’ र ‘ल्यान्ड’ गर्दा ‘क्याम्प साइट’लाई असर नपर्ने गरी ‘मेडिकल स्टेसन’ जस्तै ‘एचआरए इबिसी क्लिनिक’को नजिक हुने गरी निर्माण गर्ने प्रबन्ध गर्ने प्रतिवेदनमा उल्लेख छ ।

जामले मृत्यु भएको होइन
निरन्तर मौसम प्रतिकूल रहेको र आरोहीको योजना तत्काल परिवर्तन गर्नु परेका कारण मे महिनाको २२ र २३ गते सबैभन्दा बढी आरोहण भएको र एकै समयमा धेरै आरोही चुचुरोतर्फ लाग्दा लामो लाइन देखिएको समितिको निष्कर्ष छ । समितिका अनुसार करिब दुई घन्टा त्यस्तो लाइन बनेको थियो । तर, सोही लाइनका कारण भने आरोहीको मृत्यु नभएको समितिका संयोजक तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव उपाध्यायले जानकारी दिए ।

‘सगरमाथाको उच्च उचाइमा अधिक ट्राफिक जाम भनेर विभिन्न सञ्चार माध्यममा भनिए पनि तथ्यांकको अध्ययन गर्दा हालसम्मकै उच्च संख्यामा आरोहण भएको मे २२ मा मृत्यु प्रतिशत उक्त दिनको सफल आरोहणमा शून्य दशमलव ४४ प्रतिशत मात्र रहने देखिन्छ’ समितिले भनेको छ ‘यसर्थ सञ्चार माध्यममा भनिए जसरी सगरमाथाका लागि आरोहणको अनुमति अधिक भएको, उक्त अधिक अनुमतिपत्रका कारण ट्राफिक जाम भएको र सोही कारणले आरोहीको मृत्यु भएको विषय तथ्यले पुष्टि गर्न सक्ने देखिन्न ।’

सुझाव लागू हुन्छन् – मन्त्री भट्टराई
मन्त्री भट्टराईले सगरमाथासहित सबै हिमाल सुरक्षित रहेको भन्दै ढुक्क भएर आरोहणमा आउन आग्रह गरेका छन् । समितिले दिएका सुझाव कडाइका साथ लागू गर्ने उनले प्रतिवद्धता जनाए । सरकारले यसवर्ष बिना सूचना आधार शिविर नपुगेका सम्पर्क अधिकृतलाई आगामी दिनमा सम्पर्क अधिकृत बन्न अयोग्य हुने गरी कारबाही गर्ने भएको छ । मन्त्री जिम्मेवारीमा खटिएर काम नगर्ने कर्मचारीलाई अयोग्य घोषणा गर्ने बताए । तर, उचित कारणसहित जान नसकेका कर्मचारीमा यो लागू हुने छैन ।

प्रतिक्रिया