चन्द्रमामा मानव बस्ती !

एउटा वाहन विशाल खाल्डोको एक छेउमा गुडिरहेको थियो, अन्तरिक्षयात्रीहरू सो वाहनमा जडिएको ऐना टल्केको हेरिरहेका थिए, त्यो ऐनाले सूर्यको किरणलाई खाल्डोतिर प्रतिविम्बित गरेर त्यहाँ रहेको पानी र हिउँको अवशेष खन्ने काम कम ऊर्जा दिँदै थियो । त्यसको देब्रेतिर एउटा ट्रक अवतरण स्थल नजिकैबाट जाँदै थियो । त्यो अवतरण स्थलबाट चन्द्रमाको माटोलाई माइक्रोवेभ प्रविधिलेसम्म ल्याई पृथ्वीतिर प्रक्षेपणका लागि तयार वाहन थियो ।

चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको मूल कार्यस्थलका गोलाकार प्रवेशस्थानमा वाहन रोकिएको थियो अन्तरिक्ष यात्रुहरू वायुरहित बाटो हुँदै आवासस्थलमा प्रवेश गर्दै धुलो भरिएको अन्तरिक्ष पोसाक खोल्दै थिए । भित्र साग र आलु उम्रिरहेको हरितगृह एलइडी प्रकाशमा चम्किरहेको थियो । अन्तरिक्ष यात्रुहरू एक तल्लामाथि उक्लन्छन् जहाँ उनीहरूलाई नेतृत्व गर्ने यात्रु उनीहरूबाट दिनभरको प्रगति विवरण सुन्न आतुर थिए ।

उहिलेका लागि यो अवस्था कपोकल्पित लाग्छ । तर, यो मानिसहरू चन्द्रमामा जिउने र काम गर्ने एउटा तरिका सम्भावित तरिका हो । यदि, चन्द्रमामा लामो समय बस्न र काम गर्न मिल्ने स्थान निर्माण गर्ने हो भने हामीलाई जे चाहिएको छ त्यो चन्द्रमामा उपलब्ध स्रोतबाटै परिपूर्ति गर्नुपर्छ ।

युकेको मिल्टन किन्सस्थित ओपन युनिभर्सिटीको प्रयोगशालामा विद्यावारिधि विद्यार्थी हाना सार्जेन्ट चन्द्रमामा धेरै पाइने खनिज इल्मेनाइट प्रयोग गरेर त्यस्तो कसरी गर्न सकिन्छ भनेर अध्ययन गरिरहेकी छन् । एउटा सानो भट्टीभित्र इल्मेनाइटबाट अक्सिजन निकाल्न त्यसलाई तताइँदैछ । निकालिएको अक्सिजनलाई हाइड्रोजनसँग मिलाएर पानी बनाइन्छ ।

‘चन्द्रमामा रहेको चट्टानहरूबाट पानी निकाल्ने २० भन्दा बढी तरिका छन् । इल्मेनाइटमा काम गरिरहेको कारण चाहीँ चन्द्रमामा त्यो धेरै मात्रामा पाइनु र यसबाट पानी निकाल्ने प्रक्रियाका लागि आवश्यक कम ऊर्जा हो,’ उनी भन्छिन् । उनी सन् १९७२ यता पहिलोपटक चन्द्रमामा मानिस उत्रने सम्भावनाले उत्साहित छन् ।

‘मलाई लाग्छ मेरो पुस्ताको मानिसहरूले देख्नेछन्, मेरो जीवनकालामा नै चन्द्रमाको आकाशमा एउटा स्थायी आवासीय यान हुनेछ र त्यहाँबाट मानिसहरू चन्द्रमाको सतहमा आउजाउ गर्ने कुरामा म पूर्ण विश्वस्त छु ।’ यसपटक नासा नयाँ तरिका अपनाउन चाहन्छ । बुध ग्रहलगायत अन्य अन्तरिक्ष अन्वेषण गर्ने योजनामा चन्द्रमा एउटा अंश मात्रै हो र नासा चन्द्रमामा त्यसका लागि एउटा केन्द्र स्थापना गर्न चाहन्छ ।

‘हामी चन्द्रमामा अवतरण गरी पाइला र झण्डा छोडेर फेरि ५० वर्ष चुप लागेर बस्न चाहन्नौँ,’ नासाका प्रशासक जिम ब्राइडेस्टाइनले भने, ‘हामी यान, रोबोट, वाहन र मानवहरू त्यहाँ दिगोरूपमा बस्ने गरी जान चाहन्छौँ ।’

‘यो असहज हुनेछ,’ जर्ज वासिंगटन विश्वविद्यालयमा राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक जोन लग्स्डन भन्छन्, ‘तर, यदि हामी एकस्तरको असहजता ग्रहण गर्न चाहँदैनौँ भने यहीँ रहनु उत्तम हुन्छ । मूल कुरा असहजतालाई क्रियाकलापसँग सन्तुलनमा राख्नु हो ।’

नासाका यसअघिका परियोजनालाई ग्रिक ईश्वर अपोलोको नाम दिइएको थियो । अबको परियोजना अपोलोको जुम्ल्याहा बहिनी आर्टेमिसको नाममा हुनेछ र नासाको को अन्तरिक्षयात्री चन्द्रमामा पाइला टेक्ने पहिलो महिला भनेर अनुमान सुरु भएको छ ।

नासासँग ३८ जना सक्रिय अन्तरिक्षयात्रीमा १२ जना महिला छन् । उनीहरूमध्येका केट रुबिन्स पृथ्वीको घातक रोगहरूबारे अध्ययन गरेकी सूक्ष्म जीव वैज्ञानिक हुन् भने जिनेट इप्स सिआइएमा प्राविधिक काम गरेकी हुन् । चिकित्सक सेरेना ओनोन चान्सेलर र इलेक्ट्रिक इन्जिनियर क्रिस्टिना कोच पनि छन् ।

जिम ब्राइडेस्टाइनले हालै सिएनएनलाई भनेका छन्, ‘चन्द्रमामा टेक्ने यस्तो व्यक्ति हुनेछ जसको सीप प्रमाणित छ, जो उडिसकेको र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पुगिसकेको हुनेछ ।’

तीनपटक अन्तरिक्ष यानको यात्रा गरेकी स्टेफनी विल्सनसँग सबैभन्दा बढी उडानको अनुभव छ । ट्रेसी काल्डवेल र सुनिता विलियम्स दुई–दुईपटक उडेका छन् । ‘अहिले हामी अन्तरिक्षयात्रीसँग पहिलेभन्दा धेरै काम गर्न सक्ने क्षमता र प्रदर्शन हेर्छौं,’ नासा अन्तरिक्षयात्री तथा युकेको एक्सटर विश्वविद्यालय चिकित्सा विद्यालयका मानार्थ प्राध्यापक माइकल बारेट भन्छन् ।

‘आजका अन्तरिक्षयात्री बहुराष्ट्रिय यानमा उड्छन् र अन्तरिक्षमा हिँड्ने, रोबोट सञ्चालित हात चलाउन, धेरै प्रकारका प्रणालीसँग अभ्यस्त, अंग्रेजी र रुसी भाषा जान्ने र ६ महिनासँग एकै सानो स्थानमा रहन सक्ने गुण भएको हुनुपर्छ ।’

अन्तरिक्षमा मानव शरीरमा आउने परिवर्तनका बारेमा धेरै थाहा भइसकेको छ । ‘मलाई के लाग्छ भने हामी साँच्चै नै अर्को ग्रहको जीवजस्तो हुन्छौँ,’ चिकित्सकसमेत रहेका बारेट भन्छन् । ‘तपाईंको शरीर परिवर्तन हुन्छ, त्यसले कसरी काम गर्छ त्यो परिवर्तन हुन्छ । यो वास्तवमा उल्लेखनीय परिवर्तन हो ।’

अन्तरिक्षयात्रीहरूले चन्द्रमाको सतहमा काम गर्दा चुनौतीको सामना गर्नुपर्छ । ‘पृथ्वीको भन्दा छ भागको एक भाग जति मात्रै गुरुत्वाकर्षण हुने भए पनि उनीहरूले गह्रौँ पोसाक लगाउने, अन्वेषणका लागि खन्ने, उक्लने र झिक्ने यन्त्रहरू बोक्नुपर्छ जसले खतरा बढाउँछ ।’ अन्तरिक्षयात्री लड्दा हड्डी भाँच्चिने वा पोसाकमा प्वाल पार्ने खतरा हुन्छ ।

चन्द्रमाको धुलोको पनि समस्या छ । अपोलोका यात्रीहरूको पोसाकभित्र धुलो छिर्दा खोकी र श्वासप्रश्वासमा समस्या देखिएको थियो । त्यसलाई नियन्त्रण गर्ने समाधान पत्ता लगाउनु आवश्यक छ । विकिरण सबैभन्दा ठूलो चुनौती हो । पृथ्वीको सुरक्षात्मक चुम्बकीय घेराबाहिर अन्तरिक्षयात्रीहरू पृथ्वीको तल्लो आकाशमा भन्दा तीन गुणा बढी विकिरणसँग जुध्नुपर्छ । यसले उनीहरूमा क्यान्सर र मुटुरोगको खतरा बढ्छ ।

अमेरिकाको चन्द्रमामा फर्कने योजनाको महत्वपूर्ण कोसेढुंगा ओराइअन यात्रुयान हो । यसको बनोट हालैका अन्तरिक्ष यानहरूको जस्तो नभई अपोलोसँग मेल खाने खालको छ । धेरैका लागि यसले सबै कुरा सम्भव भएको अन्तरिक्ष अन्वेक्षणको स्वर्णयुगको प्रतिनिधित्व गर्छ । तर, १० टनको यो यानले प्रयोग गरिरहेको प्रविधि सन् १९६० तिर अकल्पनीय थियो र यसलाई निर्माण गर्दाको प्रक्रिया सिर्जनशील छ । नासाका लागि ओराइअन बनाइरहेको लकहेड मार्टिनमा इन्जिनियरहरूले अगमेन्टेड रियालिटी चश्मा लगाउँछन् ।

‘हामीसँग ओरायनमा काम गरिरहेको एकजना छन्, उनले अवकाश लिने समय हुन लाग्यो । तर, उनी यसलाई पूर्णरूपमा हेर्ने चाहनाले अवकाशलाई ढिलो गर्ने इच्छा गर्दैछन् । अपोलोको तुलनामा ओरायनको प्रतिक्युबिक फुट क्षमता निकै बढी छ, लकहिड मार्टिनका इन्जिनियरिङका वरिष्ठ प्रबन्धक रब च्याम्बर्स भन्छन् । ‘त्यसैले त यो डिजाइन र निर्माण गर्नु कठिन छ ।’

औरायन राष्ट्रपति जर्ज डब्लु बुसको चन्द्रमामा फर्कने सन् २००४ को योजनाको अंश थियो । बाराक ओबामाले सन् २०१० मा सो योजना रद्द गर्दा बाँचेको एक मात्र अंश पनि हो । ओरायनको चार कम्प्युटरहरूले मानिसको सहयोगविना नै यसले गर्ने लगभग सबै काम गराउन सक्छन् ।

ती कम्प्युटरहरू बोइङको ७८७ जेटका लागि बनाइएका जस्तै हुन् तर तिनलाई अन्तरिक्ष यात्राका लागि थप बलियो बनाइएका छन् । ‘अन्तरिक्षका हुन सक्ने खतराका कारण नै चारवटा कम्प्युटर राखिएका हुन्,’ च्याम्बर्स भन्छन् । ती कम्प्युटर नयाँ होइनन् । अन्तरिक्षयात्राका लागि नयाँ र सिर्जनात्मकभन्दा पनि परीक्षणका खरो उत्रिसकेका सामग्रीहरू प्रयोग गर्नुपर्छ ।

कुनै अवस्थामा ओराइअनको वायु कम भयो भने अन्तरिक्षयात्रीलाई वायुरहित वातावरणका बाँच्न विशेष पोसाक र हावा नचलाई चिसो बनाउने व्यवस्था गरिएको छ ।

ओरायन जब पृथ्वीमा फर्कने छ त्यतिवेला अन्तरिक्षयात्रीलाई पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा उत्पन्न हुने २,७६० डिग्री सेल्सियसको तापक्रमबाट बचाउन विशेष तापनाशक सामग्री प्रयोग गरिएको छ ।

जब ओराइअन पृथ्वीको सतहतिर आउने छ तब ११ फरक प्रकारको प्यारासुटले यसको गतिलाई कम गराउनेछ किनभने, प्रशान्त महासागरमा सफलतापूर्वक उत्रन यसको गति २७ किमि प्रतिघण्टा हुनुपर्छ ।

ओराइअन चन्द्रमामा पुग्ने योजनाको ठूलो अंश हो । अर्को ठूलो अंशचाहीँ यसलाई अन्तरिक्षमा पु¥याउने रकेट हो । त्यो रकेटलाई प्रक्षेपण गर्ने प्रणाली ३० तल्लाभन्दा अग्लो हुनेछ र १३० टनसम्मको भारलाई अन्तरिक्षमा पु¥याउन सक्छ । ‘त्यो साँच्चै नै विशाल रकेट हो,’ बोइङको रकेट प्रक्षेपण प्रणालीका कार्यक्रम प्रबन्धक जोन स्यानन भन्छन् ।

यो रकेट विकास गर्न १२ अर्ब ६० करोड अमेरिकी डलर अनुमान गरिएको छ तर जुनमा जारी एक सरकारी प्रतिवेदनले त्यसमा अझै एक अर्ब ८० करोड डलर थप खर्च हुन सक्ने बताएको छ । यो रकेटको पहिलो प्रक्षेपण सन् २०२० भन्दा अगाडि हुनेछैन । तर, केही भने त्यत्रो खर्च गरेर रकेट बनाउनुभन्दा अर्बपति इयोन मस्क र जेफ बेजोसले विकास गरिरहेको जस्तो व्यावसायिक रकेट प्रयोग गर्नु ठीक हुने मान्छन् ।

कोलोराडोमा अवस्थित पायोनियर एस्ट्रोनोटिक्सका रोबर्ट जुब्रिनले मुन डाइरेक्ट योजना अगाडि सारेका छन् जसमा चन्द्रमामा अन्तरिक्षयान पु¥याउन सस्तो पर्ने व्यावसायिक रकेट प्रयोग गर्न सकिने बताइएको छ ।

त्यो केन्द्र भनेको बीचको गेटवे हो जहाँबाट चन्द्रमाको सतहमा आउजाउ गर्न सकिन्छ र मंगलसम्म पनि प्रयास गर्न सकिन्छ,’ बोइङका अन्तरिक्ष अन्वेषण विभागका पिट म्याग्राथ भन्छन् ।

जोन स्यानोनलाई त्यो गेटवेको योजनाकार भन्न सकिन्छ । सन् २०११ तिर नासामा काम गर्दा उनलाई मानव अन्वेषणको आगामी कदमा बारेमा सोच्ने काम दिइएको थियो । ‘मैले नासाले गएको २० वर्षमा गरेको सबै प्रक्षेषणहरूको डिजाइन हेरे । त्यो प्रिन्ट गर्दा चार फिट अग्लो भएको थियो,’ उनी भन्छन् ।

स्यानोनले गर्न सकिने सोचहरूलाई जोड दिए । ‘चन्द्रमाको वरिपरि घुम्ने केही यात्रु बस्न मिल्ने केन्द्र बनाउनु ठीक हुन्छजस्तो लाग्यो,’ उनी भन्छन् । ‘गेटवेले यात्रीहरूलाई चन्द्रमाको सतहमा ओर्लनुभन्दा पहिले तयारी गर्ने ठाँउ दिन्छ । यसले सतहमा रहेका विभिन्न वाहनहरू नियन्त्रण गर्ने मौका पनि दिन्छ ।’ यो केही खराबी देखिएको खण्डमा सुरक्षित स्थान पनि हुन्छ ।

अपोलोले आवश्यक सबै सामग्रीहरू बोकेर गएको थियो । नासाले सो सामग्रीलाई चन्द्रमाको आकाशमा राखेको थियो जसले गर्दा चन्द्रमामा जाने वेलामा केही प्रतिकुल परिस्थिति भएको अवस्थामा अन्तरिक्षयात्रीहरूलाई भूमध्यरेखाको वरिपरिको केही सीमित ठाउँमा मात्रै अवतरण गर्न मिल्थ्यो ।

गेटवेचाहिँ अर्कै स्थानमा हुनेछ जसले नासालाई त्यहाँबाट जहाँ पनि अवतरण गर्न मिल्ने व्यवस्था हुनेछ । त्यो गेटवे सन् ०२४ सम्म पूर्ण हुने छैन । तर, ओरायन त्यसको आधारभूत अंशसँग जोडिन सक्नेछ जहाँ उर्जा खण्ड र सानो यात्रु आवासीय खण्ड हुनेछ । जोन स्यानोनका अनुसार अन्ततः गेटवे मंगल ग्रहमा जान आवश्यक सबै सामग्री जम्मा गर्न सकिने स्थान हुन सक्नेछ ।

सन् १९६९ जुलाई २० मा निल आर्मस्ट्रङ र एड्बिन बज एल्ड्रिल चन्द्रमाको सतहतर्फ बढिरहेका थिए । अज्ञात कारणले उनीहरूलाई बोकेको यान जहाँ अवतरण गर्नुपर्ने हो त्यहाँभन्दा चार माइल पर गइरहेको थियो । अन्तिम २,००० फिट बाँकी रहँदा आर्मस्ट्रङले बाहिर चिहाए । उनको यान गाडीजत्रा ढुंगाहरू भएको खाल्डोमा अवतरण गर्न गइरहेको थियो । त्यहाँ अवतरण गर्दा ठूलो दुर्घटना हुने थियो । त्यो शताब्दीलाई चिनाउने घटना थियो ।

यान सतहभन्दा ५०० फिटमाथि रहँदा आर्मस्ट्रङले नियन्त्रण गरेर त्यसलाई हेलिकप्टरजस्तो उडाए । उनले खाल्डो र ढुंगामाथि उडाउँदै यानलाई सुरक्षितरूपमा सम्म स्थानमा अवतरण गराएका थिए । अबका अवतरण सुरक्षित र जहाँ भनेको त्यहीँ गर्न सक्ने हुनु आवश्यक छ । ‘त्यसका लागि अझै क्षमतावान स्वचालिन अवतरण प्रणाली चाहिन्छ,’ बोस्टनका ड्¥यापर प्रयोगशालामा केन ग्राबियल भन्छन् ।

‘अन्तरिक्षयात्रीले आफू कहाँ छन् भन्ने थाहा पाउने मात्रै होइन, सेन्टिमिटर फरक नपर्ने गरी स्थान अवस्थिति जान्नुका साथै त्यहाँ भएका अवरोधहरूलाई कसरी पन्छाउन सकिन्छ भनेर थाहा पाउनुपर्छ । आर्मस्ट्रङले आफ्नो आँखा, हात र दिमागले जे गरे, त्यो स्वचालितरूपमा हुने क्षमता आवश्यक हुन्छ ।’

चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नु गजबको दृष्य हुनेछ । जब अन्तरिक्षयात्रीहरू बाहिर निस्कन्छन् तब उनीहरूले जेड–२ जस्तो पोसाक लगाएको हुन सक्छन् जसले उनीहरूलाई सहजता दिनेछ । उनीहरू उकालो उक्लन, ओरालो झर्न र केही टिप्न झुक्न सक्ने हुनेछन् ।

चन्द्रमाबाट फर्कनु चुनौतीपूर्ण हुनेछ । ‘जब पृथ्वीबाट उडिन्छ उड्ने स्थान थाहा हुन्छ,’ डा. सिमस टोही भन्छन् । चन्द्रमामा कहाँ अवतरण ग¥यो, यान कस्तो अवस्थामा छ भन्ने कुराले फरक पार्छ ।

चन्द्रमामा अवतरण गर्ने र त्यहाँबाट फर्कने यान अहिलेसम्म बनेको छैन । सन् २०२४ को योजनाको सबैभन्दा चुनौती हो । त्यो बनेकै छैन र सन् २०२४ अगाडि कसरी परीक्षण गरिन्छ भन्ने स्पष्ट छैन । रोबर्ड जुब्रिन भने त्यसका लागि साढे पाँच वर्षको समयावधि भएकाले यथेष्ट मान्छन् ।

चन्द्रमासम्मको यात्रा मात्रै होइन, केहीले चन्द्रमा अर्थतन्त्रको लागि तयारीसमेत गरिरहेका छन् । एस्ट्रोबोटिक नामक कम्पनीले चन्द्रमासम्मका लागि ‘रेलमार्ग’ बनाउन थालेको बताएको छ । यो चन्द्रमाको सतहमा सामान ओसारपसार गर्न चाहने कम्पनीहरूमध्ये एक हो ।

सानो सामग्रीको लागि चार सय ५० डलरदेखि ठूलो समानहरूका लागि प्रतिकिलो १२ लाख डलरसम्ममा एस्ट्रोबोटिकले चन्द्रमाको सतहसम्म सामान पु¥याउने बताएको छ । उसले चारखुट्टे रोबोट यानमार्फत त्यस्ता सामानहरू चन्द्रमामा पु¥याउने बताएको छ । यस्तै विज्ञान सामग्री, सगरमाथाको ढुंगा र अन्य कुराहरू पु¥याउन लागेको बताएको छ

चन्द्रमा अर्थतन्त्रको अर्को स्रोत भनेको पर्यटन हुनसक्छ । सन् २०१८ मा इलोन मस्कको कम्पनी स्पेसएक्सले पहिलो निजी यात्रुवाहक यान सार्वजनिक गरेको थियो । सो यान सन् २०२३ ताका चन्द्रमाको वरिपरि घुमाउने योजना छ । त्यो मिति सर्न सक्छ, तर एकजना जापानी अर्बपतिले उनको ‘बिग फाल्कन’ रकेट नाम दिइएको सो यानमा उड्नका लागि पैसा तिरिसकेका छन् ।

भविष्यमा पर्यटकहरू चन्द्रमामा अवतरण गर्ने र गेटवेमा बस्न सक्छन् । सन् २०३० सम्म अन्तरिक्ष पर्यटन तीन अर्ब डलर बराबरको हुने अनुमान गरिएको छ । तर, चन्द्रमा अर्थतन्त्रको मूल जग भने रकेट इन्धनका लागि त्यहाँ पानी–हिउँ उत्खनन् हुन सक्नेछ । ती दक्षिणी र उत्तरी ध्रुवमा रहेका छन् ती ध्रुवमा रहेका ठूला खाल्डोहरूको भित्री भागले कहिल्यै सूर्यको किरण देख्दैनन् । पग्लन आवश्यक ताप कहिल्यै नपाएर अर्बौं टन पानी–हिउँ त्यहीँ खाल्डोहरूमा छन् ।

चन्द्रमामै इन्धन हाल्ने व्यवस्था भयो भने चन्द्रमा यात्रा सस्तो हुने र त्यहाँको गेटवेको खर्च निकै कम हुनेछ । सन् २०१८ को एक प्रतिवेदनअनुसार चन्द्रमामा रकेटको उर्जा खण्ड बनाउन प्रतिकिलो पाँच सय डलर खर्च हुनेछ जुन पृथ्वीबाट त्यहाँ लग्नुभन्दा २० गुणा कम खर्च हो । तर, नर्थ क्यारोलिना स्टेट युनिभर्सिटिका डा. पल के बाइर्न चन्द्रमा अर्थतन्त्र विकास हुन समय लाग्ने बताउँछन् । ‘हामी कहाँ जान चाहन्छौँ देख्न सक्छौँ तर त्यो कुरा अलिकति मात्रै पनि सहज हुन दशकौं लाग्ने छ,’ उनी भन्छन् । ‘त्यतिवेलासम्म सरकारहरूले नै पैसा हाल्नुपर्छ ।’

अहिलेको योजना सन् २०२८मा चन्द्रमाको सतहमा लुनार सरफेस एसेट अथवा केन्द्र स्थापना भएपछि पूर्ण हुनेछ । सुरुको अवस्थामा कपडाका धेरै तहहरू भएका फुक्न मिल्ने खण्डहरू नै सबैभन्दा उत्तम हुनेछ । ती यानमा हुँदा सानो हुनेछ । युरोपेली अन्तरिक्ष एजेन्सी र युकेको फोस्टर पार्टनर्सले तयार पारेको डिजाइनमा दुईतल्ले फुक्ने खण्ड र हावा नछिर्ने गरी बनाइएको एउटा द्वार रहेको छ ।

विकिरण र अन्य खाले खतराबाट बचाउन रोबोटले थ्रिडी प्रिन्ट गरेका सामग्रीहरूबाट छाना छोप्न सकिनेछ । रेगोलिथ भनिने चन्द्रमाको माटो पनि निर्माणका लागि प्रयोग गर्न सकिन्छ । ‘यो सहज निर्माण प्रक्रिया हो र छिटै गर्न सकिन्छ,’ फिलिप मेट्जर भन्छन् ।

लामो समय चन्द्रमामा बस्नका लागि भने त्यस्ता बसोवासस्थलहरू भूमिगत बनाउनुपर्नेछ । चन्द्रमामा लाभा टनेल भनिने गुफाहरू छन् जसले विकिरणबाट बचाउँछ ।

युनिभर्सिटी अफ अरिजोनाले चन्द्रमामा तरकारी फलाउने प्रविधि विकास गरेको छ । पालुंगो, गोलभेँडा र सखरखण्डजस्ता तरकारीहरू एलइडीको उज्यालोमा उब्जाउन सकिन्छ । पानी भने त्यहाँ पुनर्प्रशोधित र प्रयोग हुन्छ । ती बिरुवाहरूले कार्बन डाइअक्साइड सोस्ने र अक्सिजन निकाल्ने गरेर त्यस्ता बसोवासको जीवनलाई सहज बनाउने छ ।

पानी निकाल्नुभन्दा अगाडि चाहीँ अन्वेषण गरेर त्यसको ठूलो खानी पत्ता लगाउनुपर्छ र रोबोट प्रयोग गरेर तान्नुपर्छ । मेट्जर भने चन्द्रमाको माटोलाई तताएर त्यहाँबाट निस्कने बाफ संकलन गरी पानी प्राप्न गर्न सकिने सम्भावना रहेको बताउँछन् ।

सूर्यको किरण नपुग्ने ठाँउमा उर्जाको स्रोत भने समस्या हुन सक्छ । त्यसका लागि ऐनाहरू प्रयोग गरेक किरणहरूलाई कहिल्यै नपुग्ने स्थानमा पु¥याउन सकिन्छ । खानीबाट निकालिएका पानी भने धेरैजसो रकेट इन्धनका रूपमा प्रयोग हुनेछ । त्यसका लागि पानीलाई विद्युतीय प्रवाह प्रयोग गरेर हाइड्रोजन र अक्सिजनमा छुट्टाउनुपर्छ ।

चन्द्रमा अवतरणको ५० वर्षसम्म मानवजातिले आफ्नो बुद्धि र साधनलाई सही प्रयोग गरेर के सम्म प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ । तत्कालीन सोभियत संघ र अमेरिकाको दुश्मनी चन्द्रमा यात्राको प्रमुख कारण रह्यो । एकपटक त्यो प्रतिस्पर्धामा विजय प्राप्त गरेपछि भने अपोलो योजनाका थप छ मिसन मात्रै भए ।

एक्काइसौँ शताब्दीको चन्द्रमा अन्वेषण कस्तो हुनेछ भन्ने समयले बताउँला । ‘चन्द्रमामा जाने प्रमुख एक कारण भनेको त्यहाँबाट अगाडि बढ्न सकिने सम्भावना हो,’ पल के बाइर्न भन्छन् ।

अमेरिकी प्रशासनले सन् २०२४ मा चन्द्रमामा जानुपर्ने एक कारणको रूपमा चीनको चन्द्रमाप्रतिको कार्यलाई देखाएको छ । कोही भने चन्द्रमाको साधनस्रोतको उपयोगजस्तो कठिन विषयमा अमेरिका, चीन र रुसजस्ता अन्तरिक्षमा पुगेका देशहरूले समन्वय गर्नुपर्ने बताउँछन् ।

‘मलाई लाग्छ त्यहाँ भू–राजनीतिक द्वन्द्वको खतरा छ,’ फिल मेट्जर भन्छन् । ‘यदि, कुनै एक राष्ट्रले चन्द्रमामा उद्योग स्थापना गर्न सक्यो भने त्योसँग व्यापक राजनीतिक, आर्थिक र सैनिक फाइदा हुनेछ ।’ तर, अन्तरिक्षमा भएका साधनस्रोतलाई वेवास्ता गर्दा त्यसले फाइदा नपुग्ने बताउँदै उनी भन्छन्, ‘त्यसको राम्रो उपाय सबै मानवजातिका लागि फाइदा हुने गरी सहकार्य गरेर अन्तर्राष्ट्रिय बनाउनु हो । (बिबिसीबाट)

प्रतिक्रिया