अधिकांश वडा भाडाका भवनमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाका ६ वटा वडा कार्यालयहरू अझैँ भाडाकै भवनमा चलिरहेका छन् । जसमार्फत वार्षिक १२ लाखभन्दा बढी रकम वडा कार्यालय भवनको भाडा तिर्दा खर्च हुने गरेको पाइएको हो ।

जम्मा १६ वटा वडा रहेको नगरपालिकाका वडा–२, ४, १०, १३, १४, १५ र १६ गरी सात वटा वडामा पुरानै संरचना हुँदा निर्माण भएका भवनमा वडा कार्यालय सञ्चालन भइरहेका छन् । वडा–१ को भवन ज्योति पुस्तकालयको नाममा रहेको जग्गामा छ । भने वडा–७ नगर विकास समितिको भवनमा रहेको अहिले आफ्नै भवन निर्माणाधिन रहेको छ । वडा–३ ले वार्षिक २ लाख ७६ हजार, वडा–६ ले वार्षिक तीन लाख रुपैयाँ भवनको भाडाबापत तिर्छ ।

वडा–८ मात्र आफ्नै भवनमा रहेको छ । बाँकी केही वडाहरूले पुरानो भवन पनि अपायक भएको भन्दै प्रयोग नगरी सामुदायिक अध्ययन केन्द्रलाई दिएर वडा कार्यालय भाडामा चलाएका छन् । त्यसमध्येको एक पर्छ वडा–१२ । वीरेन्द्रनगरका १६ वडामध्ये ६ वटा वडा कार्यालय भवनविहीन छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय तहलाई संघले कार्यालय भवन बनाउन अनुदान दिन सक्छ तर वडा कार्यालयले पाउँदैनन् । यहाँका वडाध्यक्षहरू प्रदेशले अनुदान दिनुपर्ने बताउँछन् । वीरेन्द्रनगर–३ का वडाअध्यक्ष भूपेन्द्र खत्रीले बजेट थोरै भएको र विकासमा खर्च गर्नुपर्दा भाडामा कार्यालय भवन राख्नुपरेको बताउँछन् ।

वडा–६ का वडाध्यक्ष मोतिप्रसाद कँडेलले प्रदेशको अनुदान कुरेको संकेत गरे । उनले भने, ‘बजेट कम हुन्छ हाम्रो वडास्थित उप्किएका सबै ठाउँको बाटो त टाल्न सकेका छैनौँ ।’ प्रदेशको राजधानीमा जग्गा पनि महँगो हुनु एउटा चुनौती भएको उनीहरूको भनाइ छ ।

वडा–३ को कार्यालय आगामी वर्षमा बनिसक्ने वडाध्यक्ष खत्रीले बताए । ‘भवनको लागि ७० लाख विनियोजन गरेका छौँ’, उनले भने, ‘एक वर्षभित्रै भवन बन्छ ।’ त्यस्तै वडा–७ र १० को पनि कार्यालय भवन निर्माणाधिन रहेको छ ।

यसरी वडा राजधानिस्थित नगरपालिकाका ६ वटा वडा कार्यालयले वार्षिक एक लाखदेखि तीन लाखसम्म भाडा तिर्छन् । अझैँ पनि वडा–५,ं ६, ११ र १२ ले भवन निर्माणका लागि बजेट छुट्याएका छैनन् । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले भने, ‘बजेट अभाव सँगसँगै जग्गा पनि महँगो भएकोले ढिला भएको हो । अबको पाँच वर्षभित्र सबै वडा कार्यालयहरू आफ्नै भवनमा सञ्चालन हुन्छ ।’

प्रतिक्रिया