राशिद खान अफगानिस्तानको कप्तान

एजेन्सी , काबुल । राशिद खान अफगानिस्तानको राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त भएका छन् । अफगानिस्तान क्रिकेट बोर्डले शुक्रबार लेग स्पिनर राशिदलाई कप्तानीमा नियुक्त गरेको छ । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको विश्वकपमा खराब प्रदर्शन गरेपछि अफगानिस्तानले गुलाबदीन नाइबलाई हटाएर राशिदलाई कप्तानको जिम्मेवारी दिएको हो । अब राशिदले सबै खाले फर्म्याटको कप्तानी गर्नेछन् ।

राशिदलाई कप्तान बनाएसँगै अफगानिस्तानले २ महिनामा २ नयाँ कप्तान नियुक्त गरेको छ । विश्वकप अघि अफगानिस्तानले गुलाबदीन नाइबलाई एकदिवसीय क्रिकेटको कप्तान बनाएको थियो । अफगानिस्तानले विश्वकपको मुखैमा सफल कप्तान अस्घर अफगानलाई हटाएको थियो । विश्वकपमा अफगानिस्तानले खराब प्रदर्शन गर्दै जितविहीन बनेर घर फर्किएको थियो । ९ खेलमा ९ हार व्यहोरेको अफगानिस्तान अंक तालिकाको पुछारमा रहँदै बाहिरिएको थियो ।

२० बर्षे राशिदले अब एकदिवसीय, टी(ट्वान्टी र टेष्ट क्रिकेटको कप्तानी गर्ने छन् । यसअघि अफगानिस्तानले ३ फर्म्याटका लागि ३ फरक खेलाडीलाई कप्तानीको जिम्मा दिएको थियो । एकदिवसीयमा गुलाबदीन नाइब, टी-ट्वान्टीमा राशिद खान र टेष्टका लागि रहमत शाहलाई कप्तान घोषणा गरेको थियो । अफगानिस्तानको उप कप्तानमा भने पूर्व कप्तान अफगान रहेका छन् ।

प्रतिक्रिया