पहिरोका कारण ४ परिवार विस्थापित

दार्चुला । जिल्लामा विकासले विनाश निम्त्याउन थाालेको छ । महाकाली नगरपालिका–९ दत्तुमा विकास निर्माणको योजनाका कारण खसेको पहिरोबाट चार घरपरिवार विस्थापित भएका छन् ।

महाकाली नगरपालिका–९ दत्तुमा निर्माण गरिएको दत्तु–थाप्ला सडक खण्डमा खसेको पहिराले गर्दा दत्तुका चार घरपरिवार विस्थापित भइसकेका छन् भने आधा दर्जन घरहरू विस्थापित हुने देखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दत्तु–थाप्ला सडक निर्माणका क्रममा निस्केको माटोको ढिस्कोले पहिरोको रूप लिँदा त्यस क्षेत्रमा चार घरपरिवार विस्थापित भएका छन् ।

पहिरोका कारण विस्थापित हुनेमा वडा–९ दत्तुका विशनसिंह गोयला, त्रिलोकसिंह चैसिर, धनसिंह भाँट र बिन्दु भाँटका गरी चार घरपरिवार विस्थापित भएको स्थानीय राजेन्द्र नगारीले बताए । बुधबार राती वर्षाका कारण हालै निर्माण गरिएको सडकबाट निस्केको माटोको ढिस्को पहिरोको रूपमा खसेपछि चार घरपरिवार विस्थापित भएका हुन् । उक्त ढिस्को बगाउँदा चार घरहरू विस्थापित हुनुका साथै स्थानीयहरूको मकैबालीसहित खेत बगाएको स्थानीय नगारीले बताए ।

साथै उक्त ढिस्कोबाट खसेको पहिरो तथा बाढीका कारण अझै आधा दर्जन घरहरू जोखिममा छन् । राजेन्द्र नगारी, प्रेमसिंह धामी, राजेन्द्र नगारीको घर जोखिममा रहेकाले विस्थापित हुनुपर्ने अवस्थामा रहेको स्थानीय नागरिक राजेन्द्र नगारीले बताए । ‘हाम्रो घरहरू पनि जोखिममा परेका छन्, पशु चौपायाहरू सार्ने तयारीमा छौँ’, स्थानीय नगरीले भने । उनका अनुसार पहिरो सडकसम्म पुगेकाले सडक तलको बस्तीमा रहेका भुवन भाँट, गोरख सिंह भाँटको घरहरू पनि जोखिममा रहेका छन् । पहिरो सडकसम्म पुगेकाले सडकमुनिको बस्तीमा पनि पहिरोको जोखिम बढेको हो ।

दार्चुला जिल्लाका विभिन्न स्थानमा वातावरणीय प्रभाव मूल्यांकनविना नै सडक निर्माण गर्दा विभिन्न स्थानमा पहिरोको जोखिम हुनुका साथै बस्तीहरू विस्थापित हुनुपर्ने अवस्था आएको छ । जथाभावी सडक निर्माण गरिँदा जिल्लाका विभिन्न स्थानीय तहमा विकासले विनाश निम्त्याएको पाइएको छ । वातावरणीय प्रभाव मूल्यांकन नै नगरी स्थानीय सरकारहरूले डोजर खरिद गरी जाथाभावी सडक निर्माण गर्दा यस्तो समस्या आएको हो । स्थानीय सरकार मात्र नभई प्रदेश सरकार तथा संघीय सरकारबाट विनियोजित बजेटबाट ठेक्कामार्फत् निर्माण गर्न लागिएका विभिन्न सडकहरूले पनि विनाश निम्त्याएका छन् ।

यस्तै मालिकार्जुन गाउँपालिकाको भगवती–थाप्ला–दत्तु सडक निर्माणका कारण स्थानीयहरूको खेतबारीमा क्षति पु¥याएको थियो । गत जेठ महिनाको अन्तिमतिर वर्षाका कारण सडकमा पानी बग्न नपाउँदा किसानहरूको खेतबारीमा बाढीको रूप लिई पसेकाले खेतबारीमा क्षति पु¥याएको थियो । दार्चुलामा जथाभावी डोजर चलाइँदा विभिन्न स्थानमा पहिरोको जोखिम बढ्नुका साथै बस्तीहरू नै जोखिममा परेको स्थानीय महेश धामीले बताए । मुख्यगरी हालै निर्माण गरिएको सडकको तलका बस्तीहरू बढी जोखिममा परेका छन् ।

दार्चुला जिल्लाका स्थानीय तहहरूमा एक वर्षमै दर्जनाँै सडक निर्माण कार्य भइरहेका छन् तर वातावरणीय प्रभाव मूल्यांकन भने गरेको पाइँदैन । यसरी वातावरणीय प्रभावलाई बेवास्ता गरी निर्माण गरिने विकासले वनजंगल विनाश भई पहिरोको खतरा बढाएको स्थानीयको गुनासो छ ।

यस्तै महाकाली नगरपालिका–९ दत्तुमा भने वातावरणीय प्रभाव मूल्यांकनविना नै सडक निर्माणको परिणाम देखिन थालेको छ । महाकाली नगरपालिका–९ मा केही घरहरू विस्थापित र केही घरहरू जोखिममा रहेको जानकारी पाएपछि बिहीबार बिहानै प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्ट, महाकाली नगरप्रमुख हंसराज भट्ट, सशस्त्र डिएसपी भीमबहादुर चन्द, प्रहरी प्रमुख डिएसपी दीपेन्द्र शाही लगायतको टोली घटनास्थलमा पुगेको छ ।

पहिरोको जोखिम क्षेत्रमा ग्याबिन जाली लगाई पहिरो व्यवस्थापन गर्ने प्रयास भइरहेको वडा–९ दत्तुका वडाध्यक्ष हरसिंह डाँगाले बताए । वडाध्यक्ष डाँगाका अनुसार पहिरोको जोखिम रहेको क्षेत्रमा के गर्ने भन्ने लगायतका बारेमा विपद् व्यवस्थापन समितिको बैठक बसी व्यवस्थापनबारे छलफल भएको छ ।

प्रतिक्रिया