नेपाली क्रिकेट टोली फाइनलमा

काठमाडौं । नेपाल एसिसी इस्टर्न रिजन यु–१९ क्रिकेटमा फाइनल प्रवेश गरेको छ । मेलेसियाको किनरारा ओभल मैदानमा घरेलु टोली मलेसियालाई ७ विकेटले स्तब्ध बनाउँदै नेपाल फाइनलमा पुगेको हो । ८८ रनको झिनो लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । नेपालको जितमा भीम सार्की र रोहितकुमार पौडेलले नटआउट ६० रनको साझेदारी गरे । सार्की ३३ रनमा नट आउट रहँदा रोहित ३१ रनमा नट आउट रहे । पवन शर्राफ १८ रनमा आउट हुँदा रित गौतम ३ रनमा पवेलियन फर्किए । खडक बोहराले भने खाता खोलल्न सकेनन् ।

मलेसियका हकिल मोहमदले २ विकेट लिए । त्यसअघि, किनरारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले ४०.५ ओभरमा सबै विकेट गुमाएर ८७ रनको योगफल खडा गरेको थियो । नेपालको सानदार बलिङ आक्रमण समूह मलेसियाका ब्याट्सम्यानहरूले सुस्त प्रदर्शन गर्न बाध्य भए । उनीहरूले लामो साझेदारी गर्न सकेनन् भने कुनै पनि ब्याट्सम्यान लामो समयसम्म क्रिजमा टिक्नै सकेनन् । मलेसियाका ३ खेलाडीले मात्र दोहोरो अंकको रन छुन सके ।

तेस्रो नम्बरमा मुहम्मद अमिरले बनाएको २४ रनै मलेसियाको पारीमा सर्वा्धिक व्यक्तिगत स्कोर हो । वान अमिरूल ११, हइकल मोहद खइर १२ र अहमद अलिफले १० रन जोडेर आउट भए ।नेपाल प्रतियोगिताको साविक विजेता हो । बलिङतर्फ नेपालका लागि सागर ढकालले ३ विकेट लिए । उनले १० ओभरमा ३ मेडन राख्दै १६ रन खर्चिए । ९ ओभरमा ५ मेडनसहित १३ रन खर्चेका कुशल मल्लले २ विकेट लिए । रसिद खान र तिलकराज भण्डारीले पनि एक एक विकेट लिए ।

प्रतिक्रिया