अस्ट्रेलिया र इंग्ल्यान्ड तथा भारत र न्युजिल्यान्ड भिड्ने

एजेन्सी, लन्डन । जारी विश्वकप क्रिकेटअन्तर्गत समूह चरणका सबै खेल सकिएका छन् । समूह चरणको खेल सकिएसँगै आइतबार र सोमबार आराम दिइएको छ । सबैले समूह चरणमा ९ वटा प्रतिस्पर्धा गर्दा भारत शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाउँदा अस्ट्रेलिया दोस्रो, घरेलु टोली इंग्ल्यान्ड तेस्रो र भाग्यमानी बन्दै न्युजिल्यान्ड चौथो भएर सेमिफाइनलमा पुगे ।

न्युजिल्यान्डलाई भाग्यमानी यस कारण भनिएको हो की पाकिस्तान र न्यूजिल्याण्डको समान ११–११ अंक भएपनि रनरेटमा अघि रहँदै सेमिफाइनलमा न्युजिल्यान्ड पुगेको हो । प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले सेमिफाइनलमा पुग्ने चौथो टिमसँग प्रतिस्पर्धा गर्ने नियमका कारण भारतले प्रतिद्वन्द्वी न्युजिल्यान्ड पाएको हो । दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र इंग्ल्याण्ड आमने सामने हुने छन् ।

शनिबार रातिको खेलमा भारतले श्रीलंकालाई पराजित गर्दा दक्षिण अफ्रिकासँग अस्ट्रेलिया पराजित भएपछि भारत शीर्ष स्थानमा उक्लिएको थियो । भारतले समूह चरणमा १ मा मात्रै पराजयको स्वाद चाख्दा अस्ट्रेलियाले २ खेलमा पराजय ब्यहोरोको छ । भारतले सुरुदेखि नै सेमिफाइनलमा अस्ट्रेलिया र घरेलु टोली इंग्ल्याण्डको सामना गर्न नपरे हुन्थ्यो जसरी प्रस्तुत भएको थियो ।

भारतले भनेजस्तै समीकरण भएको छ । भारत र न्युजिल्यान्ड समूह चरणमा प्रतिस्पर्धा गर्नु पर्नेमा यो खेल वर्षाले प्रभावित भएपछि रद्द भएको थियो । जसले गर्दा भारत र न्यूजिल्याण्ड यो विश्वकपमा पहिलो पटक खेल्दैछन् । यस्तै विश्वकपको इतिहासमा भारत र न्युजिल्याण्डले सेमिफाइनलमा खेल्न लागेको पनि पहिलो पटक हो । ११ तारिखमा हुने सेमिफाइनलमा भिड्ने टिम अस्ट्रेलिया र इंग्ल्यान्डले ४४ वर्षपछि विश्वकपको सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन् ।

१९७५ को विश्वकपको सेमिफाइनलमा यी दुई टिम भिड्दा अस्ट्रेलिया ४ विकेटले विजयी भएको थियो । अस्ट्रेलियाको यो आठौं सेमिफाइनल हो । उसले यसअघि भएका सात वटै सेमिफाइनल जितेर फाइनलमा स्थान सुरक्षित गर्न सफल भएको थियो । यस्तै इंग्ल्याण्ड भने छ पटक सेमिफाइनल पुग्दै छ । उसले खेलेका पछिल्ला ५ सेमिफाइनलमा ३ मा जित र २ मा हार ब्यहोरको छ ।

इंग्ल्याण्ड १९९२ को विश्वकप पछि पहिलो पटक अन्तिम चारमा पुगेको हो । क्रिकेटको उत्पत्ति इंग्ल्यान्डबाटै भएपनि उसले अहिलेसम्म विश्वकपको ट्रफी उचाल्न पाएको छैन् । ३ पटक फाइनल खेल्दा पनि सँधै उप विजेतामा सीमित भएको छ । विश्वकपको उपाधि २ पटका उचालि सकेको भारतको यो सातौं सेमिफाइनल यात्रा हो ।

अहिलेसम्म खेलेका ६ सेमिफाइनलमा उसले तीनमा जित निकाल्दै फाइनल पुग्दा ३ मा पराजित हुँदै घर फर्किएको थियो । १९८३ र २०११ को च्याम्पियन भारतले २००३ को फाइनलमा पराजित भएको थियो । न्युजिल्यान्डले ८ पटक सेमिफाइनलमा स्थान बनाएको छ । तर उसले सेमिफाइनलबाट फाइनल भने एक पटक मात्रै यात्रा तय गर्न सफल भयो । २०१५ को विश्वकपमा फाइनल पुगे पनि अस्ट्रेलियासँग पराजित हुँदै उप विजेतामै सीमित भएको थियो ।

प्रतिक्रिया