प्रचण्डको अध्यक्ष बन्ने दाउ !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनबाट नेतृत्व सहमति र समझदारीबाटै आउने घोषणा गरेका छन् । शीर्ष नेतृत्वले यस विषयमा हस्ताक्षर नै गरेको दाबी गर्दै उनले आउँदो महाधिवेशनमा निर्वाचन नहुने उल्लेख गरे ।

हामीले जेठ ३ गते मदन–आश्रित स्मृति दिवसको दिन पार्टी एकताको घोषणा गरेका थियौँ । त्यो घोषणा गर्दा बडो सोचविचार गरेर त्यहाँ एउटा सहमति गरिएको छ र त्यसमा सबै शीर्ष नेतृत्वको हस्ताक्षर छ’, अध्यक्ष प्रचण्डले भने, ‘आउने महाधिवेशन पार्टीको एकताको महाधिवेशन हुनेछ । आउने अधिवेशनमा विचार, राजनीति र नेतृत्वसम्बन्धी निर्णय सहमति र समझदारीबाट गर्नेछौँ, अल्पमत र बहुमतबाट गर्ने छैनौँ भन्ने सहमति भएको छ ।

एकता महाधिवेशन पछि मात्रै जरुरी पर्दा प्रतिस्पर्धा बहुमत र अल्पमतबाट संगठनात्मक नेतृत्व चयन हुनेछ ।’ भक्तपुरमा आयोजित एक कार्यक्रममा यसो बताईरहँदा प्रचण्डले आफूलाई नेकपाको नेतृत्व दिने सहमति भएको जसरी अथ्र्याएका छन् । यद्यपी उनले आफ्नो चाहनाका बारेमा भने खुल्लारूपमा केही बताएका छैनन् । गोप्य बैठकहरूमा भने उनले आफूलाई अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक दिनुपर्ने बताउँदै आएका छन् । उनको मुख्य दाउ भने आउँदो महाधिवेशनबाट पार्टीको अध्यक्ष बन्ने रहेको छ । २०५७ सालमा तत्कालीन नेकपा माओवादीका अध्यक्ष भएका प्रचण्ड त्यसपछि कहिले पनि दोस्रो पदमा बस्नु परेको छैन ।

तत्कालीन नेकपा (मसाल)को पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्यबाट राजनीति सुरु गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०४६ सालमा महामन्त्री भए । २०४८ सालमा नेकपा (एकताकेन्द्र)को महामन्त्री भएपछि २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछिको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि पनि महामन्त्री नै भए । २०५२ सालदेखि सुरु भएको सशस्त्र आन्दोलनको नेतृत्व गरेका प्रचण्ड २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीका अध्यक्ष भए । त्यसपछि अहिलेसम्मको १९ वर्षमा प्रचण्ड अध्यक्षबाट कहिल्यै अर्को पदमा जानु परेको छैन ।

२०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भए । २०६९ सालमा वृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष बने । २०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित भए । २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित हुँदा उनी त्तकालीन उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिका समेत निर्वाह गरिसकेका छन् । पहिलो संविधान सभाको निर्वाचनमा ठूलो दल बनेको माओवादी दोस्रो संविधान सभा निर्वाचनमा तेस्रो पार्टी बन्यो ।

त्यस क्रममा पार्टी विभाजन हुने क्रम पनि रोकिएन । मोहन वैद्य, बाबुराम भट्टराई लगायतका नेताहरू प्रचण्डलाई छाडेर गए । जसले गर्दा उनको पार्टी कमजोर बन्दै गयो । पार्टीको अस्तित्व नै खतरामा परेपछि प्रचण्ड अन्य दलसँग चुनावी तालमेल गर्ने मनस्थितिमा पुगेका थिए । जसले गर्दा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग तालमेल गरे । तर, त्यसको परिणाम आत्मघाती बनेपछि उनी पुनः शक्तिमा आउने नयाँ रणनीति खोज्दै थिए ।

त्यसैक्रममा तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनको निकटता बढ्यो । दुवै नेताबीच गोप्यरूपमा पार्टी एकता गर्ने गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल भयो । प्रचण्डलाई सो योजना आफू पुनः शक्तिमा आउने संकेत पाएपछि उनले सो सहमतिमा हस्ताक्षर गरे । सोही अनुरूप जेठ ३ गते पार्टी एकताको घोषणा भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरे ।

जसमा नेपालको इतिहासमा सम्भवत पहिलो पटक एकैचोटी एउटै पार्टीमा दुई अध्यक्ष भए । निर्वाचनमा झण्डै दुई तिहाइ मत ल्याएको पार्टीका तर्फबाट अध्यक्ष ओली प्रधानमन्त्री बने । पार्टी एकताका सबै काम तत्कालै टुंगोमा पु¥याउने भनेपनि अहिलेसम्म टुंगो लागिसकेको छैन । विभिन्न पदमा नियुक्तिका विषयमा दुवै अध्यक्षबीच टसल भइरहेको छ । पार्टीको विचारमा नै लामो समय बहस भयो । त्यो अहिले छपाइको चरणमा पुगेको छ ।

नेकपाका यी १४ महिनामा प्रचण्डले कहिले पनि पार्टीमा कार्यकारीको भूमिका पाउन सकेका छैनन् । उनी अध्यक्ष भएपनि आफूले बैठकको समेत अध्यक्षता गर्न नपाएको गुनासो गर्दै आएका छन् । प्रचण्डले पार्टीभित्र अहिले स्पेस बनाउने तयारी गरिरहेका छन् । उनले यसैक्रममा तत्कालीन एमालेसँग भएको पाँच बँुदे सहमतिपनि आफैँ सार्वजनिक गरिसकेका छन् । जहा पाँच वर्षे सरकारको कार्यकालमा अर्का अध्यक्ष ओलीसँग आधा आधा समयावधि सरकारको नेतृत्व गर्ने बुँदा पनि उल्लेख थियो ।

प्रचण्ड निकट नेताका अनुसार त्यो सहमति सार्वजनिक गर्नुको रहस्य उनले पार्टीभित्र आफ्नो स्थान खोज्ने क्रमको शुरुआत भएको बताए । सो सहमति सार्वजनिक भएपछि सिन्धुली पुगेका अध्यक्ष प्रचण्डले भनेका थिए, ‘नयाँ अवस्था र परिस्थितिमा नयाँ सहमति पनि हुनसक्छ ।’ उनको भनाइको अर्थ थियो, ओली पाँच वर्ष नै सरकारको नेतृत्व लिन भए आफूलाई पार्टी अध्यक्षको एकल जिम्मेवारी दिनुपर्छ ।

यो विषयमा पूर्व एमालेका नेताहरूबाटै चर्को आलोचना भएपछि उनी त्यस विषयबाट पछाडी हट्न बाध्य भए । तर, यसबीचमा ओलीसँग भएका भेटमा प्रचण्डले पार्टी एकीकरणका वेला आफूहरूबीच भएको सहमति कार्यान्यवन हुने गरी जाऔँ भनिरहेका छन् । ‘मूलतः उहाँले पार्टीमा आफ्नो ठाउँ खोजिरहनुभएको छ, अध्यक्ष भएर पनि अहिलेसम्म बैठकको अध्यक्षतासमेत गर्न पाइनँ भन्ने गुनासो छ,’ प्रचण्ड निकट एक नेताले भने, ‘प्रचण्डले प्रधानमन्त्रीसँग भन्नुभयो– पहिले तपाईंको र मेरो कुरा गरौँ, कसको भूमिका के भनेर स्पष्ट पारौँ अनि बल्ल तल्लो तहका नेता कार्यकर्ताबारे कुरा गरौँला ।’ प्रचण्डले अहिले नेकपामा आफू कमजोर हुने आकंलन गरेपछि पूर्व एमालेका नेताहरूबीच खेल्न खोजेको नेकपाकै नेताहरू बताउँछन् ।

ओलीले पनि प्रचण्डले मागे जस्तो तत्काल पार्टी अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक जिम्मेवारी नदिने संकेत गरिसकेका छन् । यद्यपी उनले प्रधानमन्त्री भने अढाई वर्षपछि दिन सकिने खुकुलो संकेत भने गरेका छन् । जसबाट प्रचण्ड पूर्णरूपमा आश्वस्त नभएपनि पूर्वाग्रही भएर सोच्न पनि सकेका छैनन् । ओलीको यही व्यवहारलाई तह लगाउन उनले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्र उठाएका कतिपय एजेन्डामा सहमति जनाउने गरेका छन् ।

ओलीलाई कमजोर बनाउन उनले सो रणनीति अपनाएपनि पूर्व एमालेभित्र पार्टीको नेतृत्व पूर्वमाओवादीलाई नदिने सहमति जस्तै बनिसकेको छ । पूर्व एमालेहरू बरू प्रधानमन्त्री प्रचण्डलाई छाड्ने तर अध्यक्ष दिन नसकिनेमा एकमत जस्तै छन् । जसले गर्दा प्रचण्ड अहिलेबाट आफू नेकपाभित्र नेतृत्व लिन ‘अनसेफ’ भएको महसुस गर्दै आएका छन् । यद्यपी उनले विभिन्न कोणबाट नेतृत्व पाउनका लागि कसरत गरिरहेको स्वयम उनी निकट नेताहरूले बताउँदै आएका छन् ।

राजनीतिक प्रतिवेदन छपाइमा
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को राजनीतिक प्रतिवेदनको विवाद टुंगिएर छपाइमा गएको छ । नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले आइतबारको बैठकबाट राजनीतिक प्रतिवेदनलाई टुंगो लगाएको हो ।

गत वर्षको जेठ ३ गते एकता भएपनि नेकपाको राजनीतिक प्रतिवेदन टुंगा लाग्न नसक्दा प्रकाशन भएको थिएन । राजनीतिक प्रतिवेदनको टुंगो नलागेपछि सचिवालयमै रहेका नेताहरूले समेत आ–आफ्नो ढंगले ब्याख्या गर्दै आएपछि समस्या उत्पन्न हुँदै आएको थियो ।

प्रतिवेदनको अभावमा नेता–कार्यकर्ता नै अन्यौलमा परेपछि दुई अध्यक्षले आइतबार अन्तिम टुंगो लगाई सोमबार नै प्रकाशनमा पठाउने निर्णय लिएका छन् । ‘बालुवाटारमा हामी दुई अध्यक्षबीचको छलफलबाट पार्टीको राजनीतिक प्रतिवेदन टुंग्याइएको छ । भोलि (सोमबार) नै त्यो प्रकाशनमा जाँदैछ । आज हामीले एकतामा अड्किएको राजनीतिक प्रतिवेदन टुंगो लगाएर ठुलो काम पूरा गरेका छौँ,’ प्रधानमन्त्री तथा अध्यक्ष ओली र आफूबीच भएको छलफलबारे जानकारी दिँदै अध्यक्ष प्रचण्डले भने । उनले पार्टीको राजनीतिक प्रतिवेदन नहुँदा नेता–कार्यकर्ता नै अन्यौलमा पर्नु स्वभाविक भएको भन्दै अब अन्यौलता नरहेको प्रष्ट पारे ।

अध्यक्ष प्रचण्डले एकताको बाँकी अन्य काम पनि अव टुंगो लाग्ने जानकारी दिए । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा गठन भएपछि त्यसको विचार र पार्टीको दिशा के हो? भन्नेमा अलमल थियो । नेकपाका विभिन्न तहका नेताले आफू अनुकूल पार्टीको राजनीतिक कार्यदिशा र विचार भएको भन्दै सार्वजनिक रूपमा परस्पर विरोधी अभिव्यक्ति दिँदै आएका थिए ।

यसमा सचिवालयका सदस्यहरूसमेत संलग्न भएका थिए । प्रचण्डले राजनीतिक प्रतिवेदन छापिएर आएपछि कुन नेताले भनेको पार्टीको लाइन हो कुन होइन भनेर पार्टी कार्यकर्ताले छुट्ट्याउन सक्ने बताए । उनले त्यसका आधारमा पार्टी कार्यकर्ता आफैँले फैसला गर्न सक्ने बताए ।

प्रतिक्रिया