काठमाडौं । नेपाल एसिसी इस्टर्न रिजन यु–१९ क्रिकेटमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ’ए’ मा रहेको नेपालले दुवै खेल जित्दै विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको हो । पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको नेपालले शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा सिंगापुरमाथि २१७ रनको जित निकाल्न सफल भयो ।
नेपालले दिएको ३ सय २७ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुर ३९ दशमलव १ ओभरमा एक सय नौ रनमै अलआउट भयो । सिंगापुरका तीन खेलाडीले मात्रै दोहोरो अंक जोड्न सके । हरि कुक्रेजाले ३०, कन्नुसामी सतीशले २४ तथा चन्द्रमौली श्रीदेवले २३ रन जोडे । सिंगापुरले अतिरिक्त १५ रन पाएको थियो । सिंगापुरलाई सस्तैमा समेट्न नेपालका कुशल मल्लले ४ र तिलकराज भण्डारीले २ विकेट लिए ।
कुशलले ९ ओभरमा १ मेडन राख्दै १४ रन खर्चिँदा तिलकले ५ दशमलव १ ओभरमा १ मेडन राख्दै ९ रन खर्चिए । रसिद खान र सागर ढकालले समान एक विकेट बाँडे । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले रित गौतमको शतक, खडक बोहारा र कुशल मल्लको अर्धशतकमा ४ विकेट गुमाएर तीन सय २६ रन बनाएको थियो । ओपनर रित गौतमको सानदार शतक र खडगबहादुर बोहोराले ९० रनको पारी खेलेपछि नेपालले विशाल योगफल बनाएको हो ।
ओपनर रित र पवन सर्राफले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए । पवन ४५ रनको स्कोरमा आउट रितले खडगसँग मिलेर एक सय ३१ रनको शतकीय साझेदारी गरेका थिए । ४०औँ ओभरमा खडग ९० बलमा ९० रन बनाएर आउट भए । शतक बनाउनबाट चुकेका उनले १२ चौका प्रहार गरे । त्यसपछि आएका विशाल विक्रम केसी र कप्तान रोहित कुमार पौडेलले क्रमशः १ र ७ रनमात्र जोड्न सके ।
पाँचौँ नम्बरमा आएर कुशल मल्लले विस्फोटक ब्याटिङ गरेपछि नेपालले ३२६ रनको योगफल तयार गरेको हो । रितले १ सय ३१ बलमा शतक पूरा गरेका थिए । ४७ ओभरमा उनले डिप स्क्वायर लेगमा चौका प्रहार गर्दै शतक बनाए । रितले एक सय ३७ बलमा एक सय १५ रनको अविजित शतकीय पारी खेले ।
कुशलले २३ बलमा ५१ रनको विस्फोटक अर्धशतकीय पारी खेले । पारीको अन्तिम ओभरमा सिंगापुरका बलर प्रणव सुदर्शनको बलमा ४ चौका र १ छक्का प्रहार गरी उनले अर्धशतक पूरा गरेका हुन् । बलिङतर्फ सिंगापुरका प्रणव र विनित मेहताले समान दुई विकेट लिए ।
प्रतिक्रिया