ललितपुर । रूपेश जयसवालले सातौँ गणेशमान सिंह स्मृति खुला रेटिङ बुद्धिचाल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । ताम्रकार समाज र ललितपुर स्पोटर््स क्लबको संयुक्त आयोजनामा जावलाखेलस्थित ताम्रकार समाज भवनमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा रूपेशले जेन श्रेष्ठलाई स्तब्ध बनाउँदै राम्रो सुरुआत गरेका हुन् । नेपाल बुद्धिचाल संघको पहलमा विगत तीन वर्षदेखि रसियाको मस्को युनिभर्सिटीमा पूर्ण छात्रवृत्तिसहित चेस अध्ययन गरिरहेका रूपेशले आफ्नो विदाको सदुपयोग गर्दै खेलेको पहिलो खेलमा जेनलाई पावर एक्सचेन्ज दिई अनुभवपूर्ण सफलता आत्मसात् गरेका थिए ।
दोस्रो बोर्डमा नेपाल पूर्वच्याम्पियन एवम् दुई पटकका सहकारी विजेता सिएम मदनकृष्ण कायस्थले गोल्डेनगेट कलेजका विराज पुडासैनीसँग अप्रत्यासित हारको सामना गरेका छन् । अर्का नेपाल पूर्वच्याम्पियन एवं पहिलो एफएम मनीष हमालले सुकदेव चाम्लिङको गल्तिको फाइदा उठाउँदै एक अंक जोड्न सफल भए ।
नेपाल पूर्वच्याम्पियन केशव श्रेष्ठसँगै नोभा साकोसका क्षितिज भण्डारी, जनता साकोसका सजिन महर्जन, श्री करुणामय साकोसका रिजेन्द्र राजभण्डारी, बद्रिलाल नेपाली, मिलन लामा, कृष्ण थापा, प्रेमकृष्ण महर्जन, राजन पुरी र जनार्दन श्रेष्ठले जितको सुरुआत गरेका छन् । उक्त प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेलले गरेका थिए ।
प्रतियोगितामा नेपालका विभिन्न २५ जिल्लाबाट सय जना खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन् । नेपालकै प्रतिष्ठित चेसको प्रतियोगिताको रूपमा रहेको सहकारी चेसमा नेपाल पूर्वच्याम्पियनहरूको भिडसँगै शीर्ष खेलाडीहरू र उदीयमान युवा खेलाडीको प्रतिस्पर्धा रहेको छ । प्रतियोगिताको विजेताले यामाहा मोटरसाइकल पाउनेछन् ।
प्रतिक्रिया