सियोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक उत्तर कोरियाली भूमिमा पाइला टेकेका छन् । कुनै पनि अमेरिकी राष्ट्रपतिले कम्युनिष्ट शासन भएको उत्तर कोरियामा पाइला टेकेको यो पहिलोपटक हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भेट गर्ने इच्छा प्रकट गरेको भोलिपल्टै उत्तर कोरियाली नेतासँग दुई कोरियाबीचको असैनिकीकृत क्षेत्र भनिने सिमानामा दुई नेताको भेट भएको छ । जहाँ दुई नेताले आपसमा हात मिलाएको क्षणलाई ऐतिहासिक भनिएको छ । आइतबार राष्ट्रपति ट्रम्पले दुई कोरियाको सीमाना छुट्टाउने सैनिक रहित क्षेत्रमा कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गरेका हुन् ।
गत फेब्रुअरीमा यी दुई नेताबीच कोरियाको आणविक कार्यक्रमको विषयलाई लिएर शिखर सम्मेलन भएको थियो । दुई नेताहरूबीचको एक वर्ष र केही बढीको समयको अन्तरालमा भएको यो तेस्रो आमनेसामने भेट हो । उनीहरूबीचको भेट सन् १९५३ को कोरियाली युद्धपछि विभाजित कोरियाली प्रायद्वीपको त्यस्तो क्षेत्रमा भएको छ जुन युद्धका कारण प्राय तनावग्रस्त रहँदै आएको थियो ।
‘यो ठूलो सम्मान हो । थुप्रै प्रगतिहरू हासिल गरिएको छ । यो वास्तवमैँ ठूलो मित्रता भएको छ’, उत्तर कोरियाली नेताका बारेमा ट्रम्पले भने । ‘यो विश्वकै लागि ठूलो दिन हो ।’ भेटपछि मुस्कुराएका नेता किमले यस्तो प्रतिक्रिया दिए, ‘मलाई विश्वास छ कि यो विगतको दुर्भाग्यपूर्ण इतिहासलाई नष्ट गर्ने र नयाँ भविष्यका लागि प्रस्थान गर्ने अभिव्यक्ति हो ।’ दुई नेताहरूले हात मिलाएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इन पनि उनीहरूसँगै देखिएका थिए ।
त्यसपछि किम दक्षिण कोरियाली भूमिमा आए, र ट्रम्पसँगै उभिएर पत्रकारहरूसामु विरल प्रतिक्रिया दिँदै आफूहरूबीचको भेट उनी र ट्रम्पबीचको ‘गजब’को सम्बन्धको प्रतीक भएको बताए । ट्रम्पले भेट ‘साँच्चै नै ऐतिहासिक’ क्षण भएको बताउँदै उनी दुई कोरियाबीचको ‘सीमा पार गर्न पाउँदा गौरवान्वित भएको’ बताए । सन् १९५३ मा दुई कोरियाबीच हतियार बिसाउने सम्झौता गरिएको रेखासम्म कैयौँ अमेरिकी राष्ट्रपतिहरूले भ्रमण गरिसकेका छन् ।
ती सबै भ्रमणका वेला दक्षिण कोरियालाई अमेरिकाको समर्थनप्राप्त छ भन्ने स्पष्ट सन्देश गएको हुन्थ्यो । तर, यसपटक ट्रम्पले त्यो सीमा क्षेत्रको भ्रमणलाई हेर्ने दृष्टिकोणमा नै केही फेरबदल ल्याइदिए । उनले दुरबिनहरू र बमप्रतिरोधक ज्याकेटको सट्टा आफूले सधैँ पहिरिने जस्तो सुट लगाएर त्यहाँ पुगिदिए । किमसँगको उनको भेट र उत्तर कोरियाली भूमिमा उनले राखेको पाइलाले नयाँ इतिहास रचिदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।
प्रतिक्रिया