काठमाडौं । उमा कुङफु बूढानीलकण्ठ क्लबका प्रमुख प्रशिक्षक सुकमान लामालाई नेपालमा लायन एन्ड ड्रागन डान्सको तालिम गराउन चीनको ग्वाङजाओ विश्वविद्यालयले जिम्मेवारी प्रदान गरेको छ । क्लबको आयोजनामा भएको लायन एन्ड ड्रागन डान्स तालिमको समापनका अवसरमा शुक्रबार उप प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले ग्वाङजाओ विश्वविद्यालयबाट प्राप्त पत्र सुकमानलाई हस्तान्तरण गरे । १५ दिने तालिममा ५० खेलाडी सहभागिता थिए ।
उनीहरूलाई ग्वाङजाओ विश्वविद्यालयका ग्रान्ड मास्टर लि डोङवियोले प्रशिक्षण दिएका थिए । सो अवसरमा गत डिसेम्बरमा थाइल्यान्डको फुकेटमा भएको सातौँ विश्व कुङफु च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई सम्मान पनि गरिएको थियो । स्वर्ण विजेता आयुब घिमिरे, सौन्दर्य गुरुङ, आर्यन राई, सुनबहादुर तामाङ र सियन तामाङ तथा रजतधारी चिराग पौडेल सम्मानित भए । त्यस अवसरमा लिलाई पनि सम्मान गरिएको थियो ।
उप प्रधानमन्त्री एवं रक्षा मन्त्री पोखरेल, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्र राईलगायतले पदक विजेतालाई दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरी सम्मान गरे ।
प्रतिक्रिया