एजेन्सी, ब्राजिल । पाराग्वेलाई पेनाल्टीमा हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । शुक्रबार बिहान भएको खेलमा ब्राजिलले १० खेलाडीमा झरेको पाराग्वेलाई पेनाल्टीमा ४–३ ले हरायो । गुस्ताभो गोमेज र डेर्लिस गोन्जालेजले पेनाल्टी मिस गर्दा पाराग्वेले सेमिफाइनलमा पुग्न मौका गुमायो ।
निर्धारित ९० मिनेटमा दुबै टिमले गोल गर्न सकेनन् । ५८औँ मिनेटमा पाराग्वे १० खेलाडीमा झ¥यो । फावियन बाल्बुयना रातो कार्ड पाएर मैदानबाट बाहिरिँदा बाँकी ४० मिनेट पाराग्वेले १० खेलाडीमा खेलेको थियो । सुटआउटमा पाराग्वेका दुई खेलाडीले पेनाल्टी मिस गर्दा ब्राजिलका चार जना खेलाडीको प्रहार गोलमा परिणत भयो ।
ब्राजिलका विलियन, माक्र्युनोस, फिलिप काउटिन्हो र ग्याब्रियल जेससले गोल गर्दा रोबर्टो फिरमिनोको प्रहार मिस भयो । पाराग्वेका लागि पहिलो पेनाल्टी लिएका गरेका गुस्ताभो गोमेजको प्रहारलाई ब्राजिलका गोलरक्षक एलिसन बेकरले उत्कृष्ट बचाउ गर्दै ब्राजिललाई राम्रो सुरुआत दिलाए । ब्राजिलका लागि विलियनले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए ।
पाराग्वेका लागि मिगुएल अल्मिरोनले दोस्रो प्रहार गोल गर्दा मार्किन्होसले पनि गोल गर्दै ब्राजिलको अग्रता कायम राखे । त्यसपछि पाराग्वेका ब्रुनो भाल्डेज र ब्राजिलका फिलिपे कोउटिन्होले पनि गोल गरे । पाराग्वेका लागि चौथो प्रहार गरेका रोड्रिगो रोजास सफल हुँदा ब्राजिलका रोबर्टो फिर्मिनोको प्रहार बाहिरिएको थियो ।
टाइब्रेकर बराबरीमा आएपछि पाराग्वेका लागि पाँचौँ प्रहार गरेका डेर्लिस गोन्जालेजको प्रहार बाहिरियो । त्यसपछि ग्याब्रीएल जेससले पेनाल्टीलाई गोलमा परिणत गर्दै ब्राजिलको जित पक्का गरे । त्यसअघि निर्धारित समयमा ब्राजिलले खेलको सुरुआती समयमा पाराग्वेको गोलरक्षकलाई परिक्षण गरेपनि अग्रता लिन सकेन ।
२९औँ मिनेटमा पाराग्वेले गोल गर्ने अवसर प्राप्त गरेपनि गोलरक्षक एलिसन बेकरले उत्कृष्ट बचाउ गरे । डेर्लिस गोन्जालेजको पासमा पेरेजले वन भर्सेस वनको स्थितिमा ६ यार्ड बक्स नजिकबाट गरेको प्रहारलाई एलिसनले बचाएका थिए । दोस्रो हाफको ६०औँ मिनेटमा पाराग्वे १० खेलाडीमा सीमित भयो ।
फाबियन बालबुएनाले पेनाल्टी क्षेत्रको ठिक बाहिर रोबर्टो फिर्मिनोलाई लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को सहायता लिँदै निर्णय लिएका थिए । रेफ्रीले सुरुआतमा ब्राजिललाई पेनाल्टी दिने निर्णय गरेपनि भिएआरको सहायतापछि बालबुएनालाई रातो कार्ड दिँदै ब्राजिललाई फ्रिकिक दिएका थिए ।
पाराग्वे १० खेलाडीमा सिमित भएपछि ब्राजिलले आक्रमणमा खेलाडी थप्दै दबाब बढायो । ६९ औँ मिनेटमा आर्थरको लामो दुरीको प्रहारले पोस्टको दिशा लिन सकेन । ७४ औँ मिनेटमा ग्याब्रिएल जेससले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार पोस्टभन्दा थोरै दुरीबाट बाहिरियो । लगत्तै एभरटनको प्रहार डिफेन्डर इभान पिरिसलाई लाग्दै बाहिरियो । निर्धारित समयको तीन मिनेट बाँकी रहँदा पाराग्वेका गोलरक्षक फर्नान्डेजले उत्कृष्ट बचाउ गर्दै खेल बराबरीमा राखे ।
कोउटिन्होले दायाँ विङबाट फ्रिकिकमा दिएको पासमा एलेक्स स्यान्ड्रोको हेडरलाई उनले डाइभ दिँदै विफल परे । ९०औँ मिनेटमा विलियनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले गोलरक्षकलाई बिट गरे पनि पोस्टमा लागेर फर्कंदा ब्राजिलले खेलमा अग्रता लिन सकेन । थप गरिएको ७ मिनेट इन्ज्युरी समयमा ब्राजिलले पाएको दुई अवसर सदुपयोग गर्न नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । ब्राजिलले अब सेमिफाइनलमा अर्जेन्टिना र भेनेजुएलाको खेलको विजेतासँग खेल्नेछ ।
प्रतिक्रिया