एजेन्सी, ब्राजिल । ब्राजिलमा जारी कोपा अमेरिका २०१९ को समूह चरणमा केही आश्चर्यजनक नतिजा आएपनि उपाधि दावेदार मानिएका सबै टोलीले क्वाटरफाइनलमा स्थान बनाए । ब्राजिल र कोलोम्बियाले दोस्रो खेलमा नै क्वाटरफाइनल स्थान पक्का गर्दा अर्जेन्टिनाले भने अन्तिम खेलसम्म नतिजा प्रतीक्षा गर्नुपर्यो ।
यतिमात्र होइन ब्राजिलियन सुपरस्टार नेयमार प्रतियोगिता सुरु हुनुअघि नै घाइते भएपछि ब्राजिललाई केही समस्या भयो । उनको स्थानमा पहिलो रोजाइमा खेलेका डेविड नेरेस र वैकल्पिक खेलाडी एभरटनले राम्रो प्रदर्शन गरे । कप्तान ड्यानी आल्भेसले पनि प्रभाव जमाएका छन् ।
अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले अपेक्षित प्रदर्शन गर्न नसक्दा कोलोम्बियाली मिडफिल्डर हामेस रोड्रीग्वेज भने मैदानमा छाएका छन् । उरुग्वेका एडिन्सन काभानी र लुइस सुआरेजले पनि अपेक्षित प्रदर्शन गरेका छन् । चिलीका लागि एलेक्सिस सान्चेजले आफ्नो पुरानै लय देखाएका छन् ।
उपाधिको बलियो दावेदार मानिएको ब्राजिलका ३ खेलाडी उत्कृष्ट ११ मा पर्दा उरुग्वेका २ खेलाडीले स्थान बनाएका छन् । समूह चरणमा शत प्रतिशत जित दर्ता गरेको कोलोम्बियाका ४ खेलाडी पर्दा अर्जेन्टिनाको भने कुनै खेलाडीले स्थान बनाउन सकेनन् । चिली र भेनेजुएलाका १–१ खेलाडी टोलीमा परेका छन् ।
प्रतिक्रिया