एपिएफलाई प्रधानमन्त्री कपको उपाधि

महेन्द्रनगर । मिराइ प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपिएफले जितेको छ । बुधबार कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा भएको चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय महिला टि–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमलाई ६ विकेटले पाखा लगाउँदै विभागीय टोली एपिएफ च्याम्पियन बनेको हो ।

बुधबार महेन्द्रनगरस्थित कभर्डहलमा रहेको क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशले टस हार्दै ब्याटिङको निम्तो पाएको थियो । सुदूरपश्चिमले निर्धारित २० ओभर पुरै खेल्दै ९ विकेटको नोक्सानीमा ७१ रन मात्रै बनाउन सक्यो । सुदूरपश्चिमका लागि रुवी पौदारले सर्वाधिक २४ रन जोड्दा अलराउन्डर कविता कुँवरले २२ रनको योगदान दिँदा अन्य ब्याट्सवुमनले दोहोरो अंकमा जोड्न असमर्थ रहे ।

सुदूरपश्चिमलाई सस्तोमा रोक्नका लागि बलिङतर्फ एपीएफकी कप्तान सीता रानामगर र करुण भण्डारीले उत्कष्ट बलिङको प्रदर्शन गर्दै ३–३ विकेट प्राप्त गर्दा सोनु खड्का, रेखा रावल र ममता चौधरीले पनि समान एकरएक विकेट चट्काएका थिए । २० ओभरमा ७२ रनको विजयी लक्ष्य पाएको एपीएफले १४ ओभरमा ४ विकेटको नोक्सानीमा लक्ष्य भेट्टाएको थियोे । एपीएफका लागि इन्दु वार्माले आक्रामक ब्याटिङ गर्दै १८ बलमा चार चौकासहित २२ रनको पारी खेल्दा ओपनर ब्याट्सवुमन टोलिकी कप्तान सिता रानामगर १८ रन र ज्योती पाण्डेले १७ रन त्यस्तै ममता चौधरी र सोनु खड्काले समान ३–३ रनको योगदान गर्दा सरिता मगर २ रन जोडेकी थिइन् । बलिङतर्फ सुदूरपश्चिमकी कप्तान जानकी भट्टले दुई विकेट चट्काउदा अन्य बलरहरूले विकेट चट्काउन सकेनन् । फाइनल खेलको प्लेयर अफ द म्याच एपीफकी कप्तान सिता रानामगर हुँदा सिताले नै प्लेयर अफ द टुर्नामेन्टको अवार्ड हात पार्दै ३० हजार आफ्नो पोल्टामा पारिन् ।

सीता रानामगरले प्रतियोगितामा ७१ रनका साथै ६ विकेट चट्काएकी थिइन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट बलरको उपाधी प्रदेश प्रदेश ३ कि खुसी डंगोल हुँदा वेष्ट व्याट्सवुमनको उपाधी उपबिजेता टोलि सुदुरपश्चिमकी महत्वपूर्ण खेलाडी कविता कुवँरले हात पारिन् । प्रतियोगितामा खुसी डंगोलले ६ विकेट हात पारेकी थिइन् भने ब्याट्सवुमन कुवँरले सर्वाधिक ७२ रन जोडेकी थिइन् ।

शसस्त्र प्रहरी बलको एपीएफले उपाधी जितेसँगै नगत पाँच लाख र आकर्षक ट्रफ्री र मेडल हात पार्दा उपविजेता सुदूरपश्चिमले नगत तीन लाख रुपैयाँका साथै उप विजेताको ट्रफ्री र मेडल हात पार्न सफल भयो । विजेताहरूलाई केन्द्रीय खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर र प्रदेशका पर्यटन राज्यमन्त्री प्रकाश रावलले पुरस्कार वितरण गरेका थिए ।  ८ दिनसम्म चलेको प्रतियोगितामा देशका ८ टोलिको सहभागिता रहेको प्रतियोगिताका डाइरेक्टर निरज मगरले बताए । राष्ट्रिय खेलकुद परिषद्को आयोजना र महाकाली स्पोर्ट्स सोसाइटीको व्यवस्थापनमा प्रतियोगिता भएको थियो ।

प्रतिक्रिया