अडोटोरियम हलको उद्घाटन

काठमाडौं । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाताभित्र निर्मित अडोटोरियम हलको सोमबार उद्घाटन गरिएको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले हलको उद्घाटन गरे । आर्थिक वर्ष ०७३/७४ मा हल निर्माण सुरु गरिएको थियो । करिब २ करोड १५ लाख लागतमा निर्माण गरिएको हल २ सय जना अटाउने क्षमताको छ ।

उद्घाटनपछि सोही हलमा १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी तथा आठौं राष्ट्रिय खेलकुदको समिक्षात्मक छलफल कार्यक्रम पनि आयोजना गरिएको थियो । सो अवसरमा खेलकुद मन्त्री विश्वकर्माले आठौं राष्ट्रिय खेलकुद समग्रमा सफलतापूर्वक सम्पन्न भएको बताउदै खेलकुदका ठूला ठूला पूर्वाधार बनाउन सरकार केन्द्रीत रहेको बताए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिनाले आठौं राष्ट्रिय खेलकुदले खेलाडीमा उर्जा थपेको बताउदै तेक्वान्दोको विवाद समाधानको नजिक रहेको बताए । खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले सबैको सहयोगले गर्दा आठौं राष्ट्रिय खेलकुद सम्भव भएको बताउँदै राष्ट्रको प्रतिष्ठाका लागि सँग निर्धारित समयमै आयोजना हुनुपर्नेमा जोड दिए ।

राखेपका सदस्य–सचिव केशवकुमार विष्टले समग्रमा आठौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न भएको बताउदै अब सागलाई अर्जुनदृष्टि बनाएर सम्बन्धित सबै अगाडि बढ्नुपर्ने आवश्यकता आँैल्याए । उनले सागलाई प्रभावित गर्न खोज्नु देश र खेलकुदप्रति गद्दारी हुने धारणा व्यक्त गर्दै आफूले तर्किने गरी हिँड्नुपर्ने कुनै काम नगरेको बताए । कार्यक्रममा विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारीहरूले आठौं र सागका विषयमा आ–आफ्नो धारणासहितको सुझाब दिएका थिए ।

१३औं साग सचिवालयका प्रमुख कमल खनालले हालसम्म भएका सागको तयारीका विषयमा जानकारी गराएका थिए भने आठौं राष्ट्रिय खेलकुद सचिवालय प्रमुख इन्द्र कार्कीले आठौँ राष्ट्रिय खेलकुदको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा सदस्य–सचिव विष्टको चारवर्षे कार्यकालमा आधारित रहेर तयार गरिएको ‘यात्रा’ नामक पुस्तकको पनि खेलकुदमन्त्री विश्वकर्माले विमोचन गरेका थिए ।

प्रतिक्रिया